Published On:Sunday, March 8, 2015
Posted by Unknown
राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास सुरु
२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताको प्रयास सुरु भएको छ । पार्टी एकताबारे वार्ता गर्न राप्रपाले वार्ता कमिटी बनाएको छ ।
आइतबार बसेको राप्रपाको पदाधिकारी बैठकले महामन्त्री दीपक बोहराको नेतृत्वमा वार्ता समिति बनाएको हो ।
वार्ता समितिमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी छन् ।
राप्रपा नेपालले भने यसअघि नै केशरबहादुर विष्टको नेतृत्वमा वार्ता समिति बनाइसकेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमला थापाले हालैमात्र राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटेपछि एकताका लागि वार्ता सुरु हुन लागेको हो ।
राप्रपा र राप्रपा नेपालबीच यसअघि पनि पटक पटक पार्टी एकता बारे छलफल गर्न वार्ता भएको थियो । तर, राजसंस्थाका विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया रोकिँदै आएको छ ।
राप्रपा नेपाल संवैधानिक राजसंस्थाका पक्षमा रहेको छ भने राप्रपा गणतन्त्रमा गइसकेको छ । @onlinekhabar


