Published On:Wednesday, March 4, 2015
Posted by Unknown
नेपाली युवतीसँग बिहे गर्न आएको थिएँ
२१ फागुन, काठमाण्डौ,- म नेपाली युवतीसँग विवाह गर्न उत्साहित हुँदै जर्मनीबाट नेपाल आएको थिएँ। ५६ वर्षे यो उमेरमा आइपुग्दा म गोरखाकी नेपाली युवतीसँग घरजम गर्ने टुंगोमा पुगेको हुँ।
म जीवनभर विवाह गर्ने मुडमा थिइनँ। तर नेपाल आउँदाजाँदा उनीसँग नजिकिएँ र मेरो मन बदलियो।
म उनलाई सम्झँदै विवाहको कल्पनामा रमाएर नेपाल आएको थिएँ। टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं देख्दा म खुसी भएँ।
त्यही खुसीमा रमाउँदै थिएँ। सात बजिसकेको थियो। एक मिनेटभित्र अवतरण हुने खबर पाएपछि मेरो आँखा विमानस्थलतिर मोडियो। तल आएको विमान जुन ठाउँमा अवतरण गर्नुपर्ने थियो, त्यहाँ अवतरण नगरेर उड्न थाल्यो।
करिब सातपटक आकाशमै यता र उता घुम्न थाल्यो। सुरुमा त ट्राफिक वा अरू केही समस्या होला भन्ने लाग्यो। दोस्रोपटक ल्यान्ड गर्न लाग्दा फेरि उड्यो। कारण हामीलाई थाहा हुन सकेन।
परिचारिकाले ल्यान्ड हुन एक घन्टा समय लाग्ने भयो नआत्तिनुहोस् भने। सबैजना हतासिएका थिए। एक घन्टा भनिएकोमा करिब २० मिनेटपछि पुन: ल्यान्ड गर्न कोसिस गर्दा विमान घिस्रिँदै अगाडि बढ्दा चिप्लिन पुग्यो।
विमान धावनमार्गभन्दा बाहिर झारमा थेचारिन पुग्यो। भुइँमा जोडसँग ठोक्किएपछि विमानभित्र धुवाँ देखियो। आगो लाग्न थाल्यो भन्दै यात्रु कराउन थाले। विमान हल्लिनसमेत थालेपछि सबै जना डराएर कराउन थाले, केटाकेटीहरू रुन थाले।
माथि राखिएका सामान यात्रुका टाउकोमा खस्न थाले। सबैजना ढोका खोल्नुहोस् भनिरहेका थिए। परिचारिका ढोका खोल्ने कि नखोल्ने भन्दै पाइलटसँग बुझ्दै थिए। झ्यालबाट हेर्दा केही देखिएन।
पाइलटको साहस र उनको अनुभवले हामी बाँच्न सफल भएको हौं जस्तो लाग्छ। उनले हामीलाई बचाउन ठूलो कसरत गरेका थिए जुन हामीले अनुभव पनि गर्यौं।
सुरक्षित अवतरणका लागि कोसिस भइरहेको छ, केही हुँदैन भन्दै सम्झाउँदै थिए परिचारिका। बाहिर आर्मी र प्रहरीले केही मिनेटमै सबै कुरा मिलाएर आकस्मिक ढोका खोले।
उनीहरूको कामलाई म सराहना गर्छु। सबैजना चिप्लिँदै बाहिर आए। म पनि यति धेरै डराएछु कि एक्कासि रक्तचाप बढ्न पुगेछ। आत्तिएर तल झर्न खोज्दा खुट्टामा पनि चोट लागेछ।
(विमान दुर्घटनामा घाइते भएका जर्मन नागरिक डेट्रिचसँग अन्नपूर्णकी दीपा दाहालले गरेको कुराकानी)



