Published On:Monday, March 9, 2015
Posted by Unknown

बीउका लागि राखेको दुई पाथी गहुँले निम्त्यायाे काल

२६ फागुन ,धादिङ- धादिङ जिल्लाको पिडा गाविस ८ पुकुनका ६७ वर्षीय सन्तबहादुर स्याङ्तानले मुरी फलाउँछु भनेर बीउका लागि राखेको दुई पाथी गहुँले आफ्नै काल निम्त्याउँछ भन्ने कहिल्यै सोचेका थिएनन् होला। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
बीउका लागि भनेर विषादी मिसाएर राखिएको गहुँको रोटी खाँदा उनी मात्रै होइन, कलिला तीन बालबालिकासहित ६ जनाले ज्यान गुमाउनुपर्‍यो।
 
बीउका लागि भनेर राखेको गहुँमा कीरा नलागोस् भनेर औषधि मिसाएर राखिएको र बीउ छरेर बाँकी रहेको गहुँ पानीले पखाली रोटी बनाएर खाँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
ज्यान गुमाउनेहरूमा ६७ वर्षीय सन्तबहादुर, उनकी बुहारी २८ वर्षीया फूलमाया स्याङ्तान, नातिनी सात वर्षीया सविता स्याङ्तान र नातिहरू पाँच वर्षीय अर्जुन स्याङ्तान, रमेश स्याङ्तान र दुई वर्षीय अनिल स्याङ्तान छन्। विषादी मिसिएको रोटी खाँदा सन्तबहादुर परिवारका पाँचजना र घट्ट सञ्चालक परिवारका १० सहित १५ जना घाइते भएका छन्।
 
रोटी खाएकाहरू छट्पटिन र मुखबाट फिँज निकाल्न थालेपछि तत्काल उपचारका लागि लैजान गाउँलेहरू जुटेको स्थानीय शिक्षक किशोर अधिकारीले बताए। अधिकारीले टेलिफोन सम्पर्कमा भने, 'एउटै घरका सबैजना मुखबाट रगत निकाल्ने, फिँज काढ्ने र छट्पटिन थालेपछि तत्काल प्रहरीलाई खबर गरियो। नजिकै रहेको किरान्चोक कटुन्जे माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी मिलेर बिरामीहरूलाई अस्पताल पठायौं।'
 
गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई तत्कालै उद्धार गरेर अस्पताल पठाए पनि तीनजनाको भने ललितपुरस्थित मेधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अन्य तीनजनाको गाउँबाट प्राथमिक स्वास्थ्यकेन्द्र गजुरीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
 
जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले भने, 'सन्तबहादुरले गहुँ पिस्न नजिकैको घट्टमा लगेका रहेछन् र ज्यालास्वरूप घट्ट सञ्चालकलाई गहुँको पिठो नै छोडेर आएका रहेछन्। त्यही पिठोको रोटी खाएर घट्ट सञ्चालक तिलकबहादुर तामाङको परिवार नै बिरामी परेको छ।

0 comments for "बीउका लागि राखेको दुई पाथी गहुँले निम्त्यायाे काल"

Leave a reply

    Popular Posts

    Blog Archive