Published On:Monday, March 2, 2015
Posted by my storry
दोस्रो र तेस्रो चरणको आन्दोलन गर्नु नपरोस् : भट्टराई
सचिवालयको समाचार जस्ताको तस्तै,नेता भट्टराई राजनीतिक भेटघाटमा पनि व्यस्त
दिल्ली, १८ फागुन ।
भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सहमतिबाटै विगतका सहमति–सम्झौता अनुसारको संविधान निर्माणका लागि दबाब सिर्जना गर्न गरिएको पहिलो चरणको आन्दोलन पूरा भएको उल्लेख गर्दै दोस्रो र तेस्रो चरणको आन्दोलन गर्न नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ । ‘
सोसाइटी फर पोलिसी स्टडिज’ र ‘इण्डिया इन्टरनेशनल सेन्टर’को आयोजनामा नयाँ दिल्लीको इण्डिया इन्टरनेशनल सेन्टरमा भएको नेपालको विकास र तत्कालीन विकसित राजनीतिबारेको छलफल कार्यक्रममा नेता भट्टराईले भन्नुभयो – ‘पहिलो चरणको आन्दोलन सम्पन्न भयो । दोस्रो र तेस्रो चरणको आन्दोलन गर्नु नपरोस् भन्ने चाहना हो ।’
‘यतिबेला नेपालमा क्रान्तिको जनादेश र चुनावको मतादेशको अन्तरविरोध छ । तर चुनावको मतादेशभन्दा क्रान्तिको जनादेश मुख्य हो’, उहाँले भन्नुभयो – ‘क्रान्तिका मुद्दाहरुलाई संस्थागत गर्ने कुरा मुख्य हो । संविधानसभा त्यसलाई वैधानिकीकरण गर्नका लागि हो । संविधानसभाले क्रान्तिका उपलब्धीलाई खारेज गर्न सक्दैन ।’ एमाओवादी लगायतका दललाई पाखा लगाएर एमाले–कांग्रेसले भनेजस्तो संविधान बन्यो र पहिचानमा आधारित संघीयता भएन भने अतिवादी शक्तिहरुले द्वन्द्व भड्काउने खतरा रहने उहाँको जिकिर थियो । संविधानसभामा एमालेको भूमिकाप्रति टिप्पणि गर्दै उहाँले भन्नुभयो – ‘नक्सलवादी आन्दोलनको हाँगो एमाले थियो । यो आज पूरै पतन भइसकेको छ ।’
नेपालमा संघीयताको बहसमा संघीयताका विरोधीहरुले भ्रम सिर्जना गरेको उहाँले बताउनुभयो । ‘हामीले जातीय, ऐतिहासिक, भाषिक र साँस्कृतिक पहिचान सहितको समूह, जसलाई राष्ट्रियता भनिन्छ, उनीहरुको लागि स्वायत्त प्रदेश भनेका हौं । यसो गर्दा नौ वटा राष्ट्रियताले अवसर पाउँछन् । सूदुरपश्चिममा खस–ब्राह्मणहरुको पनि आफ्नै प्रदेश हुनसक्छ’, उहाँले भन्नुभयो – ‘हामीले सयवटै जातिलाई प्रदेश भनेको होइन, जुन सम्भव छैन । यो दुष्प्रचार हो ।’
संघीयता माओवादी आन्दोलन, मधेश आन्दोलन र जनजाति आन्दोलनको उपलब्धी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘तर संघीयताबारे मधेशी र जनजाति समुदायको आकांक्षा पूरा नभए त्यो एकप्रकारको विश्वासघात हुन पुग्छ । हामी त्यस्तो विश्वासघात गर्न सक्दैनौं ।’ समानुपातिक निर्वाचन प्रणाली समावेशीताका लागि र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली स्थिरताका लागि चाहिएको उहाँले बताउनुभयो । सधैं सत्ताका लागि दिल्लीमा आशिर्वाद थाप्न आउनेहरुले माओवादीलाई भारतबाट सञ्चालित भनेर आरोप लगाएको पनि नेता भट्टराईको भनाइ थियो ।
नेता भट्टराई राजनीतिक भेटघाटमा पनि व्यस्त
यसैबीच दिल्लीमा नेता भट्टराईको केही राजनीतिक भेटवार्ता समेत भएको छ । नेता भट्टराईले आज भारतीय जनता पार्टीका महासचिव राम माधव, भारतीय पूर्व विदेश मन्त्री सलमान खुर्सिद र भारतीय कांग्रेस पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिग्विजय सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।


