Published On:Tuesday, May 5, 2015
Posted by dadad
जनआन्दोलनका घाइते तथा सहिद परिवारलाई उद्धारमा जुट्न आग्रह
काठमाडौँ, २३ वैशाख । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ सहिद परिवार तथा घाइते सरोकार समितिले जनआन्दोलनका घाइते तथा सहिद परिवारलाई भूकम्पपीडितको उद्धार तथा सहयोगमा जुट्न आग्रह गरेको छ ।
समितिले विज्ञप्ति जारी गरी विपत्तिमा राज्यको मुख मात्र नताकी आआफ्ना तर्फबाट सक्रिय बन्न सम्पूर्ण जनआन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यलाई आग्रह गरेको हो ।
समितिका अध्यक्ष मेघराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय विपत्तिका घडीमा शोकलाई शक्तिमा बदल्दै पीडित नेपालीको उद्धार तथा राहतमा जुट्नुपर्ने उल्लेख छ । समितिले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस


