Published On:Saturday, May 9, 2015
Posted by dadad

नेपाल रेडक्रस सोसाइटीको सहयोग जारी

काठमाडौँ, २६ वैशाख । गत वैशाख १२ गते शनिबार मध्याह्नको विनाशकारी भूकम्पमा परेकाको खोजी तथा उद्धार जारी नै रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । 

भौगोलिक विकटता र प्रतिकूल मौसमले केही जिल्लाका केही स्थानमा अहिले पनि थप खोजी तथा उद्धार जारी नै रहेको सोसाइटीका अध्यक्ष सञ्जीव थापाले आज राससलाई जानकारी दिनुभयो । 

“सोसाइटीबाट तालिमप्राप्त राष्ट्रिय विपद् प्रतिकार्य टोलीका स्वयम्सेवक बढी क्षति पुगेका सबै जिल्लाका स्थानमा पुगी खोज तथा उद्धार गरिसकेका छन्, केही जिल्लामा थप खोज तथा उद्धार जारी छ”– उहाँले भन्नुभयो । 

खासगरी धादिङ रसुवा, सिन्धुपाञ्चोक तथा गोरखाका हिमाली भेगमा निरन्तर रुपमा खोज तथा उद्धार जारी नै रहेको छ । हिमाली भेगमा हिमपहिरो एवम् वर्षात् हुने र रोकिने क्रम जारी नै रहेकाले थप खोज तथा उद्धारमा अप्ठ्यारो परिरहेको बताइन्छ । 

“हामीले खोज तथा उद्धारलाई हिमाली क्षेत्रमा केन्द्रित गरेका छौँ, ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसितको समन्वयमा दक्ष स्वयम्सेवक परिचालन गरिरहेका छौँ”, थापाले भन्नुभयो । 

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित सिन्धुपाल्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुरलगायत जिल्लामा सोसाइटीका १० हजारभन्दा बढी स्वयम्सेवक खोज तथा उद्धारमा खटिरहेका छन् । साथै उनीहरुले राहत वितरणका सहयोगी भूमिका निर्वाहसमेत गरिरहेका छन् । 

सोसाइटीको प्रारम्भिक अनुमानमा भूकम्पबाट ५१ जिल्लाका एक हजार ३५ गाविस र ६० नगरपालिका बढी प्रभावित भएका छन् । हालसम्म भूकम्पबाट मर्नेको सङ्ख्या सात हजार ९१२, घाइते १७ हजार ८७१ भएका र करिब तीन लाख घर भत्केका छन् । 

रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घले अहिले नेपाल रेडक्रस सोसाइटीमार्फत भूकम्पपीडितको खोज, उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेका छन् । साथै ती अन्तर्राष्ट्रिय संस्थाले थप राहत तथा पुनःनिर्माणका लागि सहयोग जुटाउन आह्वान गरेका छन् । 

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुख कार्यसम्पादक मार्टिन फलरले भूकम्पपीडितका लागि प्राथमिक उपचार, अस्थायी बसोवास, खाद्यन्न सामग्री, खानेपानी, सरसफाइ, अस्थायी शौचालयमा सहयोग भइराखेको र आगामी दिनमा पुनःनिर्माणका लागि सहयोग गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल रेडक्रस सोसाइटीसित भएका सीमित स्रोतसाधनले अहिले जनतामा माग र आवश्यकता पूरा गर्न सक्ने अवस्था नरहेकाले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसित आह्वान गरेका हाँै ।” 

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख डार्गना कोजीइले विपत्तिका समयमा पारिवारिक सम्पर्क पुनःस्थापनाका लागि सहयोग भइरहेको र अगामी दिनमा पुनःनिर्माणका क्षेत्रमा सहयोग पु¥याउने जानकारी दिनुहुन्छ । 

उहाँ भन्नुहन्छ– “मानवीय सेवाका लागि हामीले अन्तर्राष्ट्रिय समुदायसित थप सहयोगका लागि आह्वान गरेका छौँ, अब सुरक्षित बसोवास निर्माणका लागि हातेमालोको जरुरी रहेको छ ।” 

विनाशकारी भूकम्पबाट घरवारविहीनका लागि वितरण गर्न सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत मगाएको एक लाख त्रिपाल र पाल नेपाल आइपुग्न सुरु भएको सोसाइटीले जनाएको छ । 

अध्यक्ष थापाले अहिले भूकम्पबाट प्रभावितका लागि खोजी तथा उद्धारका साथ बस्नका लागि अस्थायी पाल नै रहेको छ, यसलाई प्राथमिता दिएका छौँ भन्नुभयो । सोसाइटीले मात्र हालसम्म २५ हजार पाल आफ्ना जिल्ला शाखामार्फत वितरण गरिसकेको छ । 

जिल्लामा खटिएका ६० भन्दा बढी प्राथमिक उपचार टोलीबाट १५ हजारभन्दा बढीलाई तत्काल प्राथमिक उपचार सेवा दिएको, १५ हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री १२ हजार ७०० कम्बल थान वितरण सोसाइटीले गरिसकेको छ । 

अहिले सोसाइटीमार्फत विश्वका ५० भन्दा बढी देशका २५० जनाले रेडक्रसका अभियन्ताले भूकम्प प्रभावितलाई खोज उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेका छन् । सोसाइटीले प्रभावित जिल्लामा सरसफाइ गतिविधि तीव्र पारेको जनाएको छ । 

स्वास्थ्य शिक्षासहित साबुन पानीले हात धुने, पानी शुद्धीकरण चक्की, जीवनजल वितरण र अस्थायी शौचालयको निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

शव व्यवस्थापनका लागि एक हजार बाकस अस्पतालमा पठाइएको र मनोसामाजिक सहयोग गतिविधि तथा कारागारमा पारिवारिक सम्पर्क पुनःस्थापनाको सन्देश सङ्कलन गरिएको छ । अध्यक्ष थापाले राहत सामग्रीअन्तर्गत खाद्यान्न प्रभावित जिल्लामा पठाउने काम जारी नै रहेको जानकारी दिनुभयो । रासस, 

0 comments for "नेपाल रेडक्रस सोसाइटीको सहयोग जारी"

Leave a reply

    Popular Posts

    Blog Archive