Published On:Friday, April 3, 2015
Posted by dadad
गन्धर्वको सारङ्गी नै ‘खेती र जागिर’
बागलुङ । ‘राम्दीपारि भिर, के दिनमा जन्मेछु जिन्दगीलाई भिर’, पदमबहादुर गन्धर्व यसरी मानिसका निराशा मात्रै सारङ्गीमा रेट्नुहुन्न, समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सङ्गीतबद्ध गर्नुहुन्छ ।
सारङ्गीमा जनजीवनका दुःख, पीडा र संवेदना रेटेरै गन्धर्वको जीवन आखिरीतिर पुगेको छ ।
उनासी वर्षका उमेरमा पनि गन्धर्वको सारङ्गी–प्रेम कत्ति घटेको छैन । चौध वर्षदेखि नै सारङ्गी रेट्दै गाउँघर चाहर्ने गन्धर्वको ‘कला–यात्रा’ ले ६५ वर्ष पार गरेको छ । बुबालाई सारङ्गीवादनको गुरु मान्ने गन्धर्व अहिले बागलुङ नगरपालिका–५ सिम्लेमा बस्नुहुन्छ । उहाँको जन्मथलो भने अमलाचौर–५ मा हो । पुर्खौंदेखिको कलागत पेसा जोगाउँदै सारङ्गी संरक्षणमा उहाँले देखाएको प्रेम र लगाब स्तुत्य छ ।
“मेरो जन्मगाउँमा यसरी सारङ्गी बजाउँदै हिँड्ने एक दुई जना मात्र छन्, सबै विदेश लागे, नयाँलाई यसको वास्ता छैन”, गन्धर्वले भन्नुभयो, “मेरो भाइ मने गन्धर्व पनि हिँड्छ, म पनि अब सक्ने बेलासम्म लाग्छु, उमेर पनि भो हिँड्न धौ धौ छ ।” गन्धर्व सारङ्गी बजाउँदै भारत तथा स्वदेशका पश्चिममा रोल्पा, रुकुम, म्याग्दीदेखि कैयन जिल्लामा पुग्नुभएको छ ।
“धेरै गाउँ ठाउँ पुगियो, भारत पनि गएँ तर काठमाडौँ देखेको छैन” गन्धर्वले भन्नुभयो । पहिले जसले राम्रो सारङ्गी बजाउँछ उसैलाई छोरी दिने चलन रहेको उहाँले स्मरण गर्नुभयो । उहाँ र परिवारको जीवन धान्ने आधार नै सारङ्गी हो । परिवार सुकुम्बासीका नाममा पाएको सानो झुपडीमा जीवन गुजारिरहेको छ, उहाँ सारङ्गी रेट्दै गाउँ सहर पुगिरहनुभएको छ । उहाँ बसोवास गर्ने क्षेत्रका बासिन्दाले अन्नबाली सहयोग दिँदै आएका छन् ।
“लाहुरे आएको घर, सन्तान जन्मेको घर जाँदा त एकै जनाले हजार पनि दिनुहुन्छ, पैसा पनि हुन्छ, अन्नपातको जोहो हुन्छ, यसैले घरबार चलेको छ” गन्धर्वले भन्नुभयो, “मेरो त खेती पनि जागिर पनि यही सारङ्गी हो ।” ढल्किँदो उमेरमा पनि कोखिलामा सारङ्गी बोकेर उहाँ हिँडिरहनुहुन्छ । बुबा गोपे गन्धर्व नै पदमबहादुरका सारङ्गीका गुरु हुनुहुन्थ्यो । “मेरो गुरु भनेको नै मेरा बुबा हो, बाजे पुर्खाकै पालादेखि सारङ्गी रेट्ने र गीत गाउने संस्कार थियो”, पदमबहादुरले भन्नुभयो ।
प्रसिद्ध गायक झलकमान गन्धर्वसँग पनि उहाँले सङ्गत गर्नुभयो । पछिल्लो पुस्ता भने यस्तो संस्कृतिदेखि बिमुख भइरहेको देख्दा उहाँको चित्त दुखेको छ । नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता पनि छ । मानवचोला, जीवन जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गरिएका गीत पदमबहादुरसँग धेरै छन् ।
‘अछामे राजाको फेटा बानेको बामतिर
कहिले सुदिन फर्केला खै गरिबको गामतिर’
यो गीत उहाँले वर्षौंदेखि गाउँदै आउनुभएको छ । गरिबका सुदिन नफर्केसम्म सायद यो गीत उहाँ गाइरहनुहुनेछ । घटनाविशेषलाई लिएर कथानक बनाउने र त्यसलाई सारङ्गीमा लयबद्ध गर्न गन्धर्व खप्पिस हुनुहुन्छ । युद्धसम्बन्धी र वीरगाथालाई भने ‘कर्खा’ भनिन्छ ।
गाउँघरमा ‘गाइने’ देखिन छाडेका बेला पदमबहादुरको उत्साह मरेको छैन । चारै छोरी विवाह गरेर गए, दुवै छोरा भारत पलायन भए । गन्धर्व ७६ वर्षीया श्रीमती फुलमतीसँग जीवनको आखिरीकाल बिताइरहनुभएको छ । ठट्यौली शैलीमा पदमबहादुरले गाउनुभयो, ‘स्वर मीठो कम्पनीको अक्षर राम्रो दामको कोहीको बोली मायालाग्दो कोहीको बिनाकामको ।’ रासस


