Published On:Sunday, March 8, 2015
Posted by Unknown
एउटा आदरणीय र 'क्रूर' सम्पादक
२५ फागुन, काठमाण्डौ - अन्नपुर्ण पोष्ट दैनिकमा प्रधान सम्पादक युवराज घिमिरे लेख्छन्
प्रख्यात सम्पादक विनोद मेहताको उनकै शब्दमा वास्तविक उमेर ७४ तर रेकर्डमा ७३ वर्षमा निधन भयो, दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा आइतबार, लामो बिमारीपछि। फोक्सोसम्बन्धी र अन्य रोगले च्याप्दै गएपछि उनलाई निको नहुने र कुनै पनि क्षण अन्त्य हुने अनुमानले केही दिनयतादेखि मित्रमण्डलीलाई चिन्तित तुल्याउँदै आएको थियो।
भारतीय पत्रकारिता जगत्मा विनोद मेहता एकजना सिद्धान्तनिष्ठ, निडर र सम्झौताबाट पत्रकारिताको धर्म नमार्ने व्यक्तिका रूपमा चिनिन्छन्। आफूविरुद्ध खनिनेहरूलाई या त उनले उपहासको हाँसोबाट बेवास्ता गरे, या चुनिएका कठोर र यदाकदा कटुवाणीबाट मर्माहत तुल्याए।
यही उनको खुबी थियो र शक्ति पनि। पत्रकारिताको धर्म र शक्तिको प्रयोगमा विश्वास गर्ने सिकारु र 'मिड करियर' पत्रकारका लागि त्यसैले उनी सदाबहार 'रोलमोडल' रहिरहे।
धर्म निरपेक्षताका प्रबल पक्षपाती मेहता कुनै राजनीतिक दलसँग आबद्ध थिएनन्। तर यदाकदा उनले भारतीय जनता पार्टी 'हिन्दुवादी' भए पनि अटलबिहारी वाजपेयीलाई लालकृष्ण आडवाणी या अन्य कुनै नेताभन्दा बढी उदारवादी, धर्म निरपेक्ष र आदर्शवादी भएको मान्ने भूल गरे धेरै समय, खासगरी उनको सम्पादनको अन्तिम साप्ताहिक 'आउटलुक'मा छँदा।
तर उनले सन् २०११ मा प्रकाशित 'बेस्टसेलर' संस्मरण 'लखनऊ ब्वाई' मा भनेअनुसार वाजपेयीको जानकारी र सहमतिमा आउटलुकका अध्यक्ष तथा निर्माण व्यवसायी राजन रहेजाको कार्यालय र आवासमा राजस्व विभागले छापा मारेपछि वाजपेयीप्रतिको धारणा फेरिएनमात्र, उनको कटु आलोचक रहे जीवनपर्यन्त। वाजपेयी र भाजपाको आलोचनाले उनलाई सोनिया गान्धी र कांग्रेसका समर्थकका रूपमा प्रस्तुत गरे कतिले।
उनका अध्ययनका विषय व्यापक थिए। ७० को दशकमा उद्दण्डताका लागि चर्चित सञ्जय गान्धीदेखि भारतीय सिनेजगत्की लोकप्रिय नायिका मीना कुमारीसम्मका जीवनीबारे किताब लेखे उनले।
'नग्नता' सँग जोडिएको 'डेबोनियर' का सम्पादकको दायित्व जति सफलताका साथ निर्वाह गरे उनले, त्यत्तिकै सफलताको उचाइ दिए, आउटलुकजस्तो समसामयिक र राजनीतिक पत्रिकालाई।
सन् १९९५ को अक्टोबरमा सुरु गरिएको 'आउटलुक'को पहिलो अंकमै 'काश्मिरमा ७० प्रतिशत जनता जनमत संग्रह चाहन्छन्' भन्ने कभर स्टोरी छापियो। त्यसले भारतीय संस्थापनको एउटा पक्षलाई आक्रोशित तुल्यायो। 'मुलुकको ठेक्का तिमीले नै लिएका छौ?' केहीलाई उनी यस्तो उत्तर दिन्थे। कतिपयलाई जबाफ दिनै आवश्यक ठान्दैनथे।
विनोद मेहता अत्यन्तै व्यावसायिक थिए र त्यही व्यावसायिक घेराबाट 'असम्मान' व्यक्त गर्थे आफ्नै लेखनका विषयमा पर्ने अन्य असान्दर्भिक पात्रहरूप्रति। सम्पादकहरूप्रति सम्भवत: असम्मान व्यक्त गर्न उनले आफ्नो कुकुरको नाम 'एडिटर' राखेका थिए।
दोहोरो मान्यता प्रदर्शन नगर्ने हुँदा सार्वजनिक विषयमा जतिसुकै नजिकको व्यक्ति भए पनि आलोचना हुँदैन 'मेरो' भनेर ढुक्क हुने स्थिति थिएन। स्वास्थ्य कमजोर हुँदा टेलिभिजन 'सो'मा आएर आफ्नो भनाइ राख्ने गरेका थिए पछिल्ला समयमा उनले।
मेहता चार वर्षका हुँदा 'पाकिस्तान' बाट उनका बा, आमा दिल्ली सरे। विवाह ६० कटेपछि आफ्नै सहकर्मी सुमिता मेहतासँग गरे उनले। तर आफ्नो जीवनीमा आधारित 'लखनउ ब्वाई'मा उनले बीए पास गरी लन्डनमा जाँदा एकजना 'प्रेमिका'बाट एउटा छोरी जन्मेको खुलासा गरे।
विनोद मेहता आफ्ना बारेमा खासै ज्यादा कुरा गर्ने र उपलब्धिमा 'मपाईंत्व' प्रदर्शन गर्ने व्यक्ति थिएनन्। तर विविध परिवेशका कारण ती छोरीसँग भेट हुन नसकेकोमा पश्चात्ताप मानिरहे।
उनी एकपटक मात्र नेपाल आए जीवनमा, सन् २०१२ मा पुस्तक मेलामा वक्ताका रूपमा। कम शब्द तर पेचिलो प्रभाव। त्यही गरे। नेपालका सडकहरूको धुलोदेखि आएकै रात वाक्क भए।
ठमेल हाउसमा मेहता, सुमिता, पीएल सिंह र यो पत्रकार (आउटलुकका प्रारम्भिक तीन वर्षमा उनका सहयोगी) को 'कम्पनी' उनलाई निकै मन पर्यो। नेपालको राजनीति, पत्रकारिता अनि भविष्यबारे लामो रुचि राखेर उनले कुरा गरे, कुरा सुने। त्यति धैर्य विनोदसँग पहिले देखेको थिइनँ।
'युवराज मलाई खुसी लाग्यो विनोदले तिमीसँग यति खुलेर कुरा गरेकोमा', सुनिताले भनिन् अंग्रेजीमा। 'विनोद मेरा लागि धेरै अर्थ राख्छन्', मैले भनें।
हो साँच्चै विनोद धेरै अर्थ राख्छन् मेरा लागि। मजस्ता पत्रकारका लागि।


