Published On:Saturday, May 2, 2015
Posted by dadad
भद्रगोलकी रामप्यारीको सडकमा बास, सरकारबाट छैन उनलाई आश
२०४९ सालदेखि सडक नाटकको माध्यमबाट आफ्नो कलाकारीता सुरु गरेकी राधा श्रेष्ठको अहिले सडकमा बास छ । सयौँ संख्यामा सडक नाटक, टेलिशृङखला, रेडियो नाटक र फिल्महरुमा समेत यात्रा गरिसकेकी उनी गएको शनिबार आएको विनाशकारी भुकम्पले सडकममा आउन बाध्य भएकी हुन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिशृङ्खला भद्रगोलमा धतुरेको बुढीको भुमिकामा अभिनय गर्ने ‘रामप्यारी’ भनेर चिनिने राधा श्रेष्ठको राजधानी काठमाडौंको चावहिल स्थित चुच्चेपाटीमा रहेको २ तले घर बस्न नहुने भएको छ ।
विनाशकारी भुकम्प गएको एक हप्ता वितिसक्दा पनि सरकार र कुनै निकायबाट सहयोग प्राप्त नभएपछि उनी निक्कै दुःखी भएकी छिन् ।
खाना त त्यस्तै हो, बस्नका लागि त्रिपाल समेत नपाएको भन्दै उनी सरोकारवाला निकायसँग निक्कै रुष्ट बनेकी छन् । नेपालीमाटो डटकमले रंगकर्मी एवं कलाकार राधा श्रेष्ठसँग कुराकानी गरेको छ । उनले नेपालीमाटोलाई भनेका कुराहरु जस्ताको तस्तै......
२०७२ साल वैशाख १२ गते म, मेरो घर भत्किनुभन्दा एकछिन अघि गोपिकृष्ण पछाडी साततले नजिकै थिएँ । त्यहाँ एकजना दिदीलार्ई भेटेर अनामनगरमा रियलसलमा जानु थियो । कुरा गर्दागर्दै भुँईचालो आईहाल्यो, अनि म त भागेर आएँ ......। केही समय अघि आएको भए म त्यो सात तले घरले पुरिने रहिछु । घर आईपुग्नुजेलसम्म ४ वटा भुकम्प आयो । बाहिर हेर्दा घर राम्रै देखेँ, केही पनि भएको छैन होला भनेर भित्र पसेँ, तर घर पुरै ध्वस्त भएको रहेछ ।
भित्र बस्न नै नहुँने भएछ । केहि सामान अलिअलि गरेर झिकेँ । आवश्यक सामानहरु सबै भित्रै छ, झिक्न सक्ने अवस्था छैन । सुत्ने बस्ने सबै अहिले बाटोमा भैरहेको छ ....।
खाना चाँही भाईको सानो छाप्रोमा पकाउने गरेकी छु । राती सुन्नका लागि चाँही ठाउँ छैन त्यसैले ३ घर परिवारका हामी बाटोमा बास बसिरहेका छौँ । हाम्रो मात्र होईन, १५÷१६ घरहरु क्षतिग्रस्त भएका छन् ....।
राहत टोली अझै आएन
उनले भाभुक हुँदै भनिन्, ‘अहिले सम्म कोही पनि राहत टोली पनि आएको छैन, राजधानीमा त यस्तो हालत छ, बाहिर त झन कस्तो होला ?’ उनले भन्दै गईन्,–
अहिलेसम्म कोही पनि आएको छैन..... कोही.... । मान्छे आएको थियो अस्ती घर निरिक्षण गर्नका लागि.... घर कत्तिको चर्केको छ भनेर । निरिक्षण गर्ने मान्छेहरु पनि भित्र गएर निरिक्षण गर्न डराए । १ हप्ता वितेर यति दिन अघि आईसक्यो, कोहि पनि आएको छैन राहत वितरणका लागि भनेर ।
सहयोगका लागि अपिल
उनी आफु पनि नपाली भएको र भुकम्प पीडित भएकाले सहयोग गर्न सबैलाई अपिल गर्दै छिन् उनी हामीसँग दुखेसो पोख्दै भन्न थालिन्,–
कत्तिपय मान्छेले के भन्छन् भने, तपाईहरु जस्तो कलाकारलाई पनि पैसाको खाँचो हुन्छ र ? भन्ने हैन ?...., राहतको पनि खाँचो पर्छ र भन्ने, मलाई त्यो भन्ने वित्तिकै चित्त दुख्छ के । तपाईलाई त कलाकारहरुले नै सहयोग गरिहाल्छ नी, राष्ट्रको गहना हो भनेर भन्दा चाँही निक्कै चोट पर्दोरहेछ । म पनि नेपाली हुँ, भुुकम्प मेरो घरमा पनि आएको हो । मेरो पनि घर भत्किएको छ । कलाकार भन्दैमा कलाकार भगवान होइन यो चाँही तपाईको मिडियाबाट भनिदिनुहोला ।
देश तथा विदेशबाट करोडौं, अरबौँ खरबौँ आईराख्याछ भन्छ हैन, हामीलाई एक गिलास पानी पनि यहाँ दिन आउने मान्छे छैन । मलाई साथिहरुले अनलाईनमा आउँदाखेरी भन्ने गर्नुहुन्छ त्यत्रो राहत आउँदा पनि खै त तपाईले पाएको भन्नुहुन्छ, बनाउन त नेपाल बनाउन पुग्ने पैसा आईसक्यो नी..... तर के गर्नु... हामी जस्ता राजधानीबासीहरुले नै पाएका छैनौँ ?
अझ गाउँ–गाउँमा कस्तो होला ? मलाई त खान लाउन त्यति धेरै समस्या छैन किनभने म त राजधानीमा छु, म सँग पैसा भयो भने किनेर खान सक्छु । जहाँ पानी, पाल लगायत अत्यावश्यक बस्तु समेत पुग्न सकेको छैन, सबै गाउँ नै ध्वस्त भएका छ, त्यस्तो ठाउँमा । कम्सेकम सरकार ....! पानी त ल्याईदेउ, पाल त टाँगिदेउ...........।
२ सय ३ सय मान्छे भएको ठाउँमा सरकारले २÷३ वटा पाल लगेर फ्याँकिदिदो रहेछ, उनीहरुको त अपमान भयो नी.......... ! यो सरकारले के गर्न खोजेको भन्ने नै थाहा छैन क्या, कमसेकम पाल त देउ ......! त्यहि हो, परिवार बाँचियो खुसीको कुरा त, घरसर भत्कियो । सडकको बास भाको छ । खै के गर्ने हो म अन्यौलमा छु । मलाई कसैले सहयोग गर्न चाहनुभयो भने मलाई ९८४९९९७८७९ मा जो कोहीले पनि सम्पर्क गर्न सक्नुहुनेछ ।





