Published On:Monday, March 2, 2015
Posted by Unknown

पृथ्वी नघुम्ने धर्मगुरुको दाबी, ‘हावामै उफ्रिंदा चीन पुगिन्थ्यो -


पृथ्वी आफ्नो अक्षमा मात्र होइन सूर्यको वरीपरीको कक्षमा समेत घुमिरहन्छ । पृथ्वीले आफ्नो अक्षमा २४ घण्टामा एक फन्को लगाउने भएकै कारण पृथ्वीमा दिन-रात हुन्छ । यसलाई सदियौँ अघि नै वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । तर एकजना मुस्लिम धर्मगुरुले भने पृथ्वी सूर्यको वरीपरी तथा आफ्नो कक्षमा समेत घुम्छ भन्ने कुरा गलत रहेको र पृथ्वी स्थीर रहेको दाबीगरेका छन् ।
संयुक्त अरब इमिरेट्सका विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रवचन दिँदै साउदी धर्मगुरु शेख बन्दर अल खैबारीले पृथ्वी स्थिर रहेको दाबी गरेका हुन् ।
पृथ्वी किन घुम्दैन र यो किन स्थिर छ ? भन्ने कुरालाई प्रमाणित गर्ने प्रयासमा उनले हातमा पानी भरिएको कप लिएर विद्यार्थीहरुलाई दृष्टान्त दिइरहेको भिडियो अहिले खुबै चर्चित तथा आलोचित बनिरहेको छ ।
पृथ्वी स्थिर छ भन्ने जिकिर गर्दै अल खैबारीले भनेका छन्, ‘ल यदि तपाइँ पृथ्वी घुम्दछ भनेर भन्नुहुन्छ भने मानौँ जब हामी शारजहा विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्छौँ तब विमान केवल आकाशमा अडिएकै भरमा कुनै दुरी पार नै नगरी आफै चीन सम्म पुग्नुपर्ने हो, होइन ?’
यदि पृथ्वी जहाजको विपरित दिशामा घुमिरहने भए शारजहाबाट उडेको जहाज कहिल्यैपनि चीन पुग्न नसक्नुपर्ने हो भन्ने उनको तर्क छ ।
झ्वाट्ट सुन्दा उनको तर्क ठीकै पो हो की भन्ने पनि लाग्नसक्छ । यदि पृथ्वी आफ्नो कक्षमा घुमिरहने भए आकाशमा उडेको जहाज एकै ठाउँमा अडिइरहेपनि केहीबेरअघि पृथ्वीको एक ठाउँ माथिको आकाशमा र केहीबेरपछि अर्को ठाउँ माथिको आकाशमा हुनुपर्ने हो । पृथ्वी पो घुम्छ, आकाश त घुम्दैन । त्यसैले आकाशमा रहेको जहाज आफैले तेर्सो उडेर दूरी पार गरिरहनु किन पर्यो ? पृथ्वी आफै घुम्ने भएपछि । पृथ्वी नघुम्ने भएकैले आकाशमा उडेको जहाजले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि आफैले उडेर दूरी पार गर्नुपर्ने तर्क उनले गरेका छन् ।
तर हातमा पानीको गिलास राखेर पृथ्वी आफ्नो कक्ष तथा अक्षमा घुम्छ भन्ने वैज्ञानिक सत्यलाई चुनौति दिने उनको धृष्टतालाई धेरैले सामाजिक संजालमा खिल्ली उडाएका छन् ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीको सतहमाथिको वायुमण्डलीय आकाश पनि घश्रणकै कारण पृथ्वीसँगै घुम्दछ । त्यसैले वायुमण्डलमा उडिरहेको वस्तु पनि पृथ्वीको गतिसँगै सतहमा रहेको वस्तु झैँ पृथ्वीसँगै घुमिरहेको हुन्छ ।
स्मरण रहोस् अल खैबारीले यसअघि पनि खगोल विज्ञानका सम्बन्धमा विभिन्न खाले अनौठो तथा उटपट्याङ कुरा गर्ने गरेका थिए । मानिसले अहिलेसम्म चन्द्रमाको सतहमा नटेकेको र नासाको एपोलो-११ मार्फत निल आर्मस्ट्रंग लगायतका अन्तरीक्षयात्री चन्द्रमाको सतहमा पुगेको कुरा असत्य रहेको तथा त्यो हलिउडको नक्कली दृश्य रहेको उनले एकताका दाबी गरेका थिए । 

0 comments for "पृथ्वी नघुम्ने धर्मगुरुको दाबी, ‘हावामै उफ्रिंदा चीन पुगिन्थ्यो - "

Leave a reply

    Popular Posts

    Blog Archive