Published On:Sunday, May 3, 2015
Posted by dadad

एकद्धार प्रणाली हटाएर सबैलाई राहत बाड्न दिने दलीय सहमति

२० वैशाख, काठमाडौं । एकद्धार प्रणाली हटाएर सबैलाई राहत वितरण गर्न दिने प्रमुख ३ दलबीच सहमति भएको छ । सरकारले प्रधानमन्त्री उद्धार तथा राहत कोषबाट मात्रै राहत वितरण गर्नुपर्ने बताएपनि त्यो तत्कालका लागि प्रभावकारी नहुँने ३ दलको निर्णय छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको प्रमुख ३ दलको बैठकले सबैलाई राहत वितरणमा खुल्ला छाड्नुपर्ने निर्णय गरेको हो । विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यस सम्बन्धमा छलफल गर्न आइतबार प्रमुख ३ दलको बैठक बसेको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकले राहत सामग्री नदोहोरिने गरी भूकम्प प्रभावित क्षेत्रमा आवश्यकता अनुसार इच्छुक सबैले राहत सामग्री वितरण गर्न दिनुपर्नेमा सहमति जनाएको हो । 

एकद्वार प्रणालीबाट मात्र राहत सामग्री वितरण गर्दा ढिलासुस्ती हुने भएकाले आवश्यकता अनुसार सरकारको समन्वयमा इच्छुक सबैले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नसक्ने ३ दलबीच सहमति भएको पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताए ।

बैठकमा राहत सामग्री वितरणलाई कसरी प्रभावकारी बनाउने र व्यवस्थापिका–संसद्को यही वैशाख २४ गते बस्ने आगामी बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताए । 

बैठकपछि एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कार्यलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिईन् । 

0 comments for "एकद्धार प्रणाली हटाएर सबैलाई राहत बाड्न दिने दलीय सहमति"

Leave a reply

    Popular Posts

    Blog Archive