Published On:Monday, May 4, 2015
Posted by Tekman Shakya
करार शिक्षकको परीक्षा हुनै बाँकी, परीक्षाका नाउँमा ५७ हजारको बियर खाएको बिल !
जाजरकोट, २१ वैशाख । यहाँको एक विद्यालयमा करारमा शिक्षक नियुक्त भएपछि पैसा तिर्ने भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले होटलमा गएर रु ५७ हजारको बियर खाएको खुलासा भएको छ ।
जिल्लाको डाँडागाउँ गाविसमा रहेको नेरा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर बुढा, सदस्य ललित विष्ट, गोरख पुन, मनबहादुर विष्ट, ज्ञानेन्द्र पुन, मिश्री पुनलगायतले रु ५७ हजारको बियर खाएका हुन् ।
गत माघ १३ गते जिल्ला शिक्षा कार्यालयबाट नेरा विद्यालयको खाली भएको दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति लिई प्रावि तहमा करारमा शिक्षक नियुक्तिका लागि विज्ञापन गरिएको थियो ।
विज्ञापन गरेको चार महिना पुगिसक्दा पनि विद्यालयले करारमा शिक्षक नियुक्ति गर्न नसक्दा समस्या हुँदै आएको छ । विव्यसका पदाधिकारी र प्रअ पटकपटक सदरमुकाम आएर करारमा नियुक्ति हुने शिक्षकको परीक्षा गराउन आउँदा होटलमा बसेर बियर खाएको बिल मात्रै रु ५७ हजार पुगेको होटल लवकुशले बताएको छ ।
नयाँ करारमा नियुक्ति हुने शिक्षकले नै सबै समिति र अध्यक्षले खाएको होटल खर्च तिर्ने बताए पनि अहिलेसम्म शिक्षक नियुक्ति हुन नसक्दा आफूले पैसा नपाएको होटलका सञ्चालक लवकुश औली बताउनुभयो ।
शिक्षक बन्न १३ जनाले दरखास्त दिए पनि अहिलेसम्म परीक्षा नहुँदा सदरमुकाम आउजाउ गर्दा हजाराँै खर्च भएको आवेदक जनक पुनले बताउनुभयो ।
अहिले विव्यस सदस्यसमेत रहनुभएका मनबहादुर विष्टले शिक्षक नियुक्तिका लागि गरिएको विज्ञापन पनि रद्द गरी पाउँ भनी जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् । अहिलेको विव्यस असक्षम रहेको उहाँको भनाइ छ । रासस


