Published On:Wednesday, March 11, 2015
Posted by Unknown
विषाक्त रोटी खाँदा भएका मृत्युबारे प्रमलाई काँग्रेस धादिङको ज्ञापनपत्र,
यस्तो बेला सहयोग नगरे कहिले गर्ने ? प्रधानमन्त्री
२७ फागुन, काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले बीउका लागि राखेको विषाक्त गहूँ पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ पीडाका सञ्जबहादुर तामाङको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयबाट आज प्रकाशित विज्ञप्तिका अनुसार उहाँले नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले यस घटनाका सन्दर्भमा आज दिएको ज्ञापनपत्र बुझ्दै सो वचन दिएका हुन् । ज्ञापनपत्रमा यस घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग र बिरामीको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्नेसहित विषादीका बारेमा आमजनतालाई सही जानकारी दिने व्यवस्था गर्न माग गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले बडो दुःखद घटना भएको उल्लेख गर्दै भने–“ नेपाली काँग्रेस पार्टी सभापति र सरकार प्रमुखका रुपमा पीडितलाई सक्दो सहयोग गर्नेछु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।” उनले प्रश्न गर्दै भने “यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ”
बीउका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा धादिङ पिँडा गाविस चिउरीभञ्ज्याङका सञ्जबहादुर तामाङको परिवारका ६ सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदोको पीठोबाट बनाएको रोटी खाँदा थप ४१ बिरामी परेका छन् ।
प्रधानमन्त्री कोइरालाले मङ्गलबार साँझ एक समवेदना सन्देश दिँदै सो घट्नाले आफूलाई मर्माहत बनाएको बताउदै दिवङ्गत भएकाको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।



