Published On:Sunday, December 7, 2014
Posted by dadad
वाका रह तालको संरक्षणमा सरकारी ध्यान गएन
बाबुराम श्रेष्ठ, धादिङ । उत्तरी धादिङको सेमजोङ गाविस वडा नं १ वाका रह तालको संरक्षणमा सरकारी निकायबाट कुनै ध्यान नजाँदा जिर्ण बन्दै गएको छ ।
नुवाकोट जिल्लाको सामरी गाविस र धादिङ जिल्लाको ५० वटै गाविसलाई सिंचाई पुग्ने थोपल खोलाको शिरमा रहेको वाका रह ताल र सेमजोङ ३ बर्माचेत कुवाको संरक्षण गर्न सरकारले कुनै चासो नदिँदा यस्तो अवस्था पुगेको हो ।
धादिङ जिल्लाको एउटा धार्मिक स्थलको रुपमा चर्चित र ऐतिहासिक स्थल वाका रह ताल भग्नावशेष अबस्थामा रहँदा सरकारी निकायबाट अहिले सम्म ध्यान जान सकेको छैन । पर्यटकहरुको आगमन गरी वाका राह तालको संरक्षण गर्न सेमजोङ गाविसका मानिसहरुको हर प्रयास गरी रहेका छन् ।
ज्यमपल दोर्जे रिन्पोछेले त्यस ठाउँमा बस्दा पानीको समस्या पर्दा तीन वटा रहहरु निमार्ण गरी आकाशे पानी जम्मा गरेर राह को नाम अर्थात वाका राह ताल, चित्त, काया गरी तीन राह तालको नाम राखिदिएको धार्मिक विश्वास छ ।
३ वटा ताल मध्ये अहिले दुई वटा चाहिँ हिँउदमा सुक्ने बर्षमा मात्र पानी बस्ने भए पनि वाका राह तालमा भने १२ महिनै पानी रहने स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।
सुरुमा एउटा सामान्य पानी जमी आलको रुपमा देखा परी विगत २ बर्ष अगाडि देखि मात्र वाका राह तालको रुपमा परिर्णत भएको सेमजोङ १ गैराका राम बहादुर तामाङले जानकारी दिनु भयो ।
जेठ पूर्णिमा र मंसिर पूर्णिमा र माघको ल्होसारमा विशेष गरी मेला लाग्ने उक्त स्थानमा दुधकुण्ड अर्थात गाईको दुध चढाउन आउने भक्तजनहरुको ठूलो भिड लाग्ने नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ सेमजोङ धादिङका अध्यक्ष घनसुर वाईवाले बताउनु भयो ।
लामा तथा झाक्रीहरुको महत्वपूर्ण स्थल रहेको उक्त जात्रामा झाँक्रीहरु निपूर्ण, सवल एवं सक्षम हुने जन विश्वास समेत रहेको छ ।
वाका रह तालको ज्यादै सुन्दर एवं मनमोहक दृश्यले पूर्ण लेकाली स्थान रहेको यस स्थानबाट गणेश हिमाल, लाङटाङ, पालदोर्जे साङकेतन तोर्मो एवं कञ्चनजङगा हिमाल जस्ता रमणीय दृश्यहरुको अवलोकन गर्न सकिने छ ।
वाका रह तालमा हात खुट्टा धुँदा मुख धोएर त्यहि पानी खाए पछि गानोगोला, बाथरोग, टाउको दुख्ने खुट्टा झमझमाउने, सिगँटा लाग्ने जस्ता रोगहरुबाट मुक्त हुने स्थानीय बासिन्दा तथा तीर्थयात्रीहरुको भनाई रहेको छ ।
वाका रह तालको उत्तर सिङल्हजोको पूर्वमा सुत्केरी महिलाले उठाएको ढुङगा, दक्षिणमा नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ ज्याम्पल दोर्जे डुबखाङ अहिंसा अध्ययन केन्द्र र हाल अष्ट बौद्ध चैत्य छर्योतेन निमार्ण गरी पश्चिममा जोङदली युङबा चार किला भित्र बाका राह ताल रहेको छ ।
यस स्थानको अवलोकन गर्नको लागि अहिले सम्म धादिङको ५० वटै गाविसहरु, काठमाण्डौं नवलपरासी, चितवन, लगायतका जिल्लाहरु र ५ वटै विकास क्षेत्रका मानिसहरुले दर्शन तथा अवलोकन गरी सकेको वाईवाले बताउनु भयो ।
पर्यटकहरुको आगमनलाई कसरी ब्यापकता बनाउने, सेमजोङ गाविसका स्थानीय बासिन्दाहरुको जिवन स्तर बृद्धि र यस क्षेत्रलाई दोस्रो नमो बुद्ध तिर्थ पर्यटनको रुपमा घोषणा गर्ने उद्धेश्यले उक्त स्थानमा करिब ५० लाख लागतको लगानीमा ८ वटा अष्ट महाबौद्ध चैत्यको निमार्ण समेत गरिएको छ ।
बिशेष गरी तामाङ समुदायका मानिसहरुको बाहुल्यता रहेको यस सेमजोङ गाविसमा गुम्वा , चैत्यहरुको लोप हुने कुरामा भने चिन्तित भएका छन् ।
सेमजोङमा निमार्ण गरिएको ८ वटा महाअष्ट चैत्यहरुको फरक फरक महत्व रहेको छ भने ति सबै महाअष्टलाई बौद्धको प्रतिकको रुपमा मान्ने चलन समेत रहेको छ ।
मानिसको जिवनलाई सुख शान्ति तर्फ लैजान बुद्धोत्व प्राप्त जस्ता ८ वटा महत्वहरु रहेको र ८ वटा चैत्यहरुमा २ सय ८५ वटा सिँढीहरु रहेको नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ सेमजोङ धादिङका धनसुर वाइवाले जानकारी दिनुभयो ।



