Published On:Friday, May 8, 2015
Posted by dadad
योजना सम्झौता नगरेको भन्दै ३ दिन देखि जिविस सोलुमा तालाबन्दी
शिखरजंग श्रेष्ठ,
२५ वैशाख, सोलुखुम्बु । प्रक्रिया पुगेर आएको सोलुखुम्बुको दक्षिणी क्षेत्र सल्यान–नेचा कृषि सडक योजनाको सम्झौता नगरेको भन्दै जिविस सोलुखुम्बुमा उपभोक्ताहरुले लगाएको तालावन्दी तेस्रो दिन पनि जारी छ ।
उपभोक्ताहरुले ३ वटा जिल्ला परिषदले निणर्य गरेको र नियमानुसार गठित उपभोक्ता समितिसँग जिल्ला विकास समितिले सम्झौता गर्न नमानेपछि तालाबन्दी गर्न बाध्य बनेको बताएका छन् ।
तालाबन्दीसँगै जिविसमा धर्नामा बसेको सल्यान र नेचा बतासेका उपभोक्ताहरुले नियमानुसार सम्झौताका लागी स्थानीय विकास अधिकारी महेश पराजुलीले विभिन्न बाहाना गरेपछि दबाब दिन तालाबन्दी गरेको उपभोक्ता समितिका अध्यक्ष रामेश्वर कार्कीले जानकारी दिए ।
यता, सोलुखुम्बुका क्रियाशिल ९ वटै राजनैतिकदलहरुले उपभोक्ता समितिको माग र तालाबन्दिमा समर्थन गरेका छन् । हिजो संयुक्त प्रेश विज्ञप्ति प्रकाशन गर्दै उनीहरुले स्थानीय स्वायत्त शासन ऐन २०५५, नियमावली २०५६ र स्थानीय निकाय सञ्चालन कार्यविधी २०६७ अनुसार जिल्ला परिषदले गरेका निर्णय अनुरुप सम्झौता र कार्यान्वयन गर्न माग गरेका छन् ।
साथै उनीहरुले गलत बाटोबाट हुने कार्यान्वयनका प्रयास आफुहरुका लागि स्विकार्य नहुने र त्यसो गरिए जस्तो सुकै विकल्पको प्रयोग गर्ने समेत चेतावनी दिएका छन् । तर आन्दोलनकारीके माग पुरा गरि ताला खुलाउन स्थानीय प्रशासनवाट कुनैपनि सार्थक कदम चालिएको छैन् ।



