Published On:Sunday, December 7, 2014
Posted by Tekman Shakya
संविधान सभा विघटन नगरे आन्दोलनः बैद्य माओवादी
२१ मंसिर, काठमाडौं । बैद्य नेतृत्वको नेकपा माओवादी नेतृत्वको संयुक्त जनसमितिले सर्वपक्षिय राष्ट्रिय राजनीतिक सभाको माग गर्दै सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री शुशिल कोइरालालाई आईतबार बुझाएको ज्ञापनपत्रमा कालापानी लगायतका सीमावर्ती क्षेत्रमा नेपालको भूमिमाथि गरिएको अतिक्रमण बन्द गर्न, जनयुद्धकालीन शहीद परिवार, वेपत्तापरिवार र घाइते÷अपाङ्गहरूको उचित राहत तथा संरक्षणको व्यवस्था गर्न पनि माग गरिएको छ ।
माओवादीसहित सम्पूर्ण जनवर्गीय संगठन तथा जातीय–क्षेत्रीय मोर्चाहरु सम्मिलित संयुक्त जनसमितिले दोस्रो संविधानसभा भंग गरेर राजनीतिक सभाको माग गरेको छ ।
संविधनसभाले उत्पीडित जातिहरूको पहिचान सहितको संविधान कुनै पनि हालतमा बन्न दिन नसक्ने जनसमितिको ठहर छ ।
यस्तै जनसमितिले जनयुद्धकालीन मुद्दा खारेज गर्न, दोस्रो संविधानसभा निर्वाचनको बहिस्कारको क्रममा पक्राउ परेकालाई रिहा गर्न, वेपत्ता पारिएका नागरिकहरूको खोजी गरी सार्वजनिकीकरण गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्बन्धी सम्झौता खारेज गर्न, सन् १९५० लगायतका नेपाल÷भारतबीचका असमान सन्धि सम्झौताहरू खारेज गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा भएका मागहरु पुरा नभए आफुहरु आन्दोलनमा जाने नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।



