Published On:Wednesday, March 11, 2015
Posted by Unknown
कांग्रेस–एमाले टाढिएकै हुन् ?
२८ फागुन, काठमाण्डौ - सत्तासाझेदार कांग्रेस र एमालेबीच मतभेद देखिन थालेको छ । संविधानसभामा प्रक्रिया अघि बढाउन जोड दिँदै आएको एमाले सहमतिबाटै संविधान बनाउन पहल गर्ने कांग्रेसको पछिल्लो निर्णयपछि चिढिएको छ । कांग्रेस नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि ऊ सन्तुष्ट छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कांग्रेस र एमाले मिलेरै संविधानसभामा प्रक्रिया अघि बढाएका थिए । अहिले एमाले विपक्षीसँग वार्ता र संविधानसभाको प्रक्रिया सँगसँगै अघि बढाउने पक्षमा छ भने कांग्रेस प्रक्रियाका विषयमा मौन देखिएको छ ।
केही दिनअघि बसेको एमाले स्थायी समिति बैठकले संवाद र प्रक्रिया सँगसँगै अघि बढाउने निर्णय गर्दै संविधान निर्माणको मार्गचित्र तय नगरे सरकारमाथि नैतिक संकट उत्पन्न हुने बताएको थियो । त्यसलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भने सहमतिमा संविधान निर्माण गर्न जोड दिएको थियो ।
सरकारको कमजोर प्रस्तुति र कार्यशैलीप्रति पनि एमाले सन्तुष्ट छैन । सरकारमा एमालेको नेतृत्व गरेका उपप्रधानमन्त्री वामदेव गौतमले केही दिनअघि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । सचिवहरुको बढुवा , संवैधानिक नियुक्ति र सुकुम्बासी आयोग गठनका विषयमा दुई दलबीच विवाद देखिएको थियो ।



