Published On:Thursday, November 13, 2014
Posted by dadad
५० लाख रुपैयाँ लुट्ने डाँकालाई जेल चलान
२७ कार्तिक, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला स्थित सहयोगी विकास बैंकको ५० लाख रुपैयाँ लुट्ने डकैती गिरोहका एक अभियुक्त पक्राउ परेका छन् ।
जिल्लाको फुल्काहा गाविस–८ बस्ने ३६ वर्षका प्रमोद चौधरीलाई पक्राउ गरी महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
विसं २०७० जेठ २९ गतेका दिन ना २ च २६२२ नम्बरको जिपमा सहयोगी विकास बैंक जनकपुरबाट शाखा कार्यालय महोत्तरीको गौशालामा लैजाँदै गरेको ५० लाख रुपैयाँ सशस्त्र नकाबधारी डाँकाहरुको समूहले गौशाला–८ मा लुटेको थियो ।
बैंकको पैसा लुटेर फरार रहेका चौधरीलाई जिप्रका महोत्तरीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएकामा आज जिल्ला अदालत महोत्तरीले डाँका चौधरीलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए । घटनामा संलग्न तीनजनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले थप बाँकी अभियुक्तहरुको खोजी जारी राखेको छ । रासस



