Published On:Sunday, March 8, 2015
Posted by Unknown
वेश्याहरु......!
शिव प्रकाश
पैसाका लागि शरीर बेच्नेलाई वेश्या भनिन्छ। तर, धेरैथोकका लागि सबैथोक बेच्नेलाई के भनिन्छ ?
अववाद छोडेर शरीर बेच्नेले अभाव टार्न, शरीर मात्र बेच्छ। आत्म बेच्नेले इमान बेच्छ। धर्म बेच्छ। नैतिकता बेच्छ। नियम बेच्छ। नीति बेच्छ। निष्ठा बेच्छ। कानुन बेच्छ। न्याय बेच्छ। आदर्श बेच्छ। आस्था बेच्छ। स्वाभिमान बेच्छ। स्वाधिनता बेच्छ। स्वावलम्बन बेच्छ। सम्पूर्ण मानवता बेच्छ। असल निखारेर खराबले भर्छ।
आत्म बेचेपछि मान्छेसँग के बाँकी रहन्छ ?
देह अर्थात शरीरभन्दा हजारौं गुना बढी छन् आत्मबिक्रेताहरु। देहव्यापार ठूलो की आत्मव्यापार ? देहविक्रय अपराध हो भने आत्मविक्रय के हो ?
आत्मविक्रय बजारको सबैभन्दा ठूलो हिस्सा भने राजनीतिले ओगटेको छ। फेरि तीनै बिचराहरु आत्मनिर्णयको कुरा गर्छन् ? बेचिएको आत्मले कसरी गर्छन् आत्मनिर्णय ?
काठमाण्डौका गल्ली र गाउँका झुप्रामा देहको मोलतोल दुईचारसयमा हुँदो हो। तर, आत्मको मोतलोल लाखौं, करोडौ र अरबौंमा भइरहेछ। राजधानीका ठूल्ठूला महलमा आत्म बिक्रीका डरलग्दा पसलहरु छन्। जहाँ देशी–विदेशी ग्राहकहरुको भीड सधैं लागेको हुन्छ।
न्याय, प्रहरी, प्रशासनभित्र पनि यो व्यापार उर्लदो छ। अपवाद बाहेक आत्मविक्रय नित्यकर्म–सनतान धर्म भएको छ। बजारको हिस्सेदारमा थोरैलाई छोडेर धेरै वकिल, डाक्टर, सामाजसेवी, कवि, लेखक, पत्रकार पनि छन्।
पुरानै हो, सस्तोमा किनेर मँहगोमा बेच्ने चलन। फौबञ्जारहरु झन् मौलाएको छन्।
सरकारी, अर्धसरकारी कार्यालयमा हजारौं आत्माहरु आदर्शको साइनबोर्ड मुनी दोकान थापेर बसेका छन्। हजारौं कुर्सी–टेबुलमाथि लाखौं आत्महरु बिक्रीका लागि सिँगारिएर थुप्रिएका छन्। अकाल मृत्युका कारण मोक्षको खोजीमा भौंतारिएका अमोक्ष भूतात्मा जस्तै क्रेताको खोजीमा पनि भौंतारिएका छन् कति आत्महरु !
अचम्म छ– भ्रष्टाचार, दुराचार, अनाचारको बजारमा बारम्बार बिकेका आत्महरुको व्यक्तित्व समाजमा चाँदी जस्तै टल्किएको छ। राज्यको मानमर्यादा, सेवासुविधा तिनै विक्रयशील महान् आत्महरुको भावभक्ति, पूजाअर्चना, चाकरसेवामा समर्पित छ। राज्य दुःखी छ, राज्यको छाती टेकेर हाँसेका आत्महरु सुखी छन्। खुसी छन्।
उल्टी गंगा सधैं बहेको छ समाजमा ! आत्मविक्रय आदर्श मानिएको छ। देहविक्रय अपराध ठानिएको छ। समाज त्यही आदर्शको आलोकमा हिड्छ। सत्य–निष्ठालाई दूरदूर गर्छ।
नियमित छ अनियमितता। अनियमिताले नै नियमिताको सम्प्रभुता पाएको छ। यही सम्प्रभुताभित्र स्वाधिन छन् आत्मविक्रेता।
नियत र नियतिको खेलमा नियतले सधैं जितेको छ। अभाव र स्वभावको चरित्रमा स्वभाव सधैं सम्मानीत छ।
त्यसैले आत्म विक्रय अभाव हैन, स्वाभाव भएको छ। नियति हैन, नियत भएको छ।
शरीर वेच्नेले नियति खेपीरहेका छन्– वेश्याका नाउँमा। ती सधैं अपमानित छन्। अमान्य छन्।
आत्म बेच्नेले नियतलाई नियमिता दिइरहेका छन् आदर्शका नाउँमा। ती सधैं पूजित छन्। प्रार्थनीय छन्। प्रशंसनीय छन्।
शरीर बेच्नेलाई अभावले चिथोरेको छ। नियतिले भकुरेको छ। आत्म बेच्नेलाई स्वभावले उचालेको छ, नियतले प्रेरित गरेको छ। स्वभाव र नियतका निर्वन्ध मालिक–मालिक्नीहरुको चाहना र प्राप्तिले समाजमा आदर्शको उज्यालो छरेको छ। समाजका मधुरा आँखा त्यही उज्यालो पछ्याएर हिडेका छन्। समाज त्यही आदर्शको आगो तापेर बसेको छ।
अक्षय छ आत्म ! बेचेर जति आत्मच्यूत हुन सक्यो त्यति समाजले मान, इज्जत, प्रतिष्ठा थप्दै जान्छ। यो मन्त्र बुझ्ने आत्मचरहरु नै प्रायशः देश र समाजका अभिन्न अङ्ग भएर बसेका छन्।
पापी पेटमा बलेको अभावको आगो निभाउन वाध्य भएर शरीर बेच्ने निरिह नारीवय निकृष्ठताको उच्चतम नमूना बनेका छन्। कानुन र समाजले तीनलाई एउटा दुष्ट विषेशण दिएको छ– वेश्या ! तर, सम्पूर्ण मानवता बेच्नेलाई त्यही समाज र कानुनले के भन्छ ? महान् !
आदर्शच्युताको अपराधिक नाउँ के हो ? किन देख्दैन, त्यो कानुन र समाजले तीनले गरेका घिनलाग्दा अपराध ?
नारीको तुलनामा पुरुष त्यसै पनि हिंस्रक, भ्रष्ट र आदर्शहीन हुन्छन्। तर तिनलाई नैतिक हिंसा र भ्रष्टिकरण गर्न नारीको हात कति छ ? एउटा पुरुषलाई भ्रष्टाचारी बनाउन एउटी नारीले परोक्ष–प्रतक्ष कस्तो भूमिका खेलेकी हुन्छे ?
छिमेकी नारीको विलासितासँग उर्लेको अर्की नारीको भौतिक रहरको उच्छवासले कति पुरुषलाई दुराचार र अनाचारको पथ पकड्न लाचार बनाएको छ ? यहाँनेर नारीवादीहरुलाई प्रश्न गर्न मन लाग्छ– खै किन बुझो लागेको छ नारी स्वर र चेतनामा ?
यो बारेमा सोचिएको छैन। मथिंगलको साँगुरो चेप बेतुक कुराले भरिएको छ। नारीवादीहरुको बोलाई र लेखाईमा पितृसत्तात्मक शब्दको प्राचुर्यता छ। त्योभन्दा वौदिक विचारको विषय ‘नारी र आइमाई’ शब्दको भूमरीमा रन्थनिएको छ। आइमाईलाई नारी कसरी बनाउने भन्ने सोचमा छैन नारी मस्तिष्क ! त्यसमाथि जति जे छ फेसबुकमा, पत्र–पत्रिकामा, टीभी–रेडियोमा र बाँकी काठमाण्डौं सहरभित्र छ।
रहर र स्वभावले सायद कुनै नारी वेश्या हुदैन, हुने वाध्यताले हो। तर वाध्यता भन्दा रहर र स्वभावका दासी कति छन् ? जसको मूल स्वभाव आदर्शच्यूतता नै हुन्छ।
मान्छेका रहरहरु पुरा हुदै गए पछि तिनै रहर स्वभाव बन्दै जान्छन्। त्यही स्वभाव अन्ततः जीवनशैली बन्छ। रहरको बोटमा फुलेका स्वभावहरु सहरिया ‘इलिट’ जीवनशैली बन्दैछन्। नैतिक बल, भौतिक रहरको शिकार भएको छ। नारी होस् वा पुरुष, सबैभन्दा बढी बलत्कार नैतिकतामाथि भएको छ।
विरलै स्वास्नीहरु होलान् आफ्नो लोग्नेले भ्रष्टाचार गरेमा त्यसलाई अस्वीकार गर्ने। विरलै आमाहरु होलान् आफ्नो छोराले पैसाको बिटो बोकेर आउँदा खुसी नहुने ! मेरो लोग्ने भ्रष्ट हो भनेर उजुर गर्ने कुनै स्वाभिमानी स्वास्नी आजसम्म जन्मिएका छन् कि छैनन् थाह छैन ? तर लोग्नेले भ्रष्टाचार गर्दा खुसी हुने धेरै छन्, त्यो भने धेरैलाई थाह छ। भ्रष्ट छोरालाई कुनै आमाले कठघरामा उभ्याउन सहयोग गरेकी छन् कि छैनन्, थाह छैन ? तर छोरोले अकुत सम्पत्ति जोड्दा खुसी हुने आमाहरु पनि धेरै छन्, त्यो पनि धेरैलाई थाह छ। नारी हैन, आइमाईका स्वभाव हुन् यी।
ठूल्ठूला भ्रष्टाचार र कुमर्क ठूल्ठूला घराना र ठूल्ठूला पदधारीबाट भएका छन्। कतिपय तिनै ठूल्ठूलाका स्वास्नी ठूल्ठूला समाज सुधारक र ठूल्ठूला महिलावादी भएर हिडेका पनि छन्। तर आफू र आफ्नो घर सुधार्ने यस्ता महिला कति छन् समाजमा ?
समाज सुधार्छु भन्ने महिलाले आफ्नो घर सुधार्ने हो भने महिला आन्दोलनमा मात्र हैन, भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि ठूलो योगदान हुन सक्छ ?
हुनुहुन्छ कोही महिला, यो साहस गर्ने ? साँचो अर्थमा समाजमा परिवर्तन ल्याउने ? कुनै महिला, नारी अर्थात आइमाईले सोच्नु भएको छ– आफूले चारित्रिक भ्रष्टाचार कति गरेको छु ? दुराचार र अनाचारको मतियार कति भएको छु ? कोही हुनुहुन्छ– आफ्नै घरभित्र बलेको व्यभिचारको आगो नताप्ने नारी तथा महिलाहरु ?
बिचार गर्नु भएको छ– समाजसेवी र सुधारकको खोल ओढेर हिड्दा आफ्ना पछाडि जीब्रो टोक्ने अरु नारी कति छन् ? सुधार कहाँबाट सुरु गर्ने ? नारा, आफू र आफ्नै घरबाट ?
को हुन् वेश्या ? शरीर बेच्ने की ? शरीरभन्दा महान् मानिने आत्म बेच्ने ? अभाव हैन, स्वाभावले दासी हुनेले शरीरसँगै ज्ञान, वुद्धि, विवेक, निष्ठा, नैतिकता सबै बेचेका हुन्छन्। के यो नैतिक वेश्यावृत्ति हैन ?
अरु त अरु लेखक, कवि, पत्रकार भनाउँदा केही चेतनशील स्वाँठहरु पनि राजनीतिमा ‘सिम्बल अफ भाइस (दुराचार विम्ब) बनेकाहरुको पाउपूजा गर्छन्। ती चेतनशील स्वाँठलाई स्वागत भनिदिनु पर्छ; गधाको पुच्छरको माला देखाए पनि टाउको थाप्छन्। सम्मान भनिदिनु पर्छ, स्यालको छाला ओढाइदिए पनि नाई भन्दैनन्। पुरस्कार र पदक भनिदिनु पर्छ, भ्रष्टहरुको आशिर्वाद थाप्न घुँडा टेकेर लाइनमा बस्छन्। नारी हुन् वा पुरुष, छन् कोही जो म कुनै भ्रष्टाचारीको हातबाट पुरस्कार लिन्न भनेर अविस्कार गर्ने ? भ्रष्टहरुलाई सामाजिकरुपले दुरुत्साहित गर्ने ? यी सबै नैतिक वेश्यावृत्तिका नमूना हुन् कि हैनन् ?
कानुन पनि अजीब छ ! पालकहरु झन् अजीब छन् ! नैतिक हिंस्रकहरुलाई कानुनले छुन त परै जाओस् हेर्नसम्म पनि सकेको छैन। यस्तालाई शासन–प्रशासनले खोज्ने हैन, ढोग्न गरेको देखिन्छ। सामाजिक र प्रशासनीक चक्र नै त्यस्तो छ, खोज्नु भन्दा ढोग्नु फलादायी हुन्छ।
शारीरिक वेश्यावृत्ति गैह्रकानुनी छ। नैतिक वेश्यावृत्ति कानुनभन्दा माथि छ। कानुनभन्दा माथि ईश्वरमात्र हुन्छ। कानुनले मानेका यिनै ईश्वरलाई समाजले पूजा गरिरहेको छ।
हामी, सस्ता लुगा फुकाल्नेलाई दुईसय तिर्छौ, महँगा लुगा लाउनेलाई अरबौं तिर्छौ। मेरो देशमा महँगा लुगा लाउनेहरु नै महान् मानिन्छन् भन्नुपर्दा अत्यन्त शरम लाग्छ। वेश्याहरु .... ! @setopati


