Published On:Wednesday, May 6, 2015
Posted by Tekman Shakya
व्यवस्थापिका संसदको बिहीबारको बैठकमा संकल्प प्रस्ताव पेश नहुने
२४ वैशाख, काठमाडौं । राष्ट्रपति रामवरण यादवले विहीबारका लागि आह्वान गरेकोे व्यवस्थापिका संसदको बैठक शोक प्रस्ताव पारितमै सिमित हुने भएको छ । बिहीबारको बैठकमा पूर्वसभासद् चक्रबहादुर ठकुरीको श्रद्धाञ्जलिमा शोक प्रस्ताव पारित गरिने भएकाले सङ्कल्प प्रस्ताव पेस नहुने निश्चित भएको हो । ददहरुको संकल्प प्रस्ताव शुक्रबारको बैठकमा प्रस्तुत हुने दलहरुले बताएका छन् ।
भूकम्प पीडितहरुको उचित व्यवस्थापनका लागि भन्दै यसअघि सत्तारुढ र प्रतिपक्षी सबै दलहरुले एकै स्वरमा संसद अधिवेशनको माग गरेका थिए । भूकम्पका कारण उत्पन्न राष्ट्रिय विपत्तिको अवस्थालगायतका विषयमा छलफल गर्न व्यवस्थापिका संसद् बैठक अपराह्न ३ बजेका लागि आह्वान गरिएको हो ।
राष्ट्रपति यादवले यही वैशाख १८ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गरेका हुन् ।
सङ्कल्प प्रस्तावमा भूकम्पपछिको विपत्तिको स्थितिमा राष्ट्रियरुपमा उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रममा सरकारलाई विशेष निर्देशन दिई सबै क्षेत्रबाट यस कार्यमा सहयोगको आह्वान गरिने बुझिएको छ । भूकम्पबाट धेरै जनधनको क्षति भएकाले राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई समेट्ने गरी सङ्कल्प प्रस्ताव तयार गर्नेबारे दलहरुबीच छलफल भैसकेको छ ।


