Published On:Tuesday, May 5, 2015
Posted by dadad

‘आपत्–विपत्को साथी’ बन्यो–रेडियो नेपाल

(प्रकाश सिलवाल)
काठमाडौँ, २३ वैशाख । भूकम्पका समयमा मानिस आफ्ना भागाभाग गरिरहँदा रेडियोकर्मी स्टुडियोभित्र छिर्दै थिए । 

कहाँ र कति क्षमताको भूकम्प गयो, क्षति के भयो,  घर/परिवारमा के भयो  जस्ता जिज्ञासा मेट्न  रेडियो नेपालले लगत्तै प्रत्यक्ष प्रसारण सुरू गरेर मानसिक राहत दियो । 

प्रशासनिक र समाचार सङ्कलन शाखा रहेको ठूलो भवनमा रहेका पत्रकार र प्राविधिक जापान सरकारको सहयोगमा विसं २०३८ मा निर्मित भूकम्प प्रतिरोधात्मक ‘मास्टर स्टुडियो’ रहेको एकतले भवन पुगी प्रत्यक्ष प्रसारणमा सामेल भएका थिए । समाचार वाचक हरिशरण लामिछानेले माइक समातेपछि सुरू गरिएको २४ घन्टे प्रत्यक्ष प्रसारण लगातार दश दिनसम्म रह्यो । 

यसबीचमा खगेन्द्र खत्री, कोमल वली, नवराज लम्साल, माधव घिमिरे, गोपाल बस्न्यात, जनार्दन विष्ट, प्रमोद दाहाल, चन्द्र बानियाँलगायत ‘स्रोताका साथी’ भएका थिए । प्रसारणमा सुनिने र नसुनिने जनशक्तिको तीन÷चार दिनसम्म त खाने वा सुत्ने समय र ठाउँको पनि ठेगान थिएन । 

आपत्–विपत्मा ‘रेडियो नेपाल’ले ‘जनताको साथी’ का रूपमा निर्वाह गरेको भूमिकाले यसको लोकप्रियता तथा प्रभावकारिता घटेको भन्नेलाई गतिलो जवाफ दिएको छ भने सरकारी सञ्चारमाध्यम र रेडियोको सान्दर्भिकतालाई पुनःपुष्टि गरेको छ ।  

त्यसो त रेडियोकर्मी र सञ्चारकर्मीका पनि घर चर्किएका थिए । उनीहरूका परिवार पनि त्रिपालमा बस्न विवश थिए । कतिपयका परिवार बिरामी भएका थिए तर उनीहरू आफ्नो प्रसारणको मूल दायित्वलाई  प्राथमिकता दिएर सुरक्षाकर्मीले झैं कार्यक्षेत्रमै निरन्तर खटिए । 

रेडियोविज्ञ रघु मैनाली भन्नुहुन्छ, “रेडियो नेपालले आफ्नो ऐतिहासिक र अभूतपूर्व कार्यभार पूरा गरेको छ, यसबाट उसले आफ्नो उपस्थिति र औचित्य पुष्टि गरेको छ, अब पुनःस्थापनाका क्रममा पनि उसले त्यो भूमिका निर्वाह गर्न सक्नुपर्छ ।” यही वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखा केन्द्रविन्दु भई ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प जाँदा प्रशासनिक भवनबाट केन्द्रीय प्रसारणको भवनतिर लाग्दा कतिपय पत्रकार–कर्मचारीलाई सामान्य चोट पनि लागेको थियो तर त्यसको पर्वाह नगरी तत्कालै सूचना प्रवाहमा उनीहरू जुटे । 

मैनालीले नेपाल वातावरण पत्रकार समूहले स्थानीय एफएमले विपत्तिपछिको अवस्थाको सूचना प्रवाहबारे सहजीकरण गरिरहेको जनाउनुभयो । हाल करिब पाँच सय रेडियो रहेकामा भूकम्पका कारण भौतिक क्षति व्यहोरेपछि दुई दर्जनले अस्थायी रूपमा प्रसारण बन्द गरेका थिए । 

अन्य सामुदायिक र व्यावसायिक एफएमले पनि सकेसम्म आफ्नो दायित्व निर्वाह गरेकोे भए पनि पहुँच, प्रभाव, स्रोतसाधन र सन्देशमूलक प्रस्तुतिका हिसाबले रेडियो नेपाल अब्बल देखियो । नागरिक घरमा बस्न नसक्ने तथा दुःखद् दृष्यका कारण थप पीडा हुन सक्ने स्थितिमा हातहातमा मोबाइलबाट र  त्रिपालमा बसेकाले पनि सहजै रेडियो सुन्न सक्थे । 

पुनः विनाशकारी भूकम्प वा प्रलयको हल्लाका बीच समय समयमा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी, भूगर्वविद्, सरकारी अधिकारी तथा स्रोतासँगको नियमित सम्पर्कका साथै राष्ट्रिय समाचार समिति (रासस) का समाचारलाई रेडियो नेपालले निरन्तर प्रसारण गरेको थियो ।

ज्यानै जोखिममा राखेर सूचना प्रवाहमा खट्ने आँट कसरी आयो भन्ने जिज्ञासामा रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री भन्नुहुन्छ, “प्राकृतिक विपत्तिका समयमा तत्कालै सूचना दिन रेडियोकर्मी जुट्नुपर्छ भन्नेबारेमा हामीले जापान सहयोग नियोग (जाइका) ले दिएको तालिमको स्मरण भयो, यस्तो बेलामा जनताको साथी भनेकै रेडियो हुन्छ भन्ने जिम्मेवारीबोध हामीमा थियो, त्यो भूमिका निर्वाह गरिएको हो ।” 

तीन दिनसम्म विद्युत् आपूर्ति नहुँदा लगातार जेनेरेटर सञ्चालन गरेर रेडियो नेपाल प्रसारित भयो । दुर्गम क्षेत्रका स्रोताले पनि प्रत्यक्ष प्रसारणमा फोन गरेर सूचना दिने र गुनासा राख्ने अवसर पाएका थिए । कतिपय पीडितका राहत नपाइएको गुनासो राहत दिने संस्थाका व्यक्तिका सम्पर्क नं उपलब्ध गराइएर सम्बोधन भएको थियो ।

निमित्त कार्यकारी निर्देशक रमेशजङ्ग कार्की भन्नुहुन्छ, “वातावरण त कोलाहलमय नै थियो तर हामी स्रोताको सेवा जुट्यौंँ, स्रोतालाई सान्त्वना दिने र सामान्यीकरण गर्ने काममा अझै लागिरहेका छौँ ।” नायब कार्यकारी निर्देशक धनेन्द्रविमल क्षेत्रीका अनुसार रेडियो नेपालले सोमबारदेखि २४ घन्टे प्रत्यक्ष प्रसारण हटाएर नियमित १८ घन्टे सेवा सुरु गरे पनि विज्ञापन र प्रायोजिक कार्यक्रम स्थगन नै छन् । अहिले पनि राहत उपलब्धता, मनोसामाजिक स्थिति र पुनःस्थापनासम्बन्धी सूचना, समाचार र विश्लेषण प्रसारण भइरहेको छ । 

विसं २००७  चैत २० गते स्थापित रेडियो नेपालको इतिहासमै दश दिनको प्रसारण पहिलो पटक हो । वरिष्ठ समाचारदाता प्रमोद दाहालका अनुसार यसअघि गत संविधानसभा निर्वाचनको मत परिणाममा लगातार छ दिन २४ घन्टा र त्यसअघि अन्तरिम संविधान, २०६३ का समयमा यस प्रकारको सामाजिक दायित्व निर्वाह गरेको थियो । 

हाल वार्षिक रु ४९ करोड बजेट रहेको रेडियो नेपालमा ४५१ स्थायी र १२० करार कर्मचारी छन् । यसले सरकारबाट पुँजीगत र विकास खर्चबापत् रु १९ करोड पाएको छ भने बाँकी आफ्नै आयबाट धान्नुपर्छ । यसबीचको उसको प्रभावकारिता देखेर राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि रु एक  करोड ५८ लाख कारोबारको सन्देशमूलक सामग्री प्रसारणको सम्झौता गरिसकेको छ । रासस

0 comments for "‘आपत्–विपत्को साथी’ बन्यो–रेडियो नेपाल"

Leave a reply

    Popular Posts

    Blog Archive