Published On:Wednesday, May 13, 2015
Posted by Unknown
भूकम्पबाट अहिलेसम्म भएको मानवीय क्षति (अपडेट)
देशका विभिन्न भागमा बैशाख २९ गते मंगलबार आएको बिनाशकारी भूकम्पमा परी ७६ जनाको ज्यान गुमेको छ भने २३७४ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पुर्व क्षेत्रमा ३, मध्य क्षेत्रमा ६३ र पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १५८५, पुर्व क्षेत्रमा ६४, मध्य क्षेत्रमा ६२७, पश्चिम क्षेत्रमा ८९ र मध्य पश्चिम क्षेत्रमा ९ जना रहेका छन् । साथै भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै उक्त भूकम्पबाट ५ पूर्णरुपमा र ५१ आंशिक रुपमा गरी जम्मा ५६ भौतिक संरचनामा क्षति पुगेको छ । यसैगरी बैशाख १२ गते शनिवार देशका विभिन्न भागमा आएको बिनाशकारी भूकम्पमा परी बुधबार १६ः०० बजेसम्मको प्राप्त जानकारी अनुसार ८१५४ जनाको ज्यान गुमेको छ भने १७,८६४ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७०२ (दोहोरो नाम र अन्यत्र जिल्लाका काठमाडौंमा मृत्यु भएका संख्या हटाई अपडेट गरिएको), पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५९७८, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७०, पुर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५४७, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै उक्त विनाशकारी भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ ।
यसैगरी हालसम्म नेपाली नागरिक २७० र विदेशी नागरिक ११२ जना बेपत्ता भएका छन् । यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१६३६१ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४२ हजार ६ सय ३० जना प्रहरी कर्मचारी परिचालित भएका छन् । @nepalpati


