Published On:Monday, May 11, 2015
Posted by my storry
कतै खातैखात कतै पुर्पुरोमा हात
भक्तपुर, २८ वैशाख ।
जिल्लाको महामञ्जुश्री नगरकोट नगरपालिका साविक सुडाल गाविस–७ थाकलमोठका लक्ष्मण पुरी राहत आइपुग्ला भन्ने आशामा बसेको पनि दुई साता बित्यो ।
माथि गाउँमा दैनिक जस्तै राहतका सामग्री वितरण गरिए पनि आफ्नो गाउँमा राहत लिएर अझै कोही नआएपछि उनी पुर्पुरोमा हात राखेर बस्न बाध्य भएका छन् । “भएको घर र गोठ दुवै वैशाख १२ गतेको भूकम्पले भत्कायो, भएको गाईबाख्रा पनि म¥यो, बारीमा स्टिकको छत हालेर बसेका छाँै, राहतका नाममा आजसम्म यहाँ केही आएन,” पुरीले भन्नुभयो ।
यता साविक ताथली गाविस–६ सौडोलकी सावित्री बस्नेतको गुनासो पनि उस्तै छ । उहाँले भन्नुभयो, “पारी गाउँमा दैनिक गाडीबाट राहत ल्याएर बाँड्छन्, ४० घर परिवार बस्ने यो गाउँमा ३८ वटा घर भत्किएर बिजोग हुँदा पनि राहत लिएर अझैसम्म कोही आएको छैन ।” “पारि राहत बाँडेको थाहा पाएर लिन गएँ त्यो गाउँका लागि होइन भन्दै फर्काइदिन्छन्, हुनेले त आलु पोलेरै पनि खाएका छन्, नहुनेले एकपाथी चामल पनि पाउन सकेनन्, यो कस्तो विभेद हो ?”, यही गाउँकी भगवती बस्नेतले गुनासो गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका भूकम्पपीडितलाई व्यवस्थित रूपमा राहत वितरण गर्ने व्यवस्था नगर्दा जिल्लामा राहत वितरण ‘कतै खातैखात कतै पुर्पुरोमा हात’ भएको भूकम्पपीडितको गुनासो छ । जिल्लामा पहुँच भएकाले एकै ठाउँमा पटक–पटक राहत वितरण गर्ने र पहुँच नभएका भूकम्पपीडितको गाउँमा भने एक पटक पनि राहत नपठाउने गुनासो चौतर्फीबाट आएको छ । जिल्लाका साविक १६ गाविसमा राजनीतिक दल र गैरसरकारी सङ्घसंस्थामा पहँुच भएकाले एकै गाउँमा पटकपटक राहत वितरण गरेको पाइएको छ । ताथलीको सौडोलस्थित टार, सुडालको पुरी गाउँ, चाँगुको छायाँ बस्ती, छालिङको तामाङ बस्ती, सिपाडोलको नैचाल, काँक्राबारी, गुण्डुको तामाङ गाउँमा अझै पनि भूकम्पपीडित राहतको आशा गरेर बसिरहेका छन् ।
छालिङको शोभा गैँडाले छिमेकी गाउँमा एकै व्यक्तिले तीन वटासम्म पाल लिएको, चामल दुई बोरा लिएको भए पनि आफ्नो गाउँमा गाडी नआउने भएपछि अहिलेसम्म राहत लिएर कोही नआएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले हचुवाका भरमा सम्बन्धित नगरपालिकालाई जिम्मा लगाउने र नगरपालिकाले वडामञ्चलाई जिम्मा लगाउने गर्दा धेरै पीडितले अझै राहत पाएका छैनन् ।
भूकम्पपीडितको पहिचान गरेर घर–घरमा राहत पु¥याउने व्यवस्था नगर्दा घर क्षति नभएका र पीडित नभएकाले समेत राहत लिने गरेका छन् । खरिपाटीका श्याम खनालले भन्नुभयो, “चारतला घर भएकाले लाजै पचाएर राहत लिन आउँछन्, दिनेले पनि रिसाउँला कि भनेर दिन्छन् तर एक पटक पनि राहत नपाएकालाई भने राहत दिन कसैले वास्ता गर्दैनन् ।
”राहत वितरणको नेतृत्व लिने कुनै न कुनै दलको प्रतिनिधि हुने र आफ्नो भोट बैंक भएको क्षेत्रमा मात्र राहत लाने गर्नाले पनि कैयाँै पीडित राहत पाउनबाट वञ्चित बनेका छन् ।
प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर प्रशासनले सबै ठाउँमा राहत बोकेर जान नसक्ने भएकाले नगरपालिकालाई जिम्मा लगाएको जानकारी दिँदै राहत नपु¥याए भए त्यसको छानबिन गरिने बताउनुभयो । रासस


