Published On:Thursday, May 14, 2015
Posted by dadad

पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ–कृषिमन्त्री

काठमाडौँ, ३१ वैशाख । कृषि विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुग्दो मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ । खेतीपातीको मौसम भएकाले रासायनिक मलको अभाव नहुँने समेत सो मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार कृषि सामग्री संस्थान लिमिटेडमा युरिया मल १० हजार २४९ टन मौज्दात रहेको छ भने डिएपी ३२ हजार ३९६ मेट्रिक टन र पोटास पाँच हजार ६२४ मेट्रिक टन रहेको छ । 

यस्तै साल्ट टे«डिङमा २३ हजार ३८४ मेट्रिक टन युरिया, १२ हजार ४६९ मेट्रिक टन डिएपी र दुई हजार ४६२ मेट्रिक टन पोटास मौज्दात रहेको छ । भूकम्प प्रभावित जिल्लामा रासायनिक मल अभाव हुन नदिन सरकारले विशेष ध्यान दिएको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले बताउनुभयो । बढी प्रभावित १४ जिल्लामा विशेष रुपमा ध्यान दिइएको र अन्य जिल्लालाई पनि विशेष आधारमा रासायनिक मल उपलब्ध गराउन सम्बन्धित निकायलाई विशेष निर्देशन दिइएको उहाँले बताउनुभयो । 

मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडले ल्याउँदै गरेको करिब ३५ हजार मेट्रिक टन युरिया मल स्थलमार्गबाट ल्याइँदै गरेको जनाएको छ । भूकम्प प्रभावित जिल्लालाई विशेष ध्यान दिँदै अन्य जिल्लालाई पनि पुग्दो मात्रामा रासायनिक मल उपलब्ध गराइने मन्त्री पराजुलीको भनाइ छ । खेतीपातीको समय आएकाले मल अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री पराजुलीले बीउको अभाव हुन नदिन पनि भूकम्प प्रभावित जिल्लामा निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो । 

भूकम्पबाट करिब रु सात अर्ब बराबरको पशुधन, कृषि उपज र पशुपक्षी क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ । काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोटमा सबैभन्दा बढी पशुधन क्षति भएकाले दूध तथा दूग्धजन्य पदार्थको समेत अभाव हुने देखिएको छ । 

भूकम्प प्रभावित जिल्लाका किसानले समेत पशुधन क्षति भएकाले त्यसले आर्थिक अवस्थामा समेत प्रतिकुल प्रभाव पार्ने बताउँदै आएका छन् । जनधनको क्षतिसँगै पशुधन तथा कृषि उपजको क्षति सबैभन्दा जटिल देखिएकाले त्यसलाई पूर्ति गर्नका लागि भारत, चीनलगायतका मुलुकसँग सहयोगका लागि आग्रह गरिएको छ । रासस 

0 comments for "पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ–कृषिमन्त्री"

Leave a reply

    Popular Posts

    Blog Archive