Published On:Wednesday, March 18, 2015
Posted by dadad
बाख्रा पालेर मासिक ५५ हजार आम्दानी
काठमाडौं । झन्डै दुई दशकदेखि बाख्रापालन व्यवसाय गर्दै आएका शङ्करप्रसाद मैनालीले बाख्रा पालेर मासिक ५५ हजार आम्दानी गर्नुहुन्छ । मैनालीले माउ बाख्री ७० वटा, २५ खसी, पाँच ब्याडका बोका, ३० पाठी र २० साना पाठा गरी १५० बाख्रा पाल्नु भएको छ ।
नेपालको कृषि अर्थव्यवस्थाको दरिलो र भरपर्दो क्षेत्रको रूपमा रहेको पशुपालन क्षेत्र अन्तर्गतको बाख्रा पालनबाट बारा कोल्हनी नगरपालिका–४ का मैनालीले सबै खर्च कटाएर ५५ हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
आजभन्दा २१ वर्ष अगाडि १५ वटा बाख्राबाट व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका मैनालीले एउटा बाख्राबाट पाँच हजार रुपैयाँ आम्दानी गर्नु हुन्छ । सबै खर्च कटाएर वार्षिक ६ लाख आम्दानी हुन्छ ।
बधुवा प्रणालीबाट बाख्रा पाल्दै आउनुभएका उहाँले भन्नुभयो–“मेहनत गरेको खण्डमा बाख्रापालन मुनाफा योग्य व्यवसाय हो, मेहनत गरिएन भने लगानी डुबेर जान्छ ।”
विभिन्न समयमा घाँस, बीउ, बेर्ना सम्बन्धी तालिम समेत लिँदै आउनुभएका मैनालीका अनुसार बाख्रालाई घाँस, दाना (मकै, गहँु, कोदो, पिनालगायत सन्तुलित आहार) खुवाउनुपर्छ । बाख्राको दैनिक रेखदेख गर्न दुईजना र मौसम अनुसार १५ जना कामदार रहेको उहाँले बताउनुभयो ।
यसरी व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी गर्ने मैनाली उदाहरण मात्र हुन् । विभिन्न जिल्लाका युवा वैदेशिक रोजगारीको लागि विदेश जानुको सट्टा मैनालीले जस्तै बाख्रापालन व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।
“नेपालको लगभग सबै भौगोलिक क्षेत्रमा पालन गर्न सकिने र सानो लगानीबाट समेत सञ्चालन गर्न सकिने भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ”– गुल्मीका बाख्रा व्यवसायी दिलीप बोहराले भन्नुभयो ।
हाल नेपालमा रहेका करिब एक करोड बाख्राबाट ५५ हजार ५०० सय मेट्रिक टन मासु उत्पादन भइरहेको छ ।
जुन नेपालको कुल मासु उत्पादनको करिब २० प्रतिशत रहेको छ । पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा विमलकुमार निर्मलका अनुसार बाख्रापालन व्यवसाय २८ लाख घरपरिवारको पेसासँग जोडिएको छ ।
बढ्दो शहरीकरण तथा प्रतिव्यक्ति आयको वृद्धिसँगै बाख्राको माग बढ्दै गइरहेका कारण माग पूरा गर्न स्वदेशी उत्पादनको अलवा वार्षिक करिब पाँच लाख खसी बोका तथा च्याङ्ग्रा छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिन्छ ।
विशेषगरी दशैँ, पूजा, बली र विविध चाडपर्वका लागि निर्वाहमुखी उत्पादन हुँदै आएको बाख्रापालनलाई नै व्यवसाय बनाएर निजी क्षेत्रबाट पालन गर्ने कार्य विस्तारै अगाडि बढ्दै गएको छ । कृषि विकास मन्त्रालयका सचिव उत्तम भट्टराईले बाख्रापालनबाट मुलुकलाई छिट्टै आत्मनिर्भर बनाउने बताउनुभयो ।
नेपाल बाख्रापालन महाङ्घका संयोजक रवी किरण पौडेलले बाख्रापालनलाई व्यावसायिक रूपमा अगाडि बढाउनका लागि अझै पनि गुणस्तरिय र उपयुक्त जातको बाख्राको अभाव भएको बताउनुभयो ।


