Published On:Friday, May 8, 2015
Posted by dadad

मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुरमा सफाइ अभियान

 २६ वैशाख,काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका विभिन्न संरचनाका फोहरको आज नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा बृहत् सरसफाइ गरिएको छ । 

भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान एकै समयमा सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका संरचनालाई व्यवस्थित गर्ने, तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य भएको छ । 

मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुर दरबार स्क्वायरबाट, सूचना तथा सञ्चार सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सूर्यविनायकबाट, स्वास्थ्य तथा जनसङ्ख्या सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा च्यामासिंहबाट, विज्ञान प्रविधि तथा वातावरण सचिव कृष्णचन्द्र पौडेलको नेतृत्वमा ब्याँसीबाट र श्रम तथा रोजगार सचिव भोला शिवाकोटीको नेतृत्वमा महाकालीबाट टोली परिचालन भएको थियो । 

सरसफाइ अभियानमा सरकारी निकायका कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निर्माण व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दासहित हजारौँको सहभागिता थियो । 

आजको सफाइ अभियानलाई समापन गर्दै मुख्य सचिव पौडेलले गत साता भक्तपुरको अवलोकनमा आउँदा यहाँका बासिन्दा र नगरपालिकाका कर्मचारीले भत्किएका संरचना सफाइ गरेको देखेर यसैबाट पे्ररित भई यो सफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा नेपालीलाई परेको पीडा अर्कोले टुलुटुलु हेरेर बस्न सक्दैन, हामी पीडितका साथमा छौँ, यो अभियान अब सफाइ नसकिएसम्म जारी रहन्छ ।”

वाग्मती सफाइ अभियान १०२ हप्ता पुग्दा आएको भूकम्पले वाग्मती सफाइ अभियान भूकम्पले भत्काएको संरचना हटाउने अभियानमा परिणत भएको उहाँले बताउँदै भन्नुभयो, “यतिबेला पीडित जनतालाई आड भरोसा चाहिएको छ, त्यसका लागि सबैले स्वयम्सेवी भावनाले काम गर्नु जरुरी छ ।” 

आज मात्र भक्तपुर, काठमाडाँै र ललितपुरका १७ क्षेत्रका ५० स्थानमा एकैसाथ सरसफाइ सुरु गरिएको बताइएको छ । उहाँले अब वाग्मती सफाइ केही समय रोकेर तीन वटै जिल्लाको भूकम्पले क्षति पु¥याएका संरचना हटाउने सरसफाइमा लाग्ने बताउनुभयो । 

अर्को साता शनिबार पनि यसैगरी सफाइमा जुट्न आह्वान गरिएको छ । साधन स्रोतको अभावले आज कतिपय ठाउँमा सफाइमा केही समस्या आएकाले अर्को साता साधन स्रोतसहित सफाइमा जुट्ने उहाँले बताउनुभयो । रासस (तस्बिर उपलब्ध छ) 
रासस पनि सहभागी 
भक्तपुर – भूकम्पले क्षति पु¥याएको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक सहर भक्तपुरको भग्नावशेष हटाउन सूचना तथा सञ्चार मन्त्रालय र यसअन्तर्गत निकायका कर्मचारी जुटेका छन् । 

भूकम्पबाट भक्तपुरमा धेरै ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक संरचना भत्किएर अलपत्र भएका थिए । सरकारको आह्वानमा सञ्चार सचिव मल्लको नेतृत्वमा भक्तपुर नगरपालिका क्षेत्रमा मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, सूचना विभाग, प्रेस काउन्सिल नेपाल, रेडियो नेपाल, गोरखापत्र संस्थान र नेपाल टेलिभिजनलगायत संस्थाका कर्मचारीले भत्किएका संरचनाका भग्नावशेष हटाएका थिए । 

भग्नावशेष हटाउने क्रममा नगरपालिकाको वडा नं ११ को क्वाँछे र किबुछे गल्लीमा पुग्दा सचिव मल्ललाई स्थानीयवासी लक्ष्मी श्रेष्ठले चर्किएर धरापमा परेका घरसमेत भत्काएर सरसफाइ गर्न अनुरोध गर्नुभएको थियो । सचिव मल्लले गुनासोलाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउनुभएको थियो । 

सो गल्लीमा पाँच दाजुभाइको घर भत्कँदा छ जनाको मृत्यु भएको थियो । गल्ली अझै पूर्ण रुपमा चर्किएका घरका कारण असुरक्षित रहेकाले घर भत्काउन आग्रह गरिएको स्थानीयवासी श्रेष्ठले बताउनुभयो । रासस 

0 comments for "मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुरमा सफाइ अभियान"

Leave a reply

    Popular Posts

    Blog Archive