Published On:Tuesday, March 3, 2015
Posted by Unknown

यसकारण प्रचण्ड भारत गएनन्


२० फागुन, काठमाण्डौ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत जान मन हुँदाहुँदै यस पटक गएनन् । पार्टीनिकट अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा उनी र वरिष्ठ नेता बाबुराम भट्टराई दुवैलाई निम्ता थियो । तर, दाहालले आफू नगई भट्टराई र महासचिव कृष्णबहादुर महरालाई पठाए । कान्तिपुर दैनिकमा समाचार छ ।

दाहाल भारत नजानुका दुई मुख्य कारण छन् । पहिलो, मञ्चको सम्मेलन परेकै दिन राजधानीमा विपक्षी गठबन्धनको शक्ति प्रदर्शन पर्नु । दोस्रो, भारतीय संस्थापनसँग अपेक्षित सम्बन्ध सुदृढीकरण अझै हुन नसक्नु ।

'काठमाडौंमा शक्ति प्रदर्शन परेकाले अध्यक्ष मञ्चको कार्यक्रममा सहभागी हुन जान भ्याउनु भएन,' एमाओवादी केन्द्रीय सदस्य एवं उनका स्वकीय सचिव चूडामणि खडकाले भने, 'त्यसकारण भट्टराई र महरा पार्टीको तर्फबाट जानुभएको हो ।'

०७० वैशाखपछि दाहालले भारत भ्रमण गरेका छैनन् । बेलाबखत राष्ट्रिय स्वाधीनताको कुरा गर्ने भएकाले उनलाई भारतीय नेतृत्वले विश्वासको आँखाले हेर्न नसकेको एक नेताले बताए । काठमाडौंस्थित भारतीय राजदूतमार्फत भारत भ्रमणका लागि बेलाबेला आग्रह भए पनि त्यस्तो मौका नजुरेको दाहालनिकट स्रोतको भनाइ छ ।

'म तपाईंहरूको असल मित्र बन्न सक्छु, तर अन्धभक्त हुन नसक्नु मेराे कमजोरी भयो,' दाहालले सांकेतिक रूपमा भारतीय अधिकारीसँग भन्ने गरेको निकट स्रोतले उल्लेख गर्‍यो । प्रधानमन्त्रीकालमा तत्कालीन प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाउने निर्णय र त्यसपछि राष्ट्रिय स्वाधीनताको आन्दोलन घोषणा गरेपछि भारतसँग चिसिएको उनको सम्बन्ध अझै सुदृढ हुन सकेको छैन ।

भारतमा उच्च शिक्षा लिएका भट्टराईलाई भने दाहालभन्दा त्यहाँका अधिकारीसँग केही सहज भएको एमाओवादीका अर्का नेताको बुझाइ छ । पार्टीभित्र अन्तरसंघर्ष हुँदा भट्टराईलाई भारतनिकट भन्ने आरोप लागे पनि यस पटक उनी जोखिम मोलेर खुलामञ्चमा शक्ति प्रदर्शनसभा बीचमै छाडेर शनिबार भारत गएका हुन् ।

0 comments for "यसकारण प्रचण्ड भारत गएनन्"

Leave a reply

    Popular Posts

    Blog Archive