Published On:Sunday, May 3, 2015
Posted by dadad

एक–दुई दिनमा थप एक लाख पाल आउँदैछ

(विष्णु नेपाल\सिबी अधिकारी)
२१ वैशाख, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विनाशकारी भूकम्पबाट घरबारविहीन भएकाहरूका लागि राहत तथा पुनः स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रसका अभियन्तासँग आह्वान गरेको छ । 

राहत तथा पुनःस्थापना गर्न सोसाइटीले करिव रु तीन अर्ब ६९ करोड लाग्ने प्रारम्भिक अनुमानसमेत लगाएको छ । “हामीले अन्तर्राष्ट्रिय रेडक्रसको महासङ्घमार्फत सो सहयोगका लागि आह्वान गरेका छौँ”–सोसोइटीका अध्यक्ष सञ्जीव थापाले बताए ।

विनाशकारी भूकम्पबाट घरबारविहीन भएकाहरूका लागि वितरण गर्न एक लाख त्रिपाल, पाल÷टेन्ट मगाएको ती सामग्री एक–दुई दिनभित्र नेपाल आइपुग्ने र आउनसाथ जिल्ला शाखामार्फत वितरण हुने सोसाइटीले जनाएको छ ।

अध्यक्ष थापाले भूकम्पबाट बढी प्रभावित काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, रामेछाप, दोलखा, लम्जुङ र रसुवा गरी १२ वटा जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्य टोली थप परिचालन गरिएको जानकारी दिए ।

ती जिल्लामा खोज उद्धारका लागि पाँच हजारभन्दा बढी रेडक्रसका विभिन्न स्वयम्सेवक तथा कर्मचारी परिचालित छन् ।  खोज उद्धारका कामका साथमा प्राथमिक उपचार, राहत वितरण तथा अस्थायी बसोबासका लागि पाल वितरणको काम भइरहेको अध्यक्ष थापाले वताए ।

ती जिल्लामा खटिएका ६० वटाभन्दा बढी प्राथमिक उपचार टोलीबाट १० हजारभन्दा बढीलाई तत्काल प्राथमिक उपचार सेवा दिइसकेको छ । हालसम्म पाँच हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री सेट नौ हजार ७०० कम्बल वितरण सोसाइटीले गरिसकेको छ ।

अहिले सोसाइटीमार्फत विश्वका ५० भन्दा बढी देशका २५० ले रेडक्रसका अभियन्ताले भूकम्प प्रभावितलाई खोज, उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेका छन् । 

सोसाइटीले प्रभावित जिल्लामा सरसफाइ गतिविधि तीव्र पारेको जनाएको छ । स्वास्थ्य शिक्षासहित साबुनपानीले हात धुने, पानी शुद्धीकरण ट्याबलेट, जीवनजल वितरण र अस्थायी शौचालयको निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

शव व्यवस्थापनका लागि ५०० बाकस अस्पतालमा पठाएको, मनोसामाजिक सहयोग गतिविधि तथा जेलमा पारिवारिक सम्पर्क पुनः स्थापनाको सन्देश सङ्कलन गरिएको छ उनले जानकारी दिए । रासस  

0 comments for "एक–दुई दिनमा थप एक लाख पाल आउँदैछ"

Leave a reply

    Popular Posts

    Blog Archive