Published On:Friday, March 6, 2015
Posted by Unknown
पूर्वराजाको सहमतिबारे नेताहरू मौन
२३ फागुन, काठमाण्डौ- पूर्वराजा ज्ञानेन्द्र शाहले दाबी गरेअनुसार दलहरूसँग भएको उनको सहमतिबारे जानकारी दिन नेकपा मालेका अध्यक्ष सीपी मैनालीले प्रमुख दलका शीर्ष नेताहरूसँग आग्रह गरे पनि यसबारे कसैले एकै शब्द बोलेनन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले शुक्रबार राति शीर्षनेताहरूलाई दिएको रात्रिभोजमा मैनालीले राखेको प्रश्नबारे सबै शीर्ष नेताहरू मौन रहेको स्रोतले जानकारी दियो।
'मैनालीले नेताहरूकै माझ पूर्वराजा ज्ञानेन्द्रसँग भएको दलहरूको सहमति के हो भनी प्रश्न गर्नुभयो, तर कसैले यसबारे एकै शब्द बोलेनन्', स्रोतले भन्यो।
'पूर्वराजासँग कुनै सहमति भएको छैन' भन्दै आएका पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधव नेपालले पनि मैनालीको आग्रहमा कुनै जबाफ दिएनन्।
रात्रिभोज सुरु गर्नुअघि पूर्वप्रधानमन्त्री थापाले एक वर्षमा संविधान बनाउने प्रतिबद्धताबाट दलहरू चुकेको र जनताको विश्वास गुमाइसकेको उल्लेख गर्दै जेठ १५ गते संविधान जारी गरेर गुमेको विश्वास फिर्ता गर्न शीर्ष नेतृत्वलाई आग्रह गरेका थिए।
रात्रिभोजमा सहभागी तमलोपा अध्यक्ष महन्थ ठाकुरका अनुसार पूर्वप्रधानमन्त्री थापाको आग्रहपछि प्रधानमन्त्रीले जबाफ दिँदै यो राम्रो प्रस्ताव भएको उल्लेख गरेका थिए। 'सबैको सहमतिमै संविधान बनाउँछौं', प्रधानमन्त्रीको प्रतिबद्धतालाई उद्धृत गर्दै ठाकुरले भने।
थापा निवास मालीगाउँमा भएको रात्रिभोजमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, सद्भावना अध्यक्ष राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरू नेपाल, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवासमेत सहभागी थिए।



