Published On:Friday, March 6, 2015
Posted by Unknown
केकी पहिरनमा भन्दा सकारात्मक सोचमा सुन्दरता
चलचित्र क्षेत्रमा चलेका नायिकामध्येकी एक हुन्-केकी अधिकारी । उनी काममा जति रुचि राख्छिन् उति नै व्यक्तित्वमा ध्यान पनि दिन्छिन् । कला क्षेत्रमा पहिरन र सुन्दरतामा बढी ध्यान दिइने भए पनि केकी पहिरनमा भन्दा सकारात्मक सोचमा सुन्दरता एवं व्यक्तित्व लुकेको दाबी गर्छिन् ।पहिरन
मन परेको पहिरन भए फुटपाथमा पनि किन्ने केकी पहिरन महँगो नै हुनुपर्छ भन्ने मान्यता राख्दिनन् । आफूलाई मनपर्ने र लगाउँदा आराम हुने पहिरनलाई प्राथमिकता दिन्छिन् । केकीलाई मनपर्ने पहिरन जिन्स र टप्स हुन् । उनी जाडोमा बुट कहिल्यै छुटाउँदिनन् भने लङ ज्याकेट तथा टोपी पनि लगाउँछिन् । अवार्ड कार्यक्रम तथा विवाहमा जाँदा साडी लगाउँछिन् । आफूलाई साडी बढी सुहाउने र अरूले पनि साडीमै राम्रो देखिन्छ भन्ने गरेको उनी बताउँछिन् । राता रंगका पहिरन नै केकीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।
मेकअप
केकी हेभी मेकअप गर्दिनन् । उनी भन्छिन्-'बाहिर सामान्य मेकअपमै निस्कन्छु । मेकअपमा गाजल कहिल्यै छुटाउँदिन । मेरो स्किन टोन डार्क भएकाले फ्लोरेलको गाजल लगाउँछु । यो गाढा कालो हुने भएकाले मलाई सुहाउँछ । यसका साथै लिपिस्टिक तथा सन क्रिम मेरा नियमित प्रसाधन हुन् ।' केकी समारोह तथा इभेन्ट हेरेर पनि मेकअपमा ध्यान दिनुपर्ने भएकाले अन्य सामग्री थप हुनुलाई स्वाभाविक मान्छिन् । उनको केश न्याचुरल कर्ली भएकाले हेयर स्टाइल प्राय: छोडिएकै हुन्छ । चलचित्रमा आफ्नो भूमिकाअनुसार केशको स्टाइल परिवर्तन गरिरहनुपर्ने भएकाले केकी केशको विशेष ख्याल गर्छिन् । केशमा नियमित रूपमा तेल लगाउने केकी स्याम्पु, कन्डिसनर तथा टि्रटमेन्ट नियमित गरिरहने बताउँछिन् ।
एसेसरिज
पहिरनमा एसेसरिज मिलाएर लगाउने ट्रेन्ड विकसित हुँदै गएको छ । एसेसरिज र पहिरन एउटै हुँदा लगाएका सबै कुराले व्यक्तित्वमा निखार ल्याउने भएकाले केकी पनि अहिलेको यो ट्रेन्ड रुचाउँछिन् । सुनका गहना कहिल्यै नलगाउने भए पनि उनी ह्वाइट गोल्ड भने लगाउँछिन् । हातमा ब्रासलेट अथवा डिजाइनर चुरा लगाउने रुचि नभए पनि सुटिङमा भने लगाउन आवश्यक भएको उनी प्रस्ट पार्छिन् । एउटा नेक पिस भने उनीसँग छ । यसैगरी उनी रेवान, अर्मानी आदिका सन ग्लास लगाउँछिन् । हिँड्दा एचएनएमको ठूलो ब्याग बोक्ने केकीको ब्यागमा केही कस्मेटिकलगायत अत्यावश्क सामानहरू हुन्छन् ।



