Published On:Monday, December 8, 2014
Posted by Tekman Shakya

२३ महिनापछि धादिङका उद्यमी व्यवसायी एकजुट

धादिङ । धादिङका उद्यमी व्यवसायीहरु अन्ततः २३ महिना २२ दिनपछि एकीकृत भएका छन् ।

विभाजन भएको २३ महिना २२ दिन पछि उद्योग बाणिज्य संघ धादिङ र धादिङ उद्योग बाणिज्य संघबीच एकीकरण भएको हो ।
सोमवार विहानै देखि जिल्ला प्रशासन कार्यालय धादिङमा जारी वार्ताले दुईवटा उद्योग वाणिज्य संघलाई एकै ठाउंमा आउने निर्णय गरेको हो । दुई वटा संस्था एकीकृत हुने निर्णय भएपछि महोत्सव पनि एकै समयमा एउटै हुने भएको छ ।

यस अघि उद्योग वाणिज्य संघ धादिङले पुस ७ देखि १७ गते सम्म धादिङबेसी खुल्ला मञ्चमा र धादिङ उद्योग वाणिज्य संघले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा चौथो धादिङ महोत्सवको आयोजना गर्ने निर्णय गरेका थिए । 

दुईवटा संस्थालाई एउटै वनाएर लैजान व्यवसायीहरु सहमत भएपछि महोत्सव पनि एउटै आयोजना गरिने भएको हो ।

संस्था एकीकरणका बिषयमा सहमती जुटेपछि पुस ७ गतेदेखि १७ गते सम्म रायटारमा मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव आयोजना गर्ने बिषयमा पनि दुई संस्था बिच सहमती भएको उद्योग वाणिज्य संघ धादिङका प्रमुख कार्यकारी अधिकृत शालिकराम दुवाडीले जानकारी दिनुए ।


दुईवटा संस्थाका बिच देखिएको दरारलाई कम गर्न प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेको पहलमा भएको वार्ताले व्यवसायीहरुका बिच एकता सम्भव भएको हो । एकीकृत संस्थामा सदस्यता बितरणलाई व्यवस्थित र पारदर्शी वनाउन दुवै संस्थावाट ३ –३ जना प्रतिनिधि रहने गरी ६ सदस्यिय छानविन समितिको गठन गरिएको छ । 


सदस्यता छानविन समितिमा गोपिलाल श्रेष्ठ,वोधनाथ दुवाडी,लोकनाथ डल्लाकोटी,बिष्णुप्रसाद थपलिया,अशोक अधिकारी र राजकुमार श्रेष्ठ रहेका छन । समितिले दिएको सिफारिसका आधारमा उद्योग वाणिज्य संघका सदस्यहरुले एकमुष्ट रुपमा धादिङ उद्योग वाणिज्य संघको सदस्यता पाउने सहमती भएको छ । 
एक बर्ष अघि नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दुई संस्था एकीकरणको प्रयास गर्दा सदस्यताको बिषयमा सहमती हुन नसकेर एकीकरण रोकिन पुगेको थियो ।

विगतमा जे जस्तो भएपनि धादिङ जिल्लाको आर्थिक विकास र जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितका निम्ति एउटै संस्था भएर अघि बढने बिषयमा सहमती भएकाले अव नयां सोचका साथ एकीकृत रुपमा अघि बढ्ने वार्तामा सहभागी पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन ।

 एकीकृत रुपमा आयोजना हुने महोत्सवको उदघाटन कार्यक्रमको अध्यक्षता धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले र समापनको अध्यक्षता उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीले गर्ने भएका छन । 

दुई संस्था बिच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरे, प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला स्थित नेपाली सेना र शशस्त्र प्रहरी वलका प्रमुखहरु साक्षीका रुपमा सहभागी भएका थिए । दुवै सस्थाका पदाधिकारी र उपलव्ध सदस्यहरु वार्तामा सहभागी भएका थिए । 


सदस्यता बितरण र नविकरणमा राजनैतिक आस्थाका आधारमा विभेद गरिएको भन्दै धादिङ उद्योग वाणिज्य संघको अधिबेशन त्यागेर १ हजार भन्दा बढी सदस्य वाहिरिएपछि २०६९ साल मंसिर ३० गते उद्योग वाणिज्य संघ धादिङको गठन गरेका थिए ।

धादिङ उद्योग वाणिज्य संघलाई एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी र नेपाली कांग्रेसका असन्तुष्ठ पक्षले समर्थन गर्दै आईरहेको थियो भने उद्योग वाणिज्य संघलाई नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन रहेको थियो ।

दुई उद्योग वाणिज्य संघ बीच भएको सहमतिहरु
१, धादिङ उद्योग वाणिज्य संघ, धादिङ र उद्योग वाणिज्य संघलाई एकिकरण गर्न, सबैजना सर्बसम्मत सहमत भई एकिकरण गर्ने निर्णय गरियो ।

२, उद्योग वाणिज्य संघ धादिङमा आबद्ध रहेका सदस्यलाई छानवीन गरी योग्यता पुगेका सम्पुर्ण उद्यमी व्यवसायीहरुलाई सिफारीस समितिको निर्णय तथा सिफारीस बमोजिम धादिङ उद्योग वाणिज्य संघ। धादिङको सदस्यता प्रदान गर्ने र यसका लागि तपशिल बमोजिम सदस्यता छानवीन समिति गठन गर्ने निर्णय गरियो ।

३, २०७१ पौष ७ गतेदेखी १७ गतेसम्म मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ नाम रहेको महोत्सव सञ्चालन गर्ने सर्बसम्मत निर्णय गरियो ।

४, महोत्सवको उद्घाटन कार्यक्रममा संयोजक चन्द्रकान्त अधिकारी र समापन कार्यक्रममा कल्पना अधिकारी सभापतित्वमा कायक्रम सञ्चालन गर्ने सर्बसम्मत निर्णय गरियो ।

५. २०७१ मंसिर २३ गतेका दिन दिनको १२ बजे धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा दुवै संघका कार्यसमिति सदस्यहरुको बैठक बस्ने निर्णय गरीयो । 

0 comments for "२३ महिनापछि धादिङका उद्यमी व्यवसायी एकजुट"

Leave a reply

    Popular Posts

    Blog Archive