Published On:Monday, March 9, 2015
Posted by Unknown

छोराछोरी अचेत भए,श्रीमान् पनि भुइँमा पल्टिनुभो


२६ फागुन ,धादिङ- गर्भवती २८ वर्षीया सम्झना तामाङले सोमबार बिहान घट्टमा पिसेर ल्याएको पिठोको रोटी खाजाका रूपमा तीन छोराछोरी (सात वर्षीया सुमित्रा, साढे दुई वर्षीया सानुकान्छी र पाँच वर्षीय अर्जुन), श्रीमान् टेकबहादुर, ससुरा सन्तबाहदुर र सासू फूलमतीलाई दहीसँग खान दिइएकी थिइन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
घाँस काट्न जान भनेर बोलाउन आएकी देउरानी फूलमाया र उनका पाँच वर्षीय छोरालाई पनि 'पछि भोक लाग्ला, रोटी खाएर सँगै बनतिर जाउँला' भन्दै घरमा डाकिन् र आफ्नो परिवारलाई मात्र बनाएको रोटी बाँडेर सबैलाई खुवाइन्, आफू पनि खाइन्।
 
रोटी खाएको केही मिनेटमै उनका छोराछोरी एकपछि अर्को गर्दै बान्ता गर्न थाले। 'रोटी खाएपछि हामी सबैलाई रिँगटा लाग्न थाल्यो। सबैजना बान्ता गर्न थाले। छोराछोरी अचेत भए। श्रीमान् पनि भुइँमा पल्टिनुभो।
 
देउरानी र भतिजा पनि छट्पटाइरहेका थिए', सम्झनाले भनिन्, 'सासू र ससुरा आत्तिएर छिमेकीलाई बोलाउन थाल्नुभो।' त्यसपछि उनी पनि अचेत भइन्। छिमेकीले सबैलाई एकपछि अर्को गर्दै बोकेर हिँड्न थाले।
 
'साढे दुई घन्टाको पैदलपछि लाम्जीमा आइपुग्दा सम्झनाका ससुरा, देउरानी र उनका छोराको मृत्यु भइसकेको थियो', सम्झनालाई उपचारका लागि काठमाडौं ल्याएका छिमेकी गणेशमान तामाङले भने, 'सम्झनाका तीन छोराछोरीलाई पनि बचाउन सकिएन।
 
सम्झनाका तीन छोराछोरीमध्ये एकजनाको बाटोमा र दुईजनाको ललितपुरका मेधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। अस्पतालका निर्देशक राम पाण्डेले भने, 'ती बालबालिका सिकिस्त अवस्थामा थिए, हामीले बचाउन सकेनौं।'
 
बल्खुस्थित शिवज्योति अस्पतालमा सासू फूलमतीसँगै उपचारका लागि भर्ना भएकी सम्झनाको अवस्था पनि गम्भीर रहेको अस्पतालका मेडिकल इन्चार्ज डा. पुरुषोत्तम सिग्देलले बताए।
 
'निकै ढिलो गरी उहाँहरूलाई अस्पताल ल्याइएको थियो। हामीले उपचार सुरु गरिसकेका छौं', सिग्देलले भने, 'अहिलेसम्म सम्झना र बच्चाको अवस्था राम्रै छ।'
 
सम्झनाले बनाएको रोटी खाएका छिमेकी सच्चेबहादुर तामाङका १५ वर्षीया छोरी लक्ष्मी र आठ वर्षीय छोरा बुद्धसिंहको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। सिकिस्त भएपछि सम्झनाका श्रीमान् टेकबहादुरलाई काठमाडौंको मनमोहन मेमोरियल टिचिङ अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
 
'सबैजना बाटोमा गए भन्छन्, कसरी सह्‍यो पीडा', 'उनले भनिन्, 'छोराछोरी अर्को अस्पतालमा छन् भन्छन् आफन्त। श्रीमान् पनि कता हुनुहुन्छ, थाहा छैन।' उनले भनिन्, मैले त राम्रै होला भनेर रोटी पकाएर सबैलाई खुवाएकी थिएँ तर आज यस्तो नियति भोग्नुपर्‍यो।'
 
उनले रोटी नपुगेपछि आफूले आधामात्र खाएको बताइन्। 'ससुराले विषादी मोलेको गहुँ नपिस है भन्नुभएको थियो। घरमा खाने खर्च सकिएको बेला के नराम्रो गर्ला र भन्दै श्रीमान्लाई पिस्न पठाँएकी थिएँ', उनले रुँदै भनिन्, 'मैले सोचेकी पनि थिइनँ यस्तो अवस्था आउला भनेर।'
 
पिडा ७ का घट्टधनी तिलकबहादुर तामाङकी २३ वर्षीया बुहारी विमलाका अनुसार ज्यालाका रूपमा राखिएको उक्त पिठोको रोटी खाँदा उनका परिवारका १० जना बिरामी परेका छन्।
 
उनीहरू सबैको मनमोहन मेमोरियल टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 'ससुराको घरमा बिहान रोटी पकाइएको थियो, 'उनले भनिन् उक्त रोटी खाँदा सबैजना बिरामी परेका छन्।'
 
रोटी खाँदा विमलाका ससुरा तिलकसहित, सासू मुगामाया, उनका तीन वर्षीय छोरा राजु, १० महिने छोरी रमिला, दिदीकी छोरी सुनमायाँ, कान्छी नन्द साँगामाया, ठूली नन्द बुद्धलक्ष्मी, देवर पूर्ण, ससुराका दाइ विश्वबहादुर र छिमेकी ठूलीमाया बिरामी परेका छन्।

0 comments for "छोराछोरी अचेत भए,श्रीमान् पनि भुइँमा पल्टिनुभो"

Leave a reply

    Popular Posts

    Blog Archive