Published On:Friday, April 3, 2015
Posted by Unknown

नेपालको समर्थन भारतलाई


२१ चैत, काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यमा भारतलाई समर्थन गर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकरसँगको भेटमा नेपालको समर्थन भारतलाई नै हुने औपचारिक जानकारी गराएका हुन् । राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतले दिने उम्मेदवारीमा नेपालले समर्थन गर्ने प्रतिबद्धता जनाउँदै आफूहरू सदैव भारतकै साथमा रहेको बताए । दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव जयशंकरले शुक्रबार अपराह्न सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा भारतीय सचिवले सुरक्षा परिषद्मा सहयोग मागेपछि प्रधानमन्त्री कोइरालाले आफूहरू समर्थन गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री कोइरालाले क्षेत्रीय र विश्वमै भारतको गतिशील नेतृत्व हुने विश्वास व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग भएको भेटवार्तामा पनि उनले सुरक्षा परिषद्को स्थायी सदस्यमा सघाउन आग्रह गरेका थिए ।

भारतीय विदेश सचिवले राष्ट्रपति डा.रामवरण यादव, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेतासँग पनि भेट गरेका छन् । शीर्ष नेतासँगको भेटमा भने उनले नेपालको संविधान निर्माणको प्रगतिका बारेमा चासो देखाएका थिए । उनले शुक्रबार राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका छन् । उनी प्रधानमन्त्री र दलका नेतासँग छलफलपछि राष्ट्रपति भवन पुगेका थिए ।

सो क्रममा आफू नेपाल आउनाको कारणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । परराष्ट्र सचिव भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका उनले भारतले नेपालको प्रगति हेर्न चाहेको र समयमै संविधान निर्माण होस् भन्ने चाहेको पनि खुलाए । ‘भारतीय विदेश सचिवले नेपालमा चाँडो संबिधान बनोस् भन्नेलगायतका शुभेच्छा व्यक्त गरेका छन्,’ दाहालले भने ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार भेटमा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल भएको थियो । सचिव जयशंकरले भारतको नेपालसँगको सम्बन्ध विगतदेखि नै बलियो रहँदै आएको भन्दै सदैव मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि यो सम्बन्धमा अझै प्रगति भइरहेको छ भनेर उनले प्रधानमन्त्रीलाई भनेका छन्,’ सल्लाहकार भट्टराईले राजधानीसँग भने । मोदीका भ्रमणका क्रममा सुरु भएका विद्युत् व्यापार सम्झौता, आयोजना विकास सम्झौतालगायतले सम्बन्ध अझै बलियो बनाएको उनले जानकारी दिए । सार्क क्षेत्रका विषयमा र कनेक्टिभिटीका बारेमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा पनि जयशंकरले नेपालमा चाँडो संविधान बनोस् भन्ने शुभेच्छा राखेका थिए । जवाफमा प्रधानमन्त्री कोइरालाले आफूहरू संविधान निर्माणका लागि निरन्तर संवादमा रहेको जानकारी गराएका छन् । ‘हामी लोकतान्त्रिक समावेशी संविधान निर्माणका लागि प्रयासरत छौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भट्टराईले भने । उनले प्रधानमन्त्री कोइरालालाई उनकै नेतृत्वमा संविधान आओस् भन्ने आफूहरूको चाहना रहेको पनि बताएका थिए । प्रधानमन्त्री कोइरालाले पनि भारतीय प्रधानमन्त्री मोदीले अवलम्बन गरेको ‘छिमेकी पहिला’ नीतिको प्रशंसा गरेका छन् ।

0 comments for "नेपालको समर्थन भारतलाई"

Leave a reply

    Popular Posts

    Blog Archive