Published On:Thursday, March 5, 2015
Posted by Unknown

बन्यो उत्तरपुस्तिका नष्ट गर्ने कानुन

२२ फागुन, काठमाण्डौ- शिक्षक सेवा आयोगमा १० वर्षदेखि थन्किएका शिक्षकका उत्तरपुस्तिका नष्ट गर्न कानुनी बाटो खुलेको छ। शिक्षक सेवा आयोग नियमावलीमा भएको नवौं संशोधनले शिक्षकका उत्तरपुस्तिका नष्ट गर्ने बाटो खुलाइदिएको हो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्तिका लागि आयोगद्वारा सञ्चालित परीक्षा र शिक्षण अनुमतिपत्रको परीक्षाका उत्तरपुस्तिका कानुन अभावमा नष्ट गर्न सकिएको थिएन।
 
विश्वविद्यालयका विद्यार्थी तथा स्थायी दरबन्दीमा कर्मचारी भर्ना गर्न परीक्षा सञ्चालन गर्ने अधिकांश संस्थामा नतिजा सार्वजनिक भएको ६ महिनादेखि एक वर्षभित्र उत्तरपुस्तिका नष्ट गर्न पाउने कानुन रहे पनि आयोगमा भने त्यस्तो कुनै स्पष्ट कानुन थिएन।
 
'नियमावली संशोधन भएपछि आयोगलाई स्टोर गरेर राखिएका उत्तरपुस्तिका नष्ट गर्ने बाटो खुलेको छ', आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले भने। उनका अनुसार जुनसुकै परीक्षाको नतिजा सार्वजनिक भएको मितिले एक वर्षपछि उत्तरपुस्तिका नष्ट गर्न पाउने अधिकार नियमावलीले दिएको छ।
 
आयोगमा २०६१ सालयता शिक्षकको खुला तथा कार्यक्षमताका आधारमा बढुवा हुने प्रतियोगिता उत्तरपुस्तिका, शिक्षण अध्यापन अनुमतिपत्रको उत्तरपुस्तिका भण्डारण गरेर राखिएको छ।
 
२०५७ सालमा गठन भएको आयोगले २०६१ सालदेखि शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्दै आएको छ। स्थान अभावका कारण उत्तरपुस्तिकालाई ग्यारेज, खाली कोठा र सभा हलमा थुपारेर राखिएको छ। मरहट्टाले भने, 'लिखित परीक्षा सकिएको एक वर्षपछि उत्तरपुस्तिका धुल्याउन सकिने व्यवस्था नियमावलीमा गरिएको छ।'
 
आयोगले पछिल्लोपटक शिक्षक नियुक्ति खुला प्रतियोगिता परीक्षाको नतिजा गत असार १९ गते प्रकाशित गरेको थियो।
 
 सोही नतिजाको मितिको एक वर्षलाई आधार मानेर आगामी असार १९ गतदेखि उत्तरपुस्तिका धुल्याउने प्रक्रिया अघि बढाइने आयोगले बताएको छ।
 
एसएलसी परीक्षामा भने नतिजा प्रकाशन भएको ६ महिनाभित्र उत्तरपुस्तिका धुल्याउन पाइने व्यवस्था छ।

0 comments for "बन्यो उत्तरपुस्तिका नष्ट गर्ने कानुन"

Leave a reply

    Popular Posts

    Blog Archive