Published On:Wednesday, March 18, 2015
Posted by Unknown
मोहन बैद्य पत्नी पनि एसएलसी दिँदै
५२ वर्षको उमेरमा नयाँ वसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर
उनले औपचारिक शिक्षाको शुरुवात गरेकी थिइन्। विद्यालय भर्ना भएर पढ्न शुरु
गरेको ६ वर्षमै उनी एसएलसी दिन सक्षम भएकी हुन्। उनी अहिले ५८ वर्षकी भएको
बिहीबारको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।
विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाइ पढाउन यो
विद्यालय खोलिएको हो। यो विद्यालय भर्ना हुनुअघि सुस्मा सामान्य लेखपढ
मात्र गर्न सक्थिन्।
‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि स्कुलमा भर्ना भएकी थिइनँ,
नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खट्टयाउन सक्ने भएकी
थिएँ’ उनले बुधबार अन्नपूर्णसँग भनिन्, ‘स्कुलमा नियमित पढ्न थालेपछि त
मेहेनत गरियो भने गर्न नसक्ने केहि पनि छैन रहेछ भन्ने आत्मविश्वास जागेको
छ।’
उनी शुरुमा उक्त विद्यालयमा कक्षा एकमा भर्ना भएकी थिइन्। त्यसपछि सिकाइ
स्तर बढ्दै गएपछि सोही वर्ष कक्षा एककै ए, बी,सी लगायतका विभिन्न तह पार
गर्दै कक्षा चारसम्म पुगिन्। विद्यालयले विद्यार्थीको सिकाइ स्तर छुट्टयाएर
विभिन्न समूहमा वर्गीकरण गर्ने गर्छ। उत्कृष्ट विद्यार्थीलाई एकै वर्षमा
तीन चार वटा कक्षासम्म चढाइन्छ।
एक कक्षापछि चार, पाँच हुँदै कक्षा दशसम्मको पढाइ पुरा गरेपछि सुस्मा
एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन्। अहिलेसम्म प्राप्त सिकाई
उपलब्धिलाई मूल्यांकन गर्दा एसएलसी पनि उत्तीर्ण हुनेमा उनी ढुक्क छिन्।
उनलाइ घरमा छोरी, ज्वाइ, श्रीमान तथा अन्य आफन्तले पनि पढाउन सहयोग
गरिरहेका छन्।
‘तीनवटी छोरीहरुले स्नातकोत्तर पढिरहेका छन्। अहिले म भने परिवारकै
सबैभन्दा कान्छो सदस्य बनेर एसएलसी दिन लागेकी छु’ वैद्यले ठट्टा गर्दै
भनिन्।


