Published On:Tuesday, May 5, 2015
Posted by dadad
‘पुनःनिर्माणका लागि अधिकार सम्पन्न आयोग आवश्यक’
गोरखाबजार, २३ वैशाख । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा।बाबुराम भट्टराईले भूकम्पले क्षतिग्रस्त गाउँबस्तीको पुनःनिर्माण गर्न अधिकार सम्पन्न राष्ट्रिय पुनःनिर्माण आयोग आवश्यक भएको बताउनुभएको छ ।
उक्त आयोगमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञता रहेका विज्ञहरुसहितको टोलीलाई समावेश गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
भूकम्प प्रभावित गोरखाको निर्वाचन क्षेत्र नं. १ को १३ गाविस र क्षेत्र नं. २ को खोप्लाङ्ग र पालुङटार नगरपालिकाभित्रका विभिन्न गाउँको वस्तुस्थितिबारे जानकारी लिएपछि सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अल्पकालीन राहत कार्यक्रमअन्तर्गत हाललाई त्रिपाल वा जस्ताद्वारा अस्थायी घरटहरा बनाउनुपर्छ । दीर्घकालीन रुपमा स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी गाउँको पुनःसंरचना गर्नुपर्छ ।”
भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सरकारी तवरबाट राहतको घोषणा गर्नुपर्ने भन्दै उहाँले भूकम्पपीडितलाई घर निर्माण गर्न रु। १० लाखसम्म दिनुपर्ने बताउनुभयो । भूकम्प प्रतिरोधी घर निर्माण गर्नैपर्ने नीति ल्याउन सरकारलाई उहाँले सुझाव पनि दिनुभयो ।
भूकम्पले गोरखाका ५८ हजार १०० घर ध्वस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, कृषि कार्यालय, जिल्ला अस्पताल, मनास्लु संरक्षण क्षेत्र आयोजनाका विभिन्न ठाउँमा रहेका भवनलगायत भौतिक संरचना पनि नष्ट भएका छन् । रासस



