Published On:Monday, December 15, 2014
Posted by Unknown

सरकारी सेवा आजबाट १२ घण्टा

काठमाडौ । सरकारले बढी भीडभाड हुने वैदेशिक रोजगार, मालपोत, यातायात तथा महसुल बुझ्नेजस्ता कार्यालयहरू मंगलबारदेखि दुई सिफ्ट गरी १२ घन्टा सञ्चालन गरेर आमजनतालाई सेवा प्रदान गर्ने भएको छ ।

त्यस्ता निकायमा हुने ढिलासुस्ती नियन्त्रण गरी आमजनतालाई छिटोछरितो सेवा प्रवाह गर्न बढी भीडभाड हुने कार्यालयहरू साताको छ दिन बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहनेछन् ।

पूर्वसचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा सरकारले बढी भीडभाड हुने कार्यालयहरूलाई मंगलबारदेखि दैनिक दुई सिफ्ट सञ्चालन गरी आमजनतालाई सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पहिलो चरणमा पाँचवटा जिल्ला प्रशासन कार्यालयमा मात्र आमजनतालाई दैनिक १२ घन्टे सेवा प्रवाह गर्नेछ । पहिलो चरणमा बढी भीडभाड भइरहने गरेका मोरङ, काठमाडौं, रूपन्देही, बाँके र कैलाली जिल्ला प्रशासन कार्यालयले मात्र मंगलबारदेखि १२ घन्टा सेवा प्रवाह गर्ने जानकारी गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिए ।

अरू जिल्ला प्रशासन कार्यालयमा क्रमशः बाह्रघन्टे सेवा सुरु गरिने जानकारीसमेत उनले दिएका कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन्।

भूमिसुधार मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै मालपोत र नापी कार्यालय तथा काठमाडौं बाहिरका १२ जिल्लाका मालपोत र नापी कार्यालयमा मंगलबारदेखि आमजनतालाई बाह्र घन्टा सेवा प्रवाह गर्नेछ ।ती कार्यालयले बिहान ६ देखि बेलुका ६ बजेसम्म आमजनतालाई मालपोत बुझ्ने, जग्गा रजिस्ट्रेसन, नक्सा पास, लालपुर्जा वितरण र जग्गा खरिदबिक्रीको सेवा प्रवाह गर्नेछन् ।

मालपोत र नापी कार्यालय १२ घन्टा खुल्ने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, बाँके, बर्दिया, पाल्पा, कैलाली र जुम्ला छन् ।

सहरी विकास मन्त्रालयमातहतको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल० ले उपत्यकाभित्र रहेका आफ्ना १२ वटै शाखा कार्यालयका महसुल काउन्टर मंगलबारदेखि १२ घन्टा खोलेर सेवा प्रवाह गर्नेछ । उपत्यकाबासीले बिहान ६ देखि बेलुका ६ बजेसम्म खानेपानी महसुल बुझाउन पाउनेछन् ।


खानेपानी संस्थानले समेत आफ्ना २० वटै शाखा कार्यालयका महसुल काउन्टर मंगलबारदेखि १२ घन्टा खुला राख्नेछ । संस्थानबाट खानेपानी सेवा लिएका सेवाग्राहीले मंगलबारदेखि बिहान ६ देखि बेलुका ६ बजेसम्म खानेपानी महसुल बुझाउन पाउनेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका १६ वटै यातायात कार्यालयले मंगलबारदेखि नै १२ घन्टा सेवा प्रवाह गर्न थाल्नेछन् ।

आमजनताले बिहान ६ देखि बेलुका ६ बजेसम्म सवारी दर्ता, कर बुझाउने, लाइसेन्स लिने, नवीकरण गर्ने, रोड पर्मिटलिनेलगायतका सेवा पाउनेछन् । १२ घन्टा खुल्नेमा काठमाडौं उपत्यकाका तीन र कणरलीबाहेक १३ वटा अञ्चल यातायात कार्यालय छन् । कणरलीमा भने यातायात कार्यालय छैन ।

श्रम तथा रोजगार मन्त्रालयले आफ्ना चारवटै वैदेशिक रोजगार कार्यालयबाट मंगलबारदेखि १२ घन्टा सेवा प्रवाह गर्ने भएको छ । राजधानीमा तीनवटा देश साउदी, कतार, मलेसियाका लागि खोलिएका तीन कार्यालय र बाँकी मुलुक हर्ने काठमाडौं कार्यालयमा वैदेशिक रोजगारमा जान चाहनेहरूले श्रम स्वीकृतिलगायतका सेवा बिहान ६ देखि बेलुका ६ बजेसम्म लिन पाउनेछन् ।

सञ्चार मन्त्रालयले भने पहिलो चरणमा नेपाल टेलिकमका काठमाडौं र भक्तपुरका ६ वटा महसुल काउन्टरमा मात्र १२ घन्टा सेवा प्रवाह गर्ने भएको छ । फोनको महसुल बुझाउनेलगायतका काम बिहान ६ देखि बेलुका ६ बजेसम्म हुनेछ ।

टेलिकमका अरू महसुल काउन्टर भने पछि आवश्यकताअनुसार खोल्दै जानकारी जानकारी सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले दिए ।परराष्ट्र मन्त्रालयले राहदानी विभाग मंगलबारदेखि १२ घन्टा खोलेर सेवा प्रवाह गर्ने भएको छ ।

सेवाग्राहीले बिहान ६ देखि बेलुका ६ बजेसम्म राहदानीको आवेदन दिन र बनिसकेको भएमा बुझ्न पाउनेछन् । उद्योग मन्त्रालयमातहतको कम्पनी रजिस्टार कार्यालयले समेत मंगलबारदेखि नै १२ घन्टे सवा लागू गर्ने भएको छ ।महसुल बुझाउन सबभन्दा बढी ग्राहकको भीड हुने विद्युत् प्राधिकरणले भने १२ घन्टे सेवा तत्काल लागू नगर्ने भएको छ ।

कर्मचारी र साधनस्रोतको अभाव देखाई प्राधिकरणले तत्काल विद्युत् महसुल काउन्टरहरू १२ घन्टा खोल्न नसकिने जानकारी ऊर्जा मन्त्रालयलाई गराएको छ ।

0 comments for "सरकारी सेवा आजबाट १२ घण्टा"

Leave a reply

    Popular Posts

    Blog Archive