Published On:Monday, March 16, 2015
Posted by Unknown
रोम विधान अनुमोदन छिट्टै
०३ चैत्र,काठमाण्डौ - मानवअधिकारकर्मीले आवाज उठाएको लामो समयपछि सरकारले रोम विधान अनुमोदन गर्ने तयारी गरेको छ। शान्ति तथा पुनर्निर्माण र कानुन मन्त्री नरहरि आचार्यले मन्त्रीपरिषदले अध्ययन समिति गठन भइसकेको जानकारी दिँदै त्यसको प्रतिवेदनका आधारमा विधान अनुमोदन हुने बताए। नागरिक दैनिकमा समाचार छ ।
'मानवअधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायले यो मुद्दा उठाउँदै आएका थिए। अब छिट्टै रोम विधान अनुमोदन हुन्छ,' राजधानीमा सोमबार आयोजित कार्यक्रममा मन्त्री आचार्यले भने।
आठ वर्षअघि पुनःस्थापित प्रतिनिधिसभाले संकल्प प्रस्ताव पारित गरी रोम विधान अनुमोदन गर्न सरकारलाई निर्देशन दिएको थियो। 'रोम विधानका बारेमा अध्ययन गर्न समिति गठन भइसकेको छ। त्यसले दिने सुझावका आधारमा सरकारले विधान अनुमोदन गर्छ,' उनले भने। मुलुक संविधान निर्माणका क्रममा रहेकाले रोम विधान बेलैमा अनुमोदन गर्न नसकिएको मन्त्री आचार्यले बताए।


