Published On:Friday, May 15, 2015
Posted by dadad
अनुगमन तथा निर्देशन समितिको टोली गोरखाको स्थलगत निरिक्षणमा
गोरखा, २ जेठ । चार जना सभासद सहितको अनुगमन तथा निर्देशन समितिको टोली गोरखाको स्थलगत निरीक्षणमा यहाँ आईपुगेको छ । टोलीले जिल्लामा भएका कामको बारेमा जानकारी लिएर अहिले बारपाकका लागि प्रस्थान गरेको छ ।
जिल्ला स्थित दैवि प्रकोप समितिले कामका लागि खाद्यन्न कार्यक्रम, अस्थायी टहरा, भूगर्ववीद, एक गाविस एक इन्जिनियर, सार्वजनिक खरिद ऐन परिमार्जन, अस्पताल लगायतका विषयगत कार्यलयमा भएका रिक्त दरबन्दी परिपुर्ती, पिडितलाई क्षमता विकास तालिम, अनाथ, असहाय, अपाङ्गहरुको एकीकृत व्यवस्थापन, विद्यालय सञ्चालन, जस्तापाता वितरणमा एकद्वार प्रणाली, कृषि तथा पशुपालनमा जोड दिनुपर्ने लगायतका माग राखेको छ ।
तत्काल एक महिना भित्र सबैको पुर्नस्थापना गर्न र खतरा रहेका क्षेत्रबाट बस्ती हटाउन सुझाव दिएको छ ।
संसदीय टोलीमा नेपाल परिवार दलका एकनाथ ढकाल, नेकपा एमालेका युवाराज ज्ञवाली, एकीकृत नेकपा (माओवादी)का कृष्ण बहादुर महरा, नेपाली काँग्रेसका भरत शाह सहभागि थिए ।
कार्यक्रमका एकीकृत नेकपा माओवादीका सुसिला सिंखडा, नेकपा एमालेका विशेश्वर कट्टेल, नेपाली काँग्रेसका हरि बहादुर घले, नेकपा –माओवादीका परशुराम रम्तेल, संघीय समाजबादी पार्टीका नारायण रेग्मी, राप्रपा नेपालका शंकर अधिकारी, नेपाल परिवार दलका कृष्ण गोपाल बञ्जरा, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, जिल्ला शिक्षा अधिकारी हरी अर्याल, जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रतिनिधि नबराज खड्का लगायतले भईरहेका कामका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सभासद कृष्ण बहादुर महराले क्षतीको वर्गिकरण गरेर तत्काल राहत उपलब्ध गराउन, अस्थायी आवास निर्माणका लागि आफूहरुले सरकारलाई सुझाव दिने बताए । एकतामा बल हुने बताउँदै यहीँबाट एकताबद्ध भएर काम गर्न उनले आग्रह गरे । विश्वास र एकताको तागतलाई बढाउनुपर्ने नेता महराको जोड थियो ।
अर्का सभासद एकनाथ ढकालले नेपाल सरकारले निर्देशन दिए अनुसारका कार्यक्रम भए नभएको बारेमा जानकारी लिन आफूहरु आएको बताउँदै राष्ट्रिय एकताको खाँचो रहेकाले एक भएर काम गर्न आग्रह गरे । विपत्तिका विरुद्ध सबै एक भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।
सभासद युवाराज ज्ञवालीले यतिबेला सबैले मिलेर काम गर्नुपर्ने बताए । सभासद शाहले विपत्तिमा सबै एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी अधिकांशले सरकारले तत्काल उद्धार तथा राहतमा कन्जुस्याईँ गरेको भन्दै विरोध गरेका थिए । नेपाली काँग्रेसका जिल्ला सभापति हरी बहादुर घललेले देशमा सरकार भए जस्तो नलागेको बताए ।



