Published On:Thursday, November 6, 2014
Posted by dadad
झापामा पर्यटकको चहलपहल ह्वात्तै बढ्यो
२० कार्तिक, झापा । कात्तिकको पहिलो साताबाट नै झापाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढेको छ ।
अघिल्ला आर्थिक वर्षको तुलनामा यस वर्ष एक महिनाअघि देखि नै आन्तरिक तथा बाह्य पर्यटको चहलपहल बढेको जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले बताए ।
कात्तिकको पहिलो साताबाट नै मौसम सफा रहेका कारण झापाका विभिन्न पर्यटकीयस्थलको भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकको चहलपहल बढेको अध्यक्ष गिरीको भनाइ छ ।
झापासहित मोरङ, सुनसरी राजविराज, इलामलगायत भारतको समेत विभिन्न स्थानका पर्यटक झापामा रहेका पर्यटकीयस्थल जामुनखाडी, सालवारी, किच्चकबध, केचनाकवल, सतासीधाम, विराटपोखर, कृष्णथुम्की, अर्जुनधारा आउने गरेका छन् ।
जसमध्ये झापाको कनकाई नगरपालिका–२ मा रहेको जामुनखाडी सिमसार क्षेत्र जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचत बनेसँगै सो क्षेत्रमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको चहलपहल बढी भएको स्थानीयवासीको भनाइ छ ।
सामुदायिक वन क्षेत्रमा तीनकुने आकारको ठूलो तलाउ, झोलुङ्गे पुल, बोटिङको व्यवस्था, आकर्षक बगँैचा, बाल उद्यान, वनभोजस्थल, मिनी चिडियाखाना आदि कारणले जामुनखाडी सिमसार क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको कनकाई क्याम्पस सुरुङ्गाका प्राध्यापक तीर्थराज खरेलले बताए ।



