Published On:Friday, May 8, 2015
Posted by dadad
‘पत्रकारलाई पारिश्रमिक, राहत भत्ता र विपद बिदा उपलब्ध गराउन माग’
काठमाडौं, बैशाख २५ । नेपाल प्रेस युनियन काठमाडौं शाखाले महाभूकम्पपछिको अवस्थामा पनि अहोरात्र सूचना संप्रेषणमा खटिएका पत्रकार र सञ्चारकर्मीहरुलाई बक्यौता पारिश्रमिक र राहत भत्ता उपलब्ध गराउन माग गरेको छ ।
युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै महाभूकम्पका कारण आफन्त गुमाएका वा बसोबासस्थलमा क्षति व्यहोरेका पत्रकारलाई नियमित बिदामा कट्टा नहुनेगरी घरबिदा उपलब्ध गराउन समेत सञ्चार प्रतिष्ठानहरुसंग माग गरेको छ ।
‘अनेक समस्या र नियमित पारिश्रमिक नपाएको अवस्थामा पनि राष्ट्रिय विपदपछिको अवस्थामा आ–आफ्नो सञ्चारमाध्यममा क्रियाशील सबै पत्रकार एवं सञ्चारकर्मीहरुलाई यथाशीघ्र बक्यौता पारिश्रमिक र राहत भत्ता उपलब्ध गराउन प्रेस युनियन काठमाडौं शाखा सबै सञ्चार प्रतिष्ठानहरुसंग आग्रह गर्न चाहन्छ ।
साथै आफन्त गुमाएका तथा बसोबास स्थलमा क्षति व्यहोरेका पत्रकार एवं सञ्चारकर्मीलाई नियमित बिदाबाट कट्टा नहुने गरी घरबिदा उपलब्ध गराउन समेत माग गर्दछौं ।’,अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
युनियन काठमाडौं शाखाले महाभूकम्पका कारण प्रभावित बनेका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुका सन्दर्भमा विशेष व्यवस्था गर्न समेत सरकार र सरोकारवालहरुसंग माग गरेको छ । साथै महाभूकम्पमा परी पिडित भएका पत्रकारहरुलाई विवरण उपलब्ध गराउनसमेत युनियनले आग्रह गरेको छ ।
महाभूकम्पबाट भएको जनधनप्रति दुःख व्यक्त गर्दै प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले विज्ञप्तीमार्फत विपदको अवस्थामा नेपाली सञ्चारमाध्यम र पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।



