Published On:Friday, March 6, 2015
Posted by Unknown

युवती तस्करीमा प्रशासनको मिलेमतो


२३ फागुन, काठमाण्डौ- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले विवाहको नकावमा लाखौं रुपैयाँ उठाई युवतीलाई चीन र दक्षिण कोरिया पठाउने गिरोहलाई जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीको सहयोग रहेको जनाएको छ।  ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा भेटिएका केही शंकास्पद कागजातको अनुसन्धान भईरहेको छ। नागरिक दैनिकमा समाचार छ ।


'जिल्ला प्रशासन कार्यालयमा नेपाली युवती र विदेशी पुरुष (चिनियाँ र कोरियन)बीच कोर्ट म्यारिज भएको केही शंकास्पद कागजात भेटिएको छ,' केन्द्रिय अनुसन्धान व्युरोका निर्देशक डिआईजी हेमन्त मल्लले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए, 'धेरै शंकास्पद कागजात जफत गरि ल्याएका छौं, अनुसन्धान भइरहेको छ।'

विवाह गर्ने युवतीहरुले सोधपुछका क्रममा विवाह दर्तागर्दा १० हजार रुपैयाँसम्म दिएको बताएपछि ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयका यस्ता कागजात जफत गरिएको थियो। कागजातमा नेपाली युवती र चिनियाँ तथा कोरियन पुरुष बीच भएको कोट म्यारिजमा साक्षी बस्नेहरु प्राय एउटै व्यत्तिहरु देखिएको छ। त्यति मात्र होइन विवाह गर्ने युवती र पुरुषको उमेर ३० वर्षसम्म फरक परेको भेटिएको छ। नागरिकतामा भएको उमेर भन्दा बढाएर विवाह दर्ता गरिएको समेत भेटिएको छ।

'१७ वर्षे किशोरीको उमेर २२ वर्ष बनाइएको पाईएको छ। विवाह गर्ने नेपाली युवती र चिनियाँ तथा कोरियन पुरुषबीच २० देखि ३० वर्षसम्मको उमेर फरक देखिन्छ,' निर्देशक मल्लले भने।

नेपालबाट चीन र कोरियामा हुने मानव तस्करीको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नेपाली युवतीलाई चिनियाँ तथा कोरिएन पुरुषले १५ देखि २० लाख रुपैयाँसम्म खर्ची खरिद गर्ने गरेको जनाए। यस्ता युवती र पुरुषले कोर्ट म्यारिज (विवाह गर्ने)को दिनमात्र एकअर्कालाई देख्ने गर्छन् भने एकअर्काको भाषा नबुझ्ने हुँदा उनीहरुबीच कुनै कुराकानी हुँदैन।

'चिनियाँ तथा कोरियन पुरुषसँग विवाह गरेर बसेका धेरै नेपाली युवतीलाई आफ्नै पतिको नाम याद छैन। सोधपुछमा उनीहरुले २८ वर्षको भनि गिरोहले ४८ वर्षको पुरुषसँग विवाह समेत गराएको बताएका छन्,' निर्देशक मल्लले भने, 'यसरी चिनियाँ तथा कोरियन पुरुषसँग विवाह गर्ने नेपालीको युवतीको संख्या सयौं छ।'

निर्देशक मल्लले अहिलेसम्म यसरी विवाह गरी चीन पुगेर बलतल्ल भागेर नेपाल फर्कन सफल एक जना र विवाह गरी चीन र कोरिया जान ठिक्क परेका ५ गरी कूल ६ जना युवतीको उद्धार सिर्आबीले गरेको जनाए। अनुसन्धानका क्रममा फागुन १८ गते चुनदेवीस्थित छेरु इन्टरनेशनल म्यारिज ब्यूरो प्रा.ली. मा छापामारी गिरोहा सक्रिय तीन जनालाई पक्राउ गरिएको उनले बताए।

पत्राउ पर्नेमा छेरु इन्टरनेशनलकी संचालिका छेरु शेर्पा (पासाङ शेर्पा), विपिन नगरकोटी र कोरियन नागरिक पार्क हि चाङ रहेका छन्। निर्देशक मल्लका अनुसार विपिनले युवतीहरु खोज्न, पार्कले कोरियन पुरुष खोज्ने र छेरुले दवै थरीको भेट गराई विवाह गराउने गरेका छन्। चिनियाँ युवक नेपाल ल्याउने दलाललाई भने सिआईबीले पक्रन सकेको छैन।

0 comments for " युवती तस्करीमा प्रशासनको मिलेमतो"

Leave a reply

    Popular Posts

    Blog Archive