Published On:Tuesday, May 5, 2015
Posted by dadad

उद्धार तथा राहतका लागि स्काउट परिचालन

काठमाडौँ, २३ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घाइते तथा मृत्यु भएका भूकम्पपीडितको राहत तथा उद्धारको लागि नेपाल स्काउटले मुलुकभरि दुई हजार ६०० स्काउट स्वयम्सेवक परिचालन गरेको छ । 

नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालका अनुसार सबैभन्दा बढी काठमाडाँैमा एक हजार १३७ जना स्काउट परिचालन गरिएको छ । 

जसमध्ये काठमाडौँको वसन्तपुर क्षेत्र, साँखु र ककनी, खटाइएको छ । 

यसैगरी ललितपुरको सानागाउँ, लुभू, खोकना, बुङ्मती, ठेँचो, हरिसिद्धिलगायतका ठाउँमा ५३४ तथा भक्तपुरको थिमि र भक्तपुर नगरमा १५० स्काउट स्वयम्सेवक खटाएका छन् । 

यसका साथै भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, कास्की, गोरखा, सुनसरी, रामेछाप, दैलेख, मकवानपुर, रसुवा, धादिङ, मोरङ र पर्सामा स्काउट स्वयम्सेवक खटाइएको छ । 

धेरै स्काउटले व्यक्तिगत रुपमा आ–आफ्नो क्षेत्रबाट उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर काम गरिरहेको पनि प्रमुख आयुक्त दाहालले बताउनुभयो । 

नेपाल स्काउटका रोभर लिडर तथा स्काउट शिक्षक शिवराम अर्याल, रन्जनलाल श्रेष्ठ, दीपेश केसी, बलराम प्यासी धर्मभक्त मल्ल र प्रमोद सिग्देलको नेतृत्वमा काठमाडौँ तथा केशव महर्जन, सत्यनारायण शाही र नरेश महर्जनको नेतृत्वमा ललितपुरमा स्काउट परिचालन गरिएको छ । 

स्काउटले यतिखेर घाइतेलाई राहत, उद्धार तथा उपचारका साथै भत्किएका घरबाट खाद्यान्न तथा सम्पत्ति निकाल्न सहयोग गरिरहेका छन् भने राजधानीको वसन्तपुर र हनुमानढोका क्षेत्रबाट ऐतिहासिक सम्पदाको संरक्षण र सङ्कलन गरिरहेका छन् । 

नेपाल स्काउटमार्फत यतिखेर भारत स्काउट तथा गाइड्स एसोसिएसन, बङ्गलादेश स्काउट तथा भियतनाम स्काउटले मिलेर राजधानी तथा आसपासका जिल्लामा भूकम्पपीडितका लागि उद्धारका कार्य गरिरहेका छन् । रासस 

0 comments for "उद्धार तथा राहतका लागि स्काउट परिचालन"

Leave a reply

    Popular Posts

    Blog Archive