Published On:Thursday, March 12, 2015
Posted by Unknown

माथिल्लो तामाकोसीको सेयर 'सुनको फुल पार्ने लगानी'


काठमाडौं : हाइड्रोपावर कम्पनीका सेयरले यतिबेला बजार तताएको छ। विशेषगरी माथिल्लो तामाकोसीको सेयरमा लगानी गर्न सर्वसाधारण निकै ब्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। तामाकोसीले हाल स्थानीय बासिन्दा, ऋण लगानी गर्ने कम्पनीका कर्मचारी र सञ्चयकर्तालाई सेयर निष्कासन गरेको छ। निकट भविष्यमा नै सर्वसाधारणले पनि यो कम्पनीको सेयरमा लगानी गर्ने मौका आउँदैछ। यसैगरी, जलविद्युत विकास कम्पनीको सेयर पनि सर्वसाधारणमा छिट्टै आउने तयारीमा छ। यी बाहेक थप केही सानाठूला हाइड्रोपावर कम्पनीको सेयर पनि क्रमश: सर्वसाधारणले किन्न पाउने भएका छन्।

आखिर हाइड्रोपावर कम्पनीमा लगानीकर्ता किन यतिधेरै आकर्षित हुँदैछन् त? विगतमा सर्वसाधारणमा सेयर जारी गरेका हाइड्रोपावर कम्पनीबाट लगानीकर्ताले पाएको लाभको विश्लेषण गर्दा आगामी दिनमा माथिल्लो तामाकोसीमा लगानी गर्नेले पनि ठूलो लाभ लिनसक्ने अवस्था कम्पनीको प्रक्षेपित वित्तीय विवरणले देखाएको छ। उदाहरणका रूपमा अरुण भ्याली हाइड्रो पावरको १०० कित्ता सेयर खरिद गर्ने साधारण लगानीकर्ताको हकप्रद सेयर नजोडिकनै पनि हाल दुई सय २५ कित्ता सेयर भएको छ।

साधारण लगानीकर्ताले प्राथमिक सेयरको प्रिमियम सहित प्रति कित्ता एक सय ८४ तिरेका थिए। अर्थात लगानीकर्ताले १८ हजार चार सय तिरेका थिए। तर आजको बजारमा भाउ अनुसार त्यो उनीहरूको ७८ हजार चार सयको सम्पत्ति भएको छ। त्यसबाहेक उनीहरूले ११ हजार रुपैयाँभन्दा बढी नगद लाभांस पनि पाइसकेका छन्। अरुण भ्यालीको विद्युत उत्पादन क्षमता जम्मा ३.५ मेगाबाटमात्र हो।

त्यस्तै, चिलिमे हाइड्रोको एक हजारमा एक सय कित्ता साधारण सेयर किनेका विद्युत प्राधिकरणका कर्मचारीको आजको मितिमा ३६ हजार नौ सय ५२ रुपैयाँ नगद लाभांस सहित एक सय ९७ कित्ता सेयर भएको छ।

चिलिमेको एक सय ९७ कित्ता सेयरको आजको मूल्यमा करिब तीन लाख २० हजारको सम्पत्ति भएको छ। सेयर विश्लेषक रबिन्द्र भट्टराईका अनुसार दीर्घकालिन लगानीका रूपमा लगानी गर्ने लगानीकर्ताका लागि जलविद्युतको सेयर सबैभन्दा लाभप्रद छ। सेयरको नियमित कारोबार गर्नेभन्दा पनि माथिल्लो तामाकोसीजस्ता सुनको अण्डापार्ने सेयर दीर्घकालिन लगानीको लागि उपयुक्त हुन्छ।

त्यसबाहेक पनि सरकारले हाइड्रोपावरको नाफामा कर छुटको ब्यवस्था गरेकोले अन्य कम्पनीको भन्दा हाइड्रोका लगानीकर्ताले बढी लाभांस प्राप्त गर्ने भट्टराईको भनाइ छ।

'सरकारले १० वर्षसम्म पुरै आयकर छुट र त्यसपछिको पाँच वर्ष ५० प्रतिशत आयकर छुटको ब्यवस्था गरेकोले पनि जविद्युतको सेयर लगानीका लागि झन् अकर्षक भएको छ', उनले भने,'सरकारले प्रतिमेगावाट ५० लाख अनुदान दिने नीति ल्याएकोले पनि जलविद्युतका सेयरमा लगानी गर्नु लाभप्रद छ।' बजारको कमी भएको र उद्योग कलकारखाना विद्युतको अभावमा ५० प्रतिशत क्षमतामा चलिरहेको अवस्थामा जलविद्युतका सेयरले राम्रो मुनाफा दिनेमा शंका नरहेको उनको विश्लेषण छ।
माथिल्लो तामाकोसी हाइड्रोपावरको वित्तिय विश्लेषण विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७३/७४ सम्ममा ५० रुपैयाँ ८६ पैसा प्रतिसेयर आम्दानी गर्नेछ। त्यस आर्थिक वर्षसम्ममा कम्पनीले ५८ करोड ९८ लाख ६० हजार रुपैयाँ मुनाफा कमाउन सक्नेछ। चार सय ५६ मेगावाट क्षमताको यो परियोजना २०७३ को कात्तिकबाटमात्र पूर्णरूपमा सञ्चालनमा आउने छ। तर नौ महिनाकै अवधिमा उक्त आर्थिक वर्ष कम्पनीले करीब ५९ करोड रुपैयाँ कमाउने प्रक्षेपण गरिएकाले अर्को आर्थिक वर्ष २०७४/७५ मा कमाई अझै बढ्नेछ।
कम्पनीको आव २०७४/७५ मा प्रतिसेयर आम्दानी ८० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। प्रत्येक वर्ष कम्पनीको प्रतिसेयर कमाई बढ्दै जानेछ। यसबाहेक कम्पनीले बोनस सेयर दिएमा त्यसको बजार भ्यालु निकै माथि जाने अनुमान गर्न सकिन्छ।

साथै, दोस्रो बजारमा कायम हुने मूल्यबाट प्राप्त गर्ने लाभको पाटो छुट्टै हुन्छ। सेयर बजार विश्लेषकहरूले तामाकोसीको सेयरको मूल्य दोस्रो बजारमा चिलिमेको भन्दा पनि माथि जाने आँकलन गरेका छन्। चिलिमेको बजार भाउ यसअघि दुई हजार आठ सय हाराहारीमा पुगिसकेको छ। कम्पनीले दिएको बोनस सेयर र नगद लाभांशको हिसाब बेग्लै छ। तामकोसीको लागत खर्च न्यून रहेकाले पनि छिटो कमाई गर्न र लगानीकर्तालाई तुलनात्मक रूपमा बढी प्रतिफल दिन सक्छ। तामाकोसीले थप सहायक खोली लगानी गरेमा बोनस सेयर वितरण गर्ने सम्भावना बढी हुन्छ।

नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरी माथिल्लो तामाकोसीले लगानीकर्तामा आकर्षक मुनाफा दिनसक्ने बताउँछन्। 'परियोजना तुलनात्मक रूपमा सस्तो छ। अन्य कम्पनीमा लगानी गर्ने सम्भावना पनि छ। यस आधारमा लामो समयसम्म होल्ड गर्ने लगानीकर्ताले आकर्षक लाभ लिनसक्ने अ नुमान गर्न सकिन्छ,' उनले भने।

माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणमा १५ प्रतिशत सेयर निष्कासन गर्दैछ। यस आधारमा कम्पनीको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणको लागी जारी हुनेछ। यो नेपालको पुँजी बजारको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो सार्वजनिक निष्कासन हो।

कम्पनीले विद्युत प्राधिकरण, ऋण लगानी गर्ने संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि ८५ प्रतिशत सेयर छुट्याएको छ। जुन नौ करोड १५ हजार कित्ता हुन आउँछ। जसमा सबैभन्दा ठूलो पुँजी संरचना नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत रहेको छ। माथिल्लो तामाकोसीमा विद्युत प्राधिकरणबाहेक नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषले लगानी गरेका छन्। स्रोत: अन्नपुर्ण पोस्ट

0 comments for "माथिल्लो तामाकोसीको सेयर 'सुनको फुल पार्ने लगानी'"

Leave a reply

    Popular Posts

    Blog Archive