Published On:Saturday, December 13, 2014
Posted by dadad
तरबारको धारमा प्रचण्डको यात्रा
२८ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार ६० वर्ष पुगे, तर जन्मदिन मनाएनन् । यो क्षणमा उनले आफू तरबारको धारमा उभिएको महसुस गरे ।
अनेक राजनीतिक चुनौतीले घेरिएको यो समय उनलाई अति कठित घडी लागेको छ । उनी भन्छन् ‘सायद यति अप्ठेरो सशस्त्र युद्धका बेला पनि परेको थिएन । सशस्त्र युद्धका बेला राज्यसित मात्र लड्नुुपर्दथ्यो ।’
‘यतिबेला गौडागौडामा लड्नुपर्ने सिथति छ,’ लाजिम्पाटस्थित निवासमा उनले भने बहुलडाइँ जित्नु साच्चिकै चुनौतिपूर्ण हुदोँरहेछ ।’ एक महिनाअघि दाङमा सन्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘लातका भूत कांग्रेस-एमाले बातले मानेनन्, अब लात हान्नुपर्छ’ भनिदिए ।
आफू नेतृत्वको राजनीतिक समितिको बैठकमा नआएका कारण उनले कांग्रेस-एमालेप्रति आक्रोश पोखेका थिए र ‘जनयुद्ध’ को उद्गम थलो रोल्पा हानिएका थिए ।
त्यसयता दाहालले निरन्तर रुपमा कांग्रेस-एमालेले ‘प्रचण्ड’ (आफू) विरुद्ध षडयन्त्र गरेको, आफ्नो कद घटाउन लागिपरेको अभिव्यक्ति दिँदै आएका छन् ।
हालैको एक दिन दाहालनिकट मानिने संसदको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाओवादी नेता जनार्दन शर्मासँग उनकै कार्यकक्ष सिंहदरबारमा भएको भेटमा यही सन्दर्भमा कुरा भयो । रुकुमेली शर्मा मुसुक्क हासे र आफ्नै लवजमा भने, ‘कांग्रेस-एमालेले क्यार्न प्रचण्डको कद बढाइदिन्थे त, सके घटाउनै लाग्छन् क्यार ।’ ‘जितजित’ को अवस्थामा ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आएपछि उनको उचाइ ह्वात्तै बढ्यो । पहिलो संविधानसभा निर्वाचनपछि ठूलो दलको नेताका रुपमा उनी प्रधानमन्त्री बनेपछि पार्टी जीवनबाहिर पनि राष्ट्रिय राजनीतिमा उनी प्रमुख नेताका रुपमा स्थापित बन्न पुगे ।
तर आरामदायी बहुमतको सरकारको नेतृत्वमा रहँदा आफैले गरेका केही गल्तीका कारण नौ महिनामै २०६६ वैशाख २१ गते प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो उनले ।
त्यसयता राष्ट्रिय राजनीतिमा खुकुलो हुँदै गएको उनको पकड पार्टी विभाजनसंगै भएको दोस्रो संविधानसभा निर्वाचनको परिणामयता निकै खस्केको छ ।
के अब दाहालले पुरानै शक्ति आर्जन गर्न सक्छन् ? एमाओवादी सांसद शर्माको बुझाईमा ‘प्रचण्ड’ व्यक्तिभन्दा पनि परिवर्तनको प्रतीक हुन् र विगतको त्याग र बलिदानले उनलाई ‘प्रचण्ड’ को रुपमा स्थापित गरेको हो । ‘यतिखेर उनी प्रचण्डबाट पुष्पकमल दाहालमा झर्नुमा र त्यसैमा कायम रहनुमा केके कमजोरी भए गम्भीर समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘फेरि त्याग र बलिदानका लागि तयार हुँदै प्रचण्ड बन्ने मार्गमा लाग्नुपर्छ ।’ युवा सांसदहरुको बुझाइमा दाहाल आफ्नो कुरा अत्यन्त राम्रो तरिकाले प्रस्तुत गर्न सक्छन्, विषयबस्तुको ज्ञान पनि छ । जोखिम मोल्न सक्छन् तर अति नै धेरै महत्वाकांक्षी छन् ।
‘महत्वाकांक्षा पूर्तिका लागि आफूले गरेका उपलब्धि जहासुकै जाओस् भन्ने दिशातिर हिडेको देखिन्छ, जुन गलत हो,’ कांग्रेस नेता भण्डारीले भने । राजनीतिक विश्लेषक झलक सुवेदीका अनुसार दाहाल पराजित सेनापतिको मनोदशामा छन् । ‘पराजयपछि एकथरी पलायनतिर लाग्छन् । अर्कोथरी शक्ति पुर्नगठनतिर ।
सफल नभए पनि दाहालको प्रयास शक्ति आर्जन गर्नेतिरै छ,’ उनले भने, ‘शान्ति प्रक्रियाको एउटा पक्षका रुपमा केन्दि्रय राजनीतिमा अहिलेसम्म उनको प्रभाव देखिए पनि आम जनतामा भने त्यो बिस्तार हुन सकेको छैन ।’ एमाओवादी सांसद शर्मा स्वयम् दाहालको पुनरागमन उनकै कार्यशैली र व्यवहारमा निर्भर गर्ने बताउँछन् ।
‘संविधानसभामा सिट संख्या कम भए पनि समानुपातिकतर्फ समावेशिता, अल्पसंख्यकको हित, पहिचान चाहने परिवर्तनकारी शक्तिको पक्षमा ५० प्रतिशतकै हाराहारीमा मत खसेको छ ।
उहाँले यो तप्काको नेतृत्व गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि पहिलेकै स्तरको त्याग र बलिदान आवश्यक छ ।’ विश्लेषक सुवेदी भने दाहालको भविश्य पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईसंगको सहकार्य कसरी जान्छ, त्यसमा भर पर्ने देख्छन् ।
भट्टराईको लोकपि्रयता र दाहालप्रतिको अविश्वास प्रचार गरिएझै नखस्किएको उनको बुझाइ छ । ‘बाबुरामसंगको सहकार्य रहे र दुवै संगै अघि बढ्न तयार भए पुनः शक्ति आर्जन गर्न सक्ने देखिन्छ,’ उनले भने, ‘किनकि, कांग्रेस-एमालेको दोस्रो पुस्तासम्म पनि उनलाई चुनौति दिने व्यक्तित्व देखा परेको छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।



