Published On:Saturday, May 2, 2015
Posted by Tekman Shakya

भूकम्पमा परी कास्कीमा ९ जनाको मृत्यु

कास्की, वैशाख २० ।  वैशाख १२ गते शनिबार गएको बिनासकारी भूकम्पमा परी अहिलेसम्म कास्कीमा ९ जनाको ज्यान गएको छ । भूकम्पमा परी एक जना बेपत्ता भएका छन् । भूकम्पमा परी २ जनाको जिल्लामै र ७ जनाले काठमाडौंमा ज्यान गएको हो ।

काठमाण्डौंमा ज्यान गुमाउनेमा कास्कीको हंसपुर–४ घर भई धरहरा चढन् गएका ३८ वर्षका खिमबहादुर विश्वकर्मा, उहाँकी श्रीमती ३५ वर्षकी विमला विश्वकर्मा र ३ वर्षकी छोरी सलिना विश्वकर्मा रहेका छन् । विश्वकर्मा दम्पत्तिका २ छोरा र १ छोरीलाई एसओएस हर्मन माइनरले लालनपालन र पढाइको जिम्मा लिएको कास्कीका सभासद जीवन परियारले जानकारी दिनुभयो ।

यसैगरी कास्कीकै लेखनाथ नगरपालिका–३ का ५४ वर्षका सुधान श्रेष्ठ र लेखनाथ १२ का २५ वर्षका अमरबहादुर रञ्जितको पनि काठमाडौंकै विभिन्न स्थानमा ज्यान गएको हो । पोखरा–१८ छिनेडाँडा घर भई काठमाडौं भोटेबहालमा बस्ने नेपाली सेनाका मेजर विश्वजित कार्की र उहाँकी श्रीमती मञ्जु कार्कीको पनि भूकम्पका कारण घर भत्किदा पुरिएर ज्यान गएको छ ।

 ज्यान गुमाउने सबैको शव आफन्तले बुझेर अन्त्यष्टी गरिसकेको जिविले जनाएको छ ।कास्कीमै चाहि भूकम्पले घर भत्किदा च्यापिएर माझठाना–६ का ९३ वर्षका होमनाथ भुर्तेल र रुपाकोटीकी ३५ वर्षकी जुनु खड्काको ज्यान गएको हो । भूकम्प आएकै बेला सुन्धारा चढ्न गएका कास्कीको लेखनाथ नगरपालिका बुढिबजारका कृष्ण नेपाली भने अहिलेसम्म बेपत्ता छन् ।

0 comments for "भूकम्पमा परी कास्कीमा ९ जनाको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive