Published On:Monday, December 8, 2014
Posted by Tekman Shakya
एक वर्ष नयाँ गीत बजारमा आएन भने फलानो कलाकार हराएछ भन्ने देखिन्छः नवीन पौडेल
ठट्यौली पाराको र फाष्ट ट्रयाकको गीत भएकाले नेपाली लोक संगीत क्षेत्रमा रोइला गीत निकै चर्चित छ । पाल्पाका नवीन पौडेल रोइला गीतमा चिनिएको नाम हो ।२०५३/५४ सालदेखि यस क्षेत्रमा सक्रिय उनले १७ वटा एल्बम बजारमा ल्याएका छन् भने करिब ५० वटा गीत रेकर्ड गरेका छन् । पछिल्लो पटक उनको शव्द, लय र स्वरमा रोइला गीतको कलेक्सन एल्बम ‘यस्तै हुन्छ भन्ने भा’ बजारमा आएको छ । रोइला गीत र उनको नयाँ एल्बमको विषयमा गरिएको कुराकानी :
कस्ता गीतलाई रोइला भनिन्छ ?
रोइला गीतलाई ख्याली भनेर पनि चिनिन्छ । गाउँघरमा पूजा तथा धार्मिक उत्सव, महोत्सवहरुमा गाइने गीत ख्याली हो । हामी भगवानको नाममा भजन गाउँछौं । भजन अलि स्लो हुन्छ, त्यही भजनका टुक्रा ल्याएर फाष्ट ट्रयाकमा गाइन्छ । त्यसमा नाच्न मिल्ने ताल हुन्छ । यस्ता गीत गाउँघरमा सानैदेखि गाउँदै आइएको हो । म यसको विज्ञ हैन । गीत संगीतको अध्ययन गर्नेहरुले यस्ता गीतलाई ख्याली भन्नुपर्छ भनेका छन् । गाउँघरतिर पूजा हुँदा धार्मिक उत्सव हुँदा बुुबा दाई अग्रजले गाउनुहुन्थ्यो । त्यसलाई अनुसरण गर्दै आएँ । मैले गाएको ‘पल्ला घरका जेठाजुले आइए विए पढ्छन्, हाम्रा घरका नामर्द त भर्याङ चढ्दा लड्छन् के सम्झनु छ र जान्न म त त्यो घर’ भन्ने गीत धेरैले मन पराउनुभयो । त्यसपछि यस्ता अरु धेरै गीतहरु बजारमा आए ।
रोइला गीत कत्तिको रुचाइएको छ ?
म भन्दा अघि पनि धेरै अग्रजहरुले रोइला गीतहरु गाउनुभयो, तर त्यतिबेला रोइला गीत पनि चल्छ र भन्ने थियो । अहिले बजारमा धेरै रोइला गीतहरु चल्न थालेका छन् । ठट्यौली खालका रोइला गीतको बाढी नै आएको छ । लोकदोहोरीमा एउटै धुनका गीतहरु भन्दा फाष्ट ट्र्याकका यस्ता गीत श्रोताले धेरै मन पराएका छन् । कार्यक्रमको सिलसिलामा देशका धेरै ठाउँमा जाँदा मेरो ख्याली गीत धेरै मन पराएको पाएँ । लोकदोहोरी बजारमा ख्यालीले अझै बढी मार्केट लिएको हो कि भन्ने लागेको छ । गाउँघरतिरको भजनको कलरमा भएर पनि बढी मन पराइएको हुनसक्छ ।
नयाँ एल्बमको प्रतिक्रिया कस्तो छ ?
मेरो हालसालै बजारमा आएको एल्बमको गीत ‘यस्तै हुन्छ भन्ने भा लाउने थिइन माया, बुढी कन्ने बन्ने भा’ भन्ने गीत धेरै चलेको छ । धेरै रेडियोहरुमा बजेको छ, धेरै मिडियाले मन पराएका छन् । रेडियोमा काम गर्ने साथीहरुले तपाइको गीत काउण्ट डाउनमा यति नम्बरमा पुग्यो भन्ने गर्नुहुन्छ । धेरै रेडियोले पनि फोन गरेर गीत माग्ने गरेका छन् । अहिले देशभरि चलेको छ ।
अनि आम्दानी कस्तो छ ?
आम्दानी छैन भन्दा हुन्छ । रेकर्ड गर्दा, भिडियो बनाउँदा, पब्लिसिटी गरेर धेरैले सुन्ने बनाउँदा एउटा गीतमा झण्डै तीन लाख रुपैयाँ खर्च हुन्छ तर तीन पैसा पनि कतैबाट आम्दानी हुँदैन । संगीतको बजार आर्थिक रुपमा जर्जर छ । संगीतले कहिँबाट आम्दानी दिएको छैन । लोकसंगीत बाँच्नुपर्छ भन्ने कलाकार भएका कारणले एल्बम निकाल्न जरुरी छ ।
एक वर्ष नयाँ गीत बजारमा आएन भने फलानो कलाकार हराएछ भन्ने देखिन्छ । जीवित छ भन्नका लागि पनि एल्बम निकाल्नैपर्छ । तर स्टेज पर्फर्मेन्सबाट भने केही कमाइ हुन्छ । क्यासेट एउटा पनि बिक्दैन, सिडी भिसिडीहरु पनि खासै बिक्री हुँदैनन् । पहिले सिआरबिटी पनि दिनमा हजारौं डाउनलोड हुन्थ्यो, अहिले नगन्य मात्र हुन्छ, बन्द जस्तै छ । सुन्ने दर्शक अत्याधिक बढेका छन् । तर बिक्री हुँदैनन्, कपिराइट अत्याधिक बढेको छ । यसलाई व्यवस्थित गर्न सरकारको कुनै नीति छैन ।
Chakrapath



