Published On:Friday, April 3, 2015
Posted by Unknown

क्यानाडा पुगेर मेसिन अपरेटर

सुभाष सुवेदी

१४ असार २०६८। मनभरि मिठा सपना बोक्दै मैले परिवारसहित मातृभूमि छाडेको थिएँ। हामीलाई बिदा गर्न काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त र साथीभाइको ठूलै उपस्थिति थियो।
नहोस् पनि किन? जीवनको ऊर्जाशील लामो समय बिताएको नयाँ पत्रिकाको कार्यालय नै विमानस्थलबाट करिब ७ सय मिटरको दुरीमा जो थियो। छोड्न आएका साथीभाइ हुन्जेल गफ गर्दै रमाइलो गरियो। उड्ने समय जति-जति नजिकिँदै थियो, मनमा एक किसिमको डर पनि बढ्दै थियो। अलिअलि डर अनि धेरै सपना र उत्साह बोक्दै हामीले ‘फ्लाई दुबई’ चढेर राति साढे १० बजे मातृभूमि छाड्यौं।
मनको डर विस्तारै घट्दै गयो। हामीले अन्तर्राष्ट्रिय उडान पहिलोपटक गरेकाले पनि होला यात्रा रोचक नै थियो। हाम्रो पहिलो ट्रान्जिट दुबई थियो। रातको समयमा करिब १२ घन्टा लामो ट्रान्जिटमा समय बिताउन निकै अत्यास लाग्यो। नयाँ ठाउँ अनि विशाल विमानस्थल। निद्राले छुँदै छोएन। साथमा छोरी अनि श्रीमती। उनीहरूसँग बात मार्दै, जिस्कँदै अनि भविष्यको योजना बनाउँदै टहलिएर ट्रान्जिट समय बिताइयो।
त्यसबीच तीन नेपाली परिवारसँग परिचय गाँस्न भने भ्याइयो। उनीहरू पनि स्थायी बसोबासको अनुमति लियर क्यानडा हिँडेका रहेछन्। ती परिवार नै क्यानडाको ब्यस्त टोरन्टो पियर्सन विमानस्थलसम्मको यात्रामा साथ दिने नेपाली थिए।
हामी पियर्सन विमानस्थलबाट बाहिर निस्कँदा मित्रहरू पिकअपका लागि तयार थिए। साथीहरूसित हामी ट्याक्सी लिएर गन्तव्य किचनर (नर्थ अमेरिकाकै विशाल टोरन्टोभन्दा एक घन्टा टाढाको सानो सहर)तिर लाग्यौँ।
हुन त, टोरन्टोमा उत्रँदा कताकता विराटनगरमा उत्रिएजस्तो अनुभूति भयो। चारैतिर खुला, डाँडाकाँडा नदेखिएकाले पनि त्यस्तो अनुभूति भएको होला। तर, विस्तारै फराकिला सडक, ११०-१२० प्रतिघण्टाको गतिमा गुडिरहेका गाडीहरू देख्दा भने फरक अनुभूति मिल्यो। साथीहरू टोरन्टो र क्यानडाबारे जानकारी दिँदै थिए। दुई दिनको हवाई यात्राका कारण थकित भएकाले ती भनाइमा खासै ध्यान गएन।
क्यानडामा साथी भएकाले कोठा खोज्ने, कता बस्ने भन्ने चिन्ता त भएन। तर, लामो यात्रा, जेटल्याक अनि नेपाल र क्यानडाको समय अन्तरका कारण २-३ दिनसम्म त रातमा पटक्कै निन्द्रा परेन। दिनमा भने ठ्याकैविपरीत हुन्थ्यो। साथीभाइ भेट्न आउँथे, क्यानडाको बारेमा बताइरहेका हुन्थे। तर, म भने छिनछिनमा निन्द्राले झुमिरहेको हुन्थे। सानी छोरीलाई पनि त्यस्तै हुन्थ्यो। त्यसले बढी चिन्तित बनायो। साथीकै सहयोगमा तीन दिनपछि ६ सय ५० डलर प्रतिमहिना तिर्नुपर्ने गरी भाडामा एउटा अपार्टमेन्ट पाइयो। साथीहरू भन्दै थिए टोरन्टोमा भए त के पाइन्थ्यो र यतिमा अर्पाटमेन्ट? तर, हतारमा लिनु परेकाले कोठा त्यति राम्रो परेनछ।
त्यसैले त्यो कोठा छोड्ने हतारो बसेकै दिनदेखि पर्‍यो। तैपनि ६ महिना लाग्यो अर्को अर्पाटमेन्ट खोज्न। नयाँ अर्पाटमेन्ट पाउन साथ क्यानडा आइसकेपछि दुःख सुःखका साथी भएका हामी चार नेपाली परिवार एकैसाथ अर्को बिल्डिङमा सर्‍यौं।
कोठा त सरियो अब सामान किन्न पर्‍यो कोठाका निम्ति। तर, गच्छेअनुसार खर्च भने जस्तै हजारौं लाखौं पर्ने फर्निचर किन्ने र सस्ता फर्निचर किन्ने छुट्टाछुटै पसल हुँदा रहेछन्। हेर्दा उस्तै लागे पनि आकाश जमिनको फरक भाउमा। साथीको सहयोग भएपछि सस्ता सामान किन्ने स्टोर खोजिरहन परेन। तर, हरेक सामान किन्न जाँदा नेपाली रुपैयाँमा हिसाब गर्दा मन चिसो हुन्थ्यो। साह्रै महँगो।
त्यति नै बीचमा बैंक खाता खोल्ने, क्यानडामा काम गर्न अनिवार्य सोसियल इन्सुरेन्स नम्बर (सिन नम्बर) लिने काम गरियो।
नयाँ ठाउँ, नयाँ परिवेश, सबै नयाँ। के हो कसो हो? अन्योलले पनि गतिलै जरा गाडेको थियो। हुन त क्यानडा झरेको केही दिनसम्म त जस्तोसुकै काम पनि गर्नसक्छु भन्ने भ्रम थियो। तर, विस्तारै त्यो भ्रम खुल्दै गयो। अंग्रेजी भाषा र क्यानडेली लवज पहिलो पर्खाल बनेर ठिंग उभियो।
जागिर खोज्नेदेखि तरकारी किन्न जाँदासमेत लवजले दुःख दियो। हरेकपटक ‘सरी’ भन्दै पुन दोहोर्‍याउन लगाउनु पर्थ्यो। अगाडिको मान्छेले बोलेको केही नबुझे पछि के गर्नु त। २-३ पटक ‘सरी’ भन्दै दोहर्‍याउन  लगाएपछि बल्ल ‘एस’ वा ‘नो’ मा जवाफ फर्काउने क्रम त धेरै पछिसम्म रह्यो।
विदेश पुगेपछि सबैकुरा सेटल हुन्छ, ‘पैसा रुखमा फल्छ’ भन्ने अनि घण्टाको दरले गुणन गरेर ‘मासिक यति हुन्छ, उति कमाउँछु’ भन्ने काल्पनिक सोचाइ लामो समय वास्तविकताको अगाडि टिक्न सकेन। सुरुमा काम नमिल्दा, नीति/नियम थाहा नहुँदा एक्लो महसुस हुन्थ्यो र यसले नैराश्यतासमेत निम्त्यायो।
आफू लाटो हो कि जस्तो। आफ्नो जानकारी, अनुभव पुरै शून्यमा झरेजस्तै भयो। दिमाग खाली, बच्चाजस्तो। कतै जाँदा पनि साथीको पछि लाग्नुपर्ने, कसैले केही भने पनि साथीलाई कोट्याएर ‘के भनेको’ भनेर सोध्नुपर्थ्यो। यतिसम्मकी एक्लै सार्वजनिक यातायातका बस चढ्न पनि अप्ठ्यारो लाग्ने। गाडी कसरी रोक्ने, कहाँ जाने, कुन समयमा बस आउँछ होला, कसरी बसमा पैसा तिर्ने सोच्दा सोच्दै एक्लै त कतै जान मन नलाग्ने। हुन त छोटो सिकाइपछि नै ती विषय सहज बने।
तर जागिर खोज्ने काम भने निकै गाह्रो भयो। काम नपाए बाच्नै गाह्रो हुने अवस्था आउने हो की चिन्ताले क्यानडा ओर्लेपछि नै सताउन लागेको थियो। नेपालबाट बोकेर आएको रुपैयाँ डलर बनाएर खर्च गर्ने हैसियत पनि थिएन। तर, लामो समय काम खोज्न भने परेन। पाँच साताको अथक प्रयासपछि बल्ल बल्ल एउटा गाडीका पार्टपूर्जा उत्पादन तथा एसेम्बलिङ गर्ने फ्याक्ट्रीमा काम पाइयो। पद थियो– मेसिन अपरेटर।
काम त सामन्य नै थियो, दिनभरी पार्टमा लेभल लगाउने, कार्टुन बक्स बनाउने, मेसिन चलाउने आदि। लगातार ८ घन्टा काम गर्नु गाह्रो हुँदो रहेछ, त्यसमाथि हामी जस्ता वर्किङ कल्चर नभएकाका लागि झन् धेरै। नेपालमा जस्तो जतिखेर पनि ‘लौ चिया खाउँ’ भनेर जान पनि नपाइने। फ्याक्ट्रीको नियम अनुसार उनीहरूको समयमा दुई पटक १५–१५ मिनेटको कफी ब्रेक अनि एकपटक आधा घन्टाको ‘लन्च ब्रेक’। सुरुका केही साता त दिक्क लागेर आयो। कस्तो ठाउँमा आइएछ भनेर। त्यसमा पनि कामको पहिलो सातामै १२ सय जति गाडीको पार्टमा गलत लेबल लगाएछु। त्यो थाहा पाउना साथ सुपरभाइजरले सजाय दिइन, लगाएका सबै लेभल उप्काउने। नेपालमा जस्तो हप्की दप्की चाहिँ नगर्दा रहेछन्। दुई दिन लगाएर १२ सय लेबल त उप्काइयो तर, हावाले छुँदा पनि चस्स दुख्ने भएछन् नङ त।
पश्चिमा देशको वर्किङ कल्चर भने क्यानडाको पहिलो कामले नै सिक्ने अवसर दियो। बाँच्नका लागि पैसा चाहिन्छ, पैसाका लागि काम गर्नु पर्छ। चोरेर, ठगेर, अरुलाई मारेर, भ्रष्टाचार गरेर महल बनाए पो गलत भो त। पश्चिमा संसारमा त्यस्ता कुकर्म गर्नेको जिन्दगी नै खतम हुन्छ। जिन्दगीभर केही गर्न नसक्ने गरी। तर, कर्म गर्नेले आफ्नो भविष्य चाहे जस्तो बनाउन सक्छन्। कामको क्रममा चिनापर्ची भएका साथीहरू भन्थे, ‘यहाँका उच्च ओहदामा रहेका कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा कुनै न कुनै बेला फास्टफुड रेस्टुँरा वा फ्याक्ट्रीमा काम नगरेको सायदै होलान्।’
साथीले त्यसोभन्दा के भनेको होलाजस्तो लागेको थियो। पछि आफैँले अध्ययनको क्रममा थाहा पाएँ- आफ्नो पुस्तक लाइफ अफ पाइका लागि बुकर प्राइज पाएका यान मार्टेल कुनै बेला भाँडा माझ्थे। स्पेन ओर्जिन भएका मार्टेलले पनि क्यानडामा अंग्रेजी सिक्दै विभिन्न ‘अड जब’ गरेर अंग्रेजी भाषामा पाइन लगाएका रहेछन्। र, पछि अंग्रेजीमा मजाले सिर्जना गर्दै विश्व चर्चित हुन गए।
फेरि फर्किउँ संघर्षतिरै। सँगै फ्याक्ट्रीमा काम गर्ने कोही साथी डाक्टर हुँ भन्थे, कोही चाटर्ड एकाउन्टेट, कोही आफू ठुलो कम्पनीको एक्जुकेटिभ म्यानेजर रहेको पनि सुनाउँथे। उनीहरूको कुराले मनमा सन्तोष गर्ने ठाउँ दियो। ती साथी बारम्बार भन्थे- क्यानडामा काम र मौसमको भर हुँदैन। छिनमै हिउँ पर्ने, अनि बिहानदेखि बेलुकासम्ममा २० डिग्री सेल्सियससम्मको फरकमा तामक्रम परिवर्तन हुने, यस्तो ठाउँमा आफूले पनि काम फेर्दै गएपछि ती साथीले भनेका कुरा सही रहेछन् भन्ने बुझियो।
ती साथीको संगतले ड्राइभिङबारे पनि केही जान्ने मौका मिल्यो। नेपालमा हुँदा रातो बत्तीमा रोकिने र हरियोमा अगाडि बढ्नेबाहेक ट्राफिक नियमको खासै पालना गरिँदैन्थ्यो, धेरै जान्ने कोसिस पनि गरिएन। खासै ध्यान दिएर गाडी चलाउने पनि गरिएको रहेनछ भन्ने थाहा भयो। तर यहाँ ट्राफिक नियम पूर्ण पालना नगरे जरिवानामा पर्ने त छँदैछ, ज्यान जाने खतरासमेत उत्तिकै हुँदो रैछ। जरिवाना पनि कम हो र दुई-तीन दिन नङ खियाएर कमाएको पैसा एकै टिकटमा चट्।
सुरुमा नेपाल नै फर्केर जाउँ कि भन्ने सोचाइ यहाँको सिस्टम, सुविधा, वर्किङ कल्चर, एड्भान्स टेक्नोलोजीसितको संगतमा परिवर्तन हुँदै आएको छ। समयसँगै किचनर छोडेर अवसरको खोजीमा क्यानडाकै धनी राज्य अल्बर्टाको राजधानी इडमन्टन आइपुगेको छु। दु:खसुख गरेर विस्तारै आफ्नो पेसा क्यानडामा पनि अँगाल्ने तयारी गर्दैछु। लाग्छ- विस्तारै जिन्दगीले रफ्तारको बाटो लिँदै छ। संघर्ष भने यथावत छ। आखिर जिन्दगी संघर्षकै अर्को नाम न हो।
(लेखक सुवेदी इडमन्टनबाट प्रकाशित हुने ‘नेपाली पेपर’का प्रकाशक हुन्
@setopati.com

0 comments for "क्यानाडा पुगेर मेसिन अपरेटर"

Leave a reply

    Popular Posts

    Blog Archive