Published On:Monday, November 17, 2014
Posted by dadad

यात्रामा जे देखेँ.....


“यई बजारमी फुचेराकी डिठ पड्डीछ क्या बालकलाई”
डडेल्धुराबाट डोटी आइपुगेका थियौं, र सिलगढीमा रहेका एफएम, रेडियोका साथीहरुसंग बिहान एकछिन भेटघाट गर्न भनेर त्यसतर्फ जाँदै थियौं । सिलगढी बजारको साँघुरो गल्ली हुदै जाँदैं गर्दा शैलेश्वरी मन्दिर नजिकै यी महिला भेटिइन,तल बजार झर्दै थिइन । काखमा सानो नानी देखे, त्यो पनि माछा मार्ने जालले छोपेको अवस्थामा । 

यो दृष्य देखेर तपाई अचम्ममा नपर्नुस, यो वालकको सुरक्षा कवच रहेछ उनिहरुको बुझाइमा । तर मेरो मनमा चलिरहेको खुल्दुलीले सिमा नाघ्यो र दिदी भन्दै बोलाए र उहाँ रोकिनु भयो । मैले हात जोड्दै नमस्ते गरे अनि फोटो लिने अनुमती मागे र क्यामरामा यो फोटो टल्कियो ।

 त्यसपछि मैले सोधें दिदी, यो माछा मार्ने जाल किन बच्चालाई यसरि ओढाउनु भको ? ती दिदीले लाजले मुन्टो बटारिन...तर, मेरो जवाफ दिदीसंगै रहेकी एक आमाले दिइन “बालकलाई केई जन हौउ भनिबट ओढांया हो, यइ बजारमी फुचेराकी डिठ पड्डीछ क्या, नै जान्ना ब ? फुटा त खिच्या रे रुप्या नै हौं दिन्याँ ”...(“ वालकलाई त्यस्तो नराम्रो केही पनि नहोस भनेर ओढाएको हो । यो बजारमा नराम्रा मान्छेको नजर लाग्छ त, थाहा छैन? फोटो त खिच्नु भयो पैसा दिनु हुन्न” ?)
उहाँले भनेको म कसरि बिश्वास गरुँ ? शायद तपाई पनि गर्नुहुन्न होला । 

मेरो मनमा ती आमालाई सोध्ने थुर्पै कुरा जन्मिसकेका थिए, तर सोधिहाल्न उचित ठानिन त्यतिखेर । यत्ति मात्रै भनेः बच्चालाइ निको, बलियो, निरोगी, ज्ञानी बनाउन यो जाल ओढाएर हुदैं हुदैन आमा । बरु उसको खानपिन,सरसफाइ, उचित पोषणमा ध्यान दिनुस, हेर्नुस त बच्चाको नाकबाट सिंगान बगिरहेको छ, अनि त्यो फोहर जाल आँखा मैं टाँसिएकाले बच्चाको आँखालाई नराम्रो असर पुर्याउन सक्छ । यो कुरा मैले ती आमाकैं भाषामा भनेकाले बुझाइको संकेत आमाले टाउको हाल्लाउनु भाथ्यो । ति आमाले वालकलाई नराम्रो नहोस भन्न खोजेको कुराः बच्चा बिरामी नहोस,स्वस्थ होस,बलियो होस भनेर जाल ओढाएको भन्न खोजेकी थिइन ।

अनि नराम्रा मान्छे भनेकोः बर्गिय, जातिय बिभेद, साँस्कृतिक पक्ष र समाजिक कुरिती, अन्धबिश्वासलाई उजागर गर्छ । र तिनै गरिब, अशिक्षित, पिछडिएका ब्यतmीहरुको त्यो निर्दोस नजर नैं खराब नजर, अशिद्ध, अलिच्छिन्, भुतप्रेत कहलाइन्छ यो समाजमा । त्यही कुरा ति आमाले पनि सिकेकी, देखेकी थिइन र भनिन् । “गरिब र जातकी सानी सबैकी भाउजु” भने जस्तै समाजका धनि साहु, जिमीदार, जातका ठुला भनिनेहरुको नत नजर नैं बुरी हुन्छन् नत अशिद्ध, अलिच्छिन्, नत भुतप्रेत र बोक्सी नैंं ।

 यो गलत बुझाई नेपाली आम समाजमा अझै सम्म ब्याप्त रहनु लाज मर्दो कुरा हो, भनेर मेरो मनले मन भित्र भित्रै गोलाबारी गर्न थाल्यो । मैले ति आमा र दिदीलाई तँपाईको रेडियोमा कार्यक्रम भन्निछन् आमा साँझ आउँछ सुन्नु होला भने । हामी यही कार्यक्रमको प्रभाव, प्रतिकृया र सुझाव सल्लाह माग्न भनि स्थानियस्तर मैं पुगेका थियौं । जहाँ गर्भवती महिला, सुत्केरी महिला र दुई बर्षमुनीका परिवारलाई प्रत्यक्ष भेट्न डडेल्धुरा र डोटीका केही ग्रामिण बस्तीहरुमा पुग्यौं । 

जहाँ केही खुसीका खबर, केही परिर्बतनका लहर सुन्यौं..देख्यौं भने केही यस्तै दृष्य...माछाको जाल ओढाएर बच्चालाई सुरक्षा दिने, बच्चा स्वस्थ बलियो बनाउने, खराब नजरबाट जोगाउने अन्धबिश्वासी कुरा । तिहार सुरु हुन चार दिन बाँकी हुदैं हाम्रो यात्रा राजधानी काठमाडौंबाट सुदुरपश्चिमको पहाडी जिल्लाहरु तर्फ लम्किएको थियो । हामी काठमाडौंमा यही रेडियो कार्यक्रम भन्निछन् आमा उत्पादन गर्छौ । जुन सुदुरपश्चिमको डोटेली (स्थानिय) भाषामा उत्पादन हुन्छ र त्यहाँका सात पहाडी जिल्लाका बिभिन्न एफएम रेडियो स्टेशनबाट साताको दुई दिन बिहिबार र शनिबार साँझ ६ः३० बजेदेखि प्रशारण हुदै आएको छ । कार्यक्रममा आमा र बच्चाको पोषणसंगै स्वास्थ्यका बारेमा छलफल हुन्छ । जसलाई हामी सुनौला हजार दिन समेत भन्दछौं । यो कार्यक्रम देशका अधिकांश जिल्लामा लागु छ । बच्चा गर्भमा आएदेखि जन्मेर दुई बर्ष नहुँदासम्मको अवधिलाई सुनौला हजार दिन भनेर भनिएको हो । 
सुदूरपश्चिममा अन्धबिश्वास, रुढीवादीका कारण र आवश्यक जानकारी, चेतनाको अभावमा बर्षेनी एक हजार नवजात शिशुको अकालमा ज्यान जान्छ । जुन तथ्याङ्क निकै डर लाग्दो हो । क्षेत्रिय स्वास्थ्य निर्देशनालय डोटीले हालै यो तथ्याङ्क सार्बजनिक गरेको हो । जसको मुख्य कारण गर्भवती, सुत्केरी र त्यसपछि बच्चा दुई ÷ तीन बर्षको नहुँदासम्म आमा र बच्चाको उचित स्याहार सुसार र खानपिनमा ध्यान नपुग्दा नैं यो दुखद खबर बाहिर आयो । 
यसमा को जिम्मेवार ?
मैले नछुटाई भनिहाले तपाईको यो बच्चालाई सुरक्षा दिने, बलियो बनाउने, फुर्तिलो निरोगी, ज्ञानी बनाउने धेरै कुराहरु सित्तैमा थाहा हुन्छ भनि मैले भनिरहँदा ट्वाल्ल परेर सुनिरहेका ति दिदी र आमा एक्कासी “ओहो....गईजानु पण्यो सर, बेर भैगई...” भनेर ह्डिन खुट्टा सार्दै गर्दा मैले नि नमस्कार टक्रयाउदैं शैलेश्वरी मन्दिरको प्रबेशद्धारमा पाइला टेके ।

र एकछिन सम्झिएर झस्किए पनि । केही बर्ष अगाडी शैलेश्वरी मन्दिर प्राङ्गण मैं नसुहाउँदो रमिता भएको । घटना थियो शैलेश्वरी मन्दिरमा दलित प्रबेश । जुन घटनाले डोटेलीहरुमा अझैसम्म त्यो बदनामीको लालमोहर टाँसिएकै छ । 

यस्ता अनेकौं अन्धबिश्वासले जगडिएको छ हाम्रो समाज । जुन क्षेत्रमा मिडीयाको पनि राम्रै उपस्थिती छ र समाजिक रुपान्तरण अनि शसतिmकरणका लागी बिभिन्न संघ सस्थाहरु पनि बर्षौं देखि क्रियासिल छन् । समाजमा परिर्बतन र सकरात्मक कुरा केही पनि भएको छैन भन्ने होइन । तर, सरकारी लगानी, बिभिन्न संघसंस्थाहरुको लर्को र लगाब अनि स्थानियको केही चिन्ता र चासोले समाजमा जति सकरात्मक कुरा भएका छन त्यसमै चित्त बुझाइ हाल्नु पर्ने अवस्था छैन् । जब हाम्रो समाज अब त शिक्षित र चेतनशिल बन्दै गइरहेको छ भन्ने खुसी र हर्षका कुरा सुन्नमा आउछन् तब त्यही समाजको धरातल टेक्दा पो थाहा हुन्छ, साँच्चैं हामी कहाँ छौ त ?.......

(सुदूरपश्चिमबाट फर्केपछि.........)
केपी अनमोल

0 comments for "यात्रामा जे देखेँ....."

Leave a reply

    Popular Posts

    Blog Archive