Published On:Saturday, March 7, 2015
Posted by Unknown
मन खाने भेटियो भने अवश्य विवाह गर्छु, इन्दिरा जोशी
सरोज बस्नेतगायिका इन्दिरा जोशी चर्चामा छिन् । चलचित्र लुटको उध्रेको चोली ....., पप गीत सानु माया आउन वर... जस्ता हिट गीतकी गायिका जोशीको माग स्वदेशका स्टेज कार्यक्रमदेखि विदेशका शोहरूसम्म उत्तिकै छ । इन्दिरा स्टेज तताउन खप्पिस छिन् । इन्दिरा मञ्चमा निकै कसिलो पहिरनमा पुग्छिन् । गीत गाउने क्रममा उनको कम्मर हल्लाइको छुट्टै आकर्षण छ । शारीरिक हाउभाउकै कारण इन्दिराले दर्शकको हुटिङ पाउँछिन् ।
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?कन्सर्टमा व्यस्त छु । एउटा म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
कसरी सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभयो ?सानैदेखि गीत गाउँथें । बाल कार्यक्रममा कक्षा ४ मा पढ्दा नै दुईवटा गीत गाएकी थिएँ । त्यसपछि जिल्लास्तरीय लोकगीत प्रतियोगितामा भाग लिएँ । त्यसमा तेस्रो भएकी थिएँ । कक्षा ५ मा पढ्दा कोभन्दा को कम शीर्षकको प्रतियोगितामा प्रथम भएँ । नेपाली तारामा टप फाइभमा आएँ । व्यावसायिक रूपमा गाउन थालेको चाहिँ २०६२ देखि मात्र हो ।
यति चर्चित गायिका बन्छु भन्ने लागेको थियो ?
संगीतलाई नै करियर बनाउँछु भन्नेचाहिँ थियो, तर यति चर्चित गायिका हुन्छु भन्ने थिएन ।
छोटो समयमै संगीतमा पाएको चर्चालाई कसरी लिनुहुन्छ ?छोटो समयजस्तो लाग्दैन । मैले सानै उमेरदेखि स्टेजमा गाउन थालेकी हुँ, संगीतलाई बुझ्न यो जुनीले मात्र पुग्दैन ।
अझै उध्रेको चोलीको चर्चा छ नि ?
यो गीत किन यति चर्चित भयो मैले पनि बुझ्न सकेकी छैन । यद्यपि यो गीत मैले धेरै मेहनत गरेर गाएकी थिएँ । यसलाई मैले धेरै मोडिफाई गरेर गाएकी छु । श्रृंगार रसको गीत भएकाले पनि यो गीतले अत्यधिक चर्चा पाएको होला ।
अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
धेरै त गाएकी छैन, मुभी, कलेक्सन, रिमिक्स सबै गरेर १ सय ५० वटा जति भयो होला ।
भविष्य कस्तो देख्नुहुन्छ ?धेरै परिर्वतन आएको छ । व्यवसायिक रूपमा भविष्य एकदम राम्रो छ ।
तपाईंलाई कुन गीतका कारण आफूले यति चर्चा पाएजस्तो लाग्छ ?
पहिलो एल्बमले मलाई चिनायो । धेरै चर्चामा ल्याउने गीतचाहिँ लुटको उध्रेको चोली र चौबन्दी चोली अनि रातो घाँगरा नै हो ।
पढाइ कहाँसम्म पुग्यो ?फाइनान्समा एमबीएस दोस्रो वर्षमा अध्ययरत छु ।
सेलिब्रेटी र साधारण जीवनमा कस्तो भिन्नता हुँदो रहेछ ?
मेरो जीवन साधारण छ । सेलिब्रेटी भनेर त्यस्तो विशेष केही छैन । मलाई त यो एउटा पेसाजस्तो मात्र लाग्छ । मानिसहरू पर्दामा आउँदा अलि फरक तरिकाले अर्थात् स्टाइलिस रूपमा प्रस्तुत हुन्छन् । यद्यपि नेपालका वास्तविक सेलिब्रेटी महजोडी मात्र हुन् जस्तो लाग्छ । संगीत तथा चलचित्रमा दुई-चार जना हुनुहुन्छ । सेलिबे्रटी हुन धेरै कुरा पूरा हुनुपर्छ । त्यसैले म साधारण हुन खोज्छु । स्टेजमा चाहिँ फरक देखिनुपर्छ, तर अरूबेला एकदम सामान्य र साधारण हुन्छु ।
केटाहरू कत्तिको पछि लाग्छन् ?
प्रशंसकका रूपमा आउनु हुन्छ अनि स्टेजमा पर्फम गर्दा हुट गरेर मज्जाले साथ दिनुहुन्छ । त्यसमा त खुसी लाग्छ मलाई ।
विवाह गर्ने उमेर भएन ?
छैन, कलाकार भैसकेपछि त अझ ढिलो गर्नुपर्छ । सबै इच्छा पूरा गरेर, कति गीत गाउन मन लाग्छ गाएर, विवाहका लागि छुट्टै समय निकाल्नुपर्छ जस्तो लाग्छ । अहिले त बेला नै भएको छैन । मेरी दिदीकै विवाह भएको छैन ।
विवाहको प्रस्ताव कति आउँछन् ?
प्रस्ताव त आउँछन्, तर अहिले म विवाहको तयारीमा छैन ।
मनले खाने मान्छे पाइयो भने नि ?
मनले खाने मान्छे भेटियो भने अवश्य पनि विवाह गर्छु ।
प्रेम के रहेछ ?
प्रेम सबथोक हो । मानिसलाई आमाबुवा, श्रीमान्, साथीभाइ सबैको प्रेम चाहिन्छ ।
विवाह भनेको के हो ?
बुवाआमा हुँदाहुँदै पनि आफूलाई जीवनमा आवश्यक पर्ने साथी हो । सबै सम्बन्धको आ-आफ्नै स्थान छ । श्रीमानको माया अरूबाट प्राप्त गर्न सकिँदैन । विवाह भनेको एकदमै ठूलो परिवर्तन पनि हो । आफू मानसिक रूपमा तयार नभएसम्म वा आवश्यक नभएसम्म विवाह गर्नु हुँदैन ।
फुर्सदको समय के गरेर बिताउनुहुन्छ ?
घरमै बसेर म्युजिक सुन्छु, उपन्यास पढ्छु, टिभी हेर्छु ।
राजनीति के हो जस्तो लाग्छ ?
राजनीति देशको मेरुदण्ड हो । देश सञ्चालनको एउटा विज्ञान हो, तर हामीकहाँ मागि खाने भाँडो भएको छ ।
सुन्दरता के हो ?
सुन्दरता आ-आफ्नो दृष्टिकोण हो । तपाईंलाई जुन मान्छे सुन्दर लाग्यो मलाई नलाग्न सक्छ । जे सुन्दर छ त्यो सधैँ राम्रो हुन्छ भन्ने पनि हुँदैन ।
पुरुष मन पर्छन् ?
महिलालाई सम्मान गर्ने, सफा, बोली-व्यवहार एकदम राम्रो भएको । म मानिसको बोलीबाट धेरथोर यसको मूल्यांकन गर्न सक्छु ।
पुरुषलाई हेर्दा तपाईंको पहिलो नजर कहाँ जान्छ ?
आँखामा जान्छ । हामी महिलाहरू आँखा हेरेर धेरै कुरा थाहा पाउन सक्छौँ ।
आफ्नो सबैभन्दा मन पर्ने अङ्ग ?
मलाई आफ्ना तस्बिर कत्ति पनि मन पर्दैनन् । आँखाचाहिँ मन पर्छ ।
भविष्यको योजना के छ ?
संगीतमै लाग्छु । गीतसङ्गीतका साथसाथै सामाजिक कार्यमा पनि सक्रिय हुने इच्छा छ ।
साप्ताहिकबाट



